Sunday, April 1, 2012

म्यानपावरको ठगी रोक्न वैसाखदेखि नयाँ व्यवस्था लागू हुने

काठमाडौं, १९ चैत- श्रम मन्त्रालयले वैदेशिक रोजगारीमा जाने क्रममा म्यानपावर एजेन्सीले नेपाली कामदारलाई झुक्याएर गर्ने ठगीलाई नियन्त्रण गर्न वैसाखदेखि नयाँ व्यवस्था लागू गर्ने भएको छ । वैदेशिक रोजगार विभागले म्यानपावर एजेन्सीको ठगी नियन्त्रण गर्न नयाँ वर्षदेखि संस्थागत र व्यक्तिगत स्वीकृतिमा विदेश जाने कामदारको पासपोर्टमा आधारभूत सबै विवरण उल्लेख भएको छुट्टाछुट्टै रङको स्टिकर टाँस्ने व्यवस्था लागू गर्ने भएको छ ।
विदेशमा अलपत्र परेपछि या एउटा काम गर्ने भनेर गएकामा अर्को काम गर्न बाध्य भएपछिमात्र सोझा नेपाली कामदारले आफू ठगिएको या झुक्याएर व्यक्तिगत स्वीकृतिमा आफूलाई पठाइएको थाहा पाउनुपर्ने प्रवृत्तिको अन्त्य गर्न श्रम मन्त्रालयले कामदारको पासपोर्टमा छुट्टाछुट्टै रङको स्टिकर टाँस्ने व्यवस्था लागू गर्न लागेको हो ।
नयाँ व्यवस्था लागू भएपछि स्टिकरको रङबाटै व्यक्तिगत र संस्थागत कुन स्वीकृत हो भन्ने सजिलै थाहा हुने भएकाले म्यानपावर एजेन्सीले कामदारलाई झुक्याएर व्यक्तिगत स्वीकृतिमा विदेश पठाउने व्यवस्थाको अन्त्य हुने विश्वास वैदेशिक रोजगार विभागका अधिकारीले व्यक्त गरे । आफूले पठाएका कामदार अलपत्र परेमा कुनै दायित्व बेहोर्नुनपरोस् भनेर म्यानपावर एजेन्सीहरुले कामदारलाई झुक्याएर व्यक्तिगत स्वीकृतिमा विदेश पठाउने प्रवृत्ति बढ्दै गएको छ । विभागमा हुने भ्रष्टाचारले समेत त्यसलाई मलजल गर्दै आएको थियो ।
म्यानपावर एजेन्सीले वैदेशिक रोजगारीमा जाने गरीब नेपालीलाई संस्थागत रुपमा पठाए पनि व्यक्तिगत स्वीकृतिका नाममा झुक्याएर ठग्ने प्रवृत्तिलाई रोक्न वैदेशिक रोजगार विभागको प्रस्तावमा श्रम मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गरी संस्थागत र व्यक्तिगत स्वीकृतिमा विदेश जाने व्यक्तिको पासपोर्टमा छुट्टाछुट्टै रङको स्टिकर टाँस्ने व्यवस्था लागू गर्ने निर्णय गरेको जानकारी एक अधिकारीले दिए ।
निर्णयअनुसार वैदेशिक रोजगार विभागले व्यक्तिगत स्वीकृतिमा विदेश जाने कामदारको पासपोर्टमा हरियो र हल्का पहेंलो रङको र म्यान पावर एजेन्सीमार्फत् संस्थागत रुपमा जाने कामदारको पासपोर्टमा रातो र र हल्का नीला रङको पुष्ठभूमि भएको स्टिकर टाँस्नेछ । स्टिकरमा सेक्युरिटी कोडसमेत राखिनेछ ।
स्टिकरमा सिरियल नं, पासपोर्ट नं, रोजगारदाता कम्पनी, देश भ्यालिडिटी डेट कहिलेदेखि कहिलेसम्म, गर्नुपर्ने काम प्रोफेसन, सम्बन्धित मुलुकमा रहेको नेपाली दुतावासले गरेको प्रमाणीकरण, पठाउने म्यानपावर एजेन्सीको नामसमेत उल्लेख गरिनेछ । व्यक्तिगत स्वीकृतिको स्टिकरमा पठाउने म्यानपावर एजेन्सीको नामबाहेक अरु सबै विवरण उल्लेख हुनेछ ।
वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईका अनुसार छुट्टाछुट्टै रङको स्टिकर टाँसिएपछि कुन कामदार व्यक्तिगत र कुन संंस्थागत स्वीकृतिमा वैदेशिक रोजगारमा जान लागेको हो भन्ने कुरा टाढैबाट स्पष्ट रुपमा पहिचान हुनेछ ।
भट्टराईले कामदारले स्टिकरबाटै आफू संस्थागत या व्यक्तिगत स्वीकृतिमा वैदेशिक रोजगारमा जान लागेको हो भन्ने थाहा पाउने भएकाले छुट्टाछुट्टै स्टिकरको व्यवस्था लागू भएपछि म्यानपावर एजेन्सीले कामदारलाई झुक्याएर व्यक्तिगत स्वीकृतिमा विदेश पठाउने र कामदार अलपत्र परेपछि आइपर्ने दायित्व नबेहोर्ने प्रवृत्तिको अन्त्य हुने विश्वास व्यक्त गरे । नयाँ स्टिकर व्यवस्थाले राम्रो काम प्रोफेसन भनेर नराम्रो र खतरनाक काममा पठाउने र गैरकानुनी काम गर्ने म्यानपावर एजेन्सीमाथि नियन्त्रण गर्नसमेत सजिलो हुने जानकारी उनले दिए ।
'हालसम्म कामदारले अलपत्र परेपछिमात्र मलाई म्यानपावर एजेन्सीले झुक्याएर व्यक्तिगत स्वीकृतिमा पठाएको रहेछ एउटा काम भनेर झुक्याएर अर्कै काममा पठाएछ भन्ने थाहा पाउने अवस्था छ' भट्टराईले भने- 'नयाँ स्टिकरको व्यवस्था लागू भएपछि कामदार आफैंले स्टिकरको कलरबाटै सबै कुरा थाहा पाउने भएकाले अब म्यानपावर एजेन्सीले झुक्याएर व्यक्तिगत स्वीकृतिमा विदेश पठाउने र एउटा प्रोफेसन भनेर अर्कोमा पठाउने प्रवृत्तिको अन्त्य हुनेछ ।' विभागले छुट्टाछुट्टै स्टिकरको व्यवस्था लागू गर्न चार महिनाअघि नै लागू गर्न श्रम मन्त्रालयमा प्रस्ताव गरेको थियो । तर तत्कालीन श्रममन्त्री सरिता गिरीले चार महिनासम्म फाइल लुकाएर राखिदिएपछि निर्णय हुन सकेको थिएन । प्रधानमन्त्रीले गिरीलाई बर्खास्त गरी राष्ट्रिय जनमुक्ति पार्टीका नेता मालबरिसंह थापालाई नयाँ श्रममन्त्री नियुक्त गर्नासाथ छुट्टाछुट्टै स्टिकर लागू गर्ने निर्णय भएको र चैत महिनाभरमा नै सरकारी सेक्युरिटी प्रेसबाट स्टिकर छापेर वैसाख १ देखि नै लागू गर्ने तयारी गरिएको जानकारी विभागका अधिकारीले दिए ।












No comments:

Post a Comment