Sunday, May 18, 2014

वन उपभोक्ता समूहका पाँच पदाधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं, ४ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीस्थित कालिका सामुदायिक वन उपभोक्ता समूह, रानीगन्जका अध्यक्ष मनकुमारी पूर्वछानेसहित पाँच जनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
पूर्वछानेसहित वन उपभोक्ता समूहका पूर्व तथा वर्तमान पदाधिकारीहरूले समूहको करिब १६ लाख ६२ हजार रुपैया“ हिनामिना गरी भ्रष्टाचार गरेकाले उनीहरूविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारले उल्लेख गरेको छ ।
मुद्दा दायर गरिएकामा पूर्वछानेसहित समूहका सल्लाहकार संयोजक अर्जुनकुमार खडका, समूहका तत्कालीन पदाधिकारीहरू अध्यक्ष विष्णुहरि अधिकारी, सचिव सन्तराम चौधरी, कोषाध्यक्ष शिवप्रसाद रिमाल छन् ।
सल्लाहकार संयोजक खडकाले आफ्नो नाममा रहेको सजिता सरस्वती बोर्डिङ स्कुल कालिका सामुदायिक वन उपभोक्ता समूहलाई बिक्री गर्न भनी रकम बुझिलिएको, समूहका अध्यक्षले बिलभन्दा बढी रकम भुक्तानी लिएको, अरू पदाधिकारीले समेत बिल भर्पाइबिना नै आपसी मिलोमतोमा रकम लिई बदनियतपूर्वक रकम हिनामिना गरी भ्रष्टाचारको कसुर गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।
अख्तियारले भ्रष्टाचार निवारण ऐनअनुसार अभियुक्त पाँचै जनाविरुद्ध हिनामिना गरेको १६ लाख ६२ हजार रुपैया“ बिगो भराउन, सोहीबराबरको रकम जरिवाना गर्न तथा हदैसम्मको कैद सजाय गर्न विशेष अदालतसमक्ष माग दाबी गरेको छ ।

No comments:

Post a Comment