Wednesday, May 7, 2014

लोडसेडिङ घटाउन उच्चस्तरीय कार्यदल गठन

काठमाडौं, २४ वैसाख– ऊर्जा मन्त्रालयले बढ्दो लोडसेडिङ घटाउनका लागि उच्चस्तरीय कार्यदल गठन गरेको छ । ऊर्जा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी विद्यूत् प्राधिकरणकी नवनियुक्त सञ्चालक समिति सदस्य इन्दिरा श्रेष्ठ (मास्के) को संयोजकत्वमा ११ सदस्यीय लोडसेडिङ न्यूनीकरण कार्यदल गठन गरेको हो ।
कार्यदललाई तीन साताभित्र मुलुकमा लोडसेडिङ घटाउन सरकारले चाल्नुपर्ने तत्कालीन तथा दीर्घकालीन उपायसहितको प्रतिवेदन दिनुपर्ने जिम्मेवारी दिइएको जानकारी ऊर्जा मन्त्रालयका निमित्त सचिव केशवध्वज अधिकारीले दिए । हाल मुलुकले दैनिक १२ घन्टाको लोडसेडिङको मार खेपिरहेको छ । आगामी हिउ“दमा लोडसेडिङ अझै बढ्ने प्रक्षेपण प्राधिकरणको छ ।
अधिकारीका अनुसार कार्यदलमा प्राधिकरणको उत्पादन निर्देशनालयका प्रमुख शेरसिंह भाट, ऊर्जा मन्त्रालयका प्राविधिक उपसचिवद्वय सञ्जीव बराल, जीवछ मण्डल, उद्योग वाणिज्य महासंघ, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसहित सम्बन्धित निकायका प्रतिनिधिहरूलाई सदस्य राखिएको छ ।
कार्यदललाई प्राधिकरणका पुराना विद्युत् गृहहरूको मर्मत गरी पूर्ण क्षमतामा चलाई उत्पादन वृद्धि गर्न, निर्माणाधीन जलविद्युत् आयोजनाहरूलाई छिटो सम्पन्न गर्न तथा वैकल्पिक ऊर्जाको विकासलगायतबाट मुलुकमा लोडसेडिङ घटाउन अघि बढाउनुपर्ने अल्पकालीन तथा दीर्घकालीन योजनासहित सुझाव प्रतिवेदन दिनुपर्ने कार्यक्षेत्र तोकिएको छ । लोडसेडिङ घटाउन कार्यदलको सुझावलाई मन्त्रालयले तत्काल कार्यान्वयन गर्ने जानकारीसमेत ऊर्जा मन्त्रालयका अधिकारीले दिए ।

No comments:

Post a Comment