Thursday, May 22, 2014

पीआरवाला ज्ञवालीलाई गृहमा महत्वपूर्ण जिम्मेवारी

काठमाडौं, ७ जेठ– सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफ्नो सार्वजनिक प्रतिबद्धताविपरीत विदेशी मुलुकको स्थायी बसोबासको अनुमति (पीआर या ग्रीनकार्ड) लिएका कर्मचारीहरूमाथि पक्षपातपूर्ण व्यवहार गर्न थालेका छन् ।
पण्डितले अस्ट्रेलियाको पीआर लिएका कानुन मन्त्रालयका सहसचिव धनराज ज्ञवालीलाई गृह मन्त्रालयको कानुन महाशाखामा सरुवाको सहमति दिएर पक्षपातपूर्ण व्यवहार देखाएका हुन् । एमालेबाट मन्त्री भएका पण्डितले ज्ञवाली आफ्नो पार्टी समर्थक भएका नाताले नै उनलाई सरुवाको सहमति दिएको स्रोतले उल्लेख गरेको छ ।
पीआर र ग्रीनकार्ड लिएका कर्मचारीलाई कारबाही गर्ने सार्वजनिक अभिव्यक्ति दिंदै आएका पण्डितले सामान्य प्रशासन मन्त्रालयबाट दिएको सहमतिपछि ज्ञवालीको गृह मन्त्रालयमा सरुवा भइसकेको छ । पीआरवाला ज्ञवालीकी पत्नी र दुवै छोरा अस्ट्रेलियामा नै स्थायी रूपमा बसोबास गर्दै आएका छन् ।
ज्ञवाली कानुन समूहका कर्मचारी भए पनि ०५१ सालमा तत्कालीन गृह मन्त्री गौतमको निजी सचिव बसेका थिए । मन्त्री गौतमले आफ्नो स्वार्थअनुरूप काम गर्ने एमाले समर्थक ज्ञवालीलाई कानुन महाशाखा प्रमुखजस्तो महत्वपूर्ण जिम्मेवारी दिएका हुन् ।
सामान्य प्रशासनमन्त्री पण्डितले ग्रीनकार्ड र पीआर लिएकै कारण सहसचिव चण्डी दाहाल र हालै सहसचिवमा बढुवा भएका भरत सुवेदीलगायतलाई कुनै जिम्मेवारी नदिई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा थन्क्याएका छन् । पीआरवाला भएकै कारण सरकारले दाहाललाई सिफारिसमा परे पनि गत पुसमा सचिव बढुवा नगरी अतिरिक्तमा राखेको हो । सुवेदी र दाहाल एमाले समर्थक नभएकै कारण ग्रीनकार्ड र पीआरका नाममा अघोषित कारबाहीमा परेका हुन् ।

गृहमा उपसचिव प्रमुख रहने कानुन महाशाखा थियो । मन्त्रालयमा कानुन शाखाको दायित्व धेरै बढेकाले महाशाखा बनाइएको जानकारी गृहका प्रवक्ता सहसचिव शंकर कोइरालाले जानकारी दिए ।













No comments:

Post a Comment