Monday, April 23, 2012

नियमन गर्नुपर्ने सामान्य प्रशासन नै अस्थिरताको चपेटामा

नौ महिनामा तीन सचिव र सात सहसचिव फेरिए
काठमाडौं, ११ वैसाख- सम्पूर्ण निजामती कर्मचारीहरुको सरुवा-बढुवाको नियमन गर्ने सामान्य प्रशासन मन्त्रालय प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकार बनेपछि सबभन्दा अस्थिर हुन पुगेको छ । सामान्य प्रशासनमन्त्री रामकुमार यादवको कर्मचारीहरुमाथि नाजायज हस्तक्षेप र निजामती कर्मचारी युनियनहरुको दादागिरीका कारण मन्त्रालयको प्रशासन संंयन्त्र अस्थिर हुन पुगेको जानकारी स्रोतले दिए ।
यादवको हस्तक्षेप र युनियनहरुको दादागिरीका कारण भट्टराई सरकार बनेको नौ महिनामा सामान्य प्रशासनमा तीन सचिव र सात जना सहसचिव परिवर्तन भइसकेका छन् । सामान्यमा सचिव र सहसचिवभन्दा तल्ला अधिकारीको झन् बढी सरुवा भइरहेको छ । सामान्य प्रशासन यति अस्थिर कहिल्यै नभएको सरकारी अधिकारी नै बताउँछन् । 'यो प्रशासन संयन्त्र राजनीतिक हस्तक्षेपको चरम नमुना हो' ती अधिकारीले भने ।
अस्थिरताले सामान्य प्रशासन मन्त्रालयको कामकारबाहीमा नकारात्मक प्रभाव परेको र सचिव सहसचिव र तल्ला अधिकारी बारम्बार सरुवा भई अस्थिरता बढेको फाइदा लिई मन्त्री र युनियनहरुले नयाँ सचिव र सहसचिवलाई दबाबमा पारी मापदण्डविपरीत आफूअनुकूल कर्मचारीहरुको सरुवा गराउने प्रवृत्ति बढेको जानकारी एक सरकारी अधिकारीले दिए ।
'छिटोछिटो सचिव र सहसचिव परिवर्तन भइरहँदा मन्त्रालयको कामकारबाही बुझ्नै पाएका हुँदैनन् त्यही कारण मन्त्री नेता र युनियनले जुन सूची दियो उनीहरुले त्यहीअनुसार सरुवा गर्नुपर्ने बाध्यता हुन्छ' ती अधिकारीले भने- 'मन्त्रालयमा लामो समय काम गरेको अनुभवी कर्मचारी नहुँदा अरु मन्त्रालयको सरुवाको नियमन कार्यसमेत कमजोर हुन पुगेको छ ।' नौ महिनामा सामान्य प्रशासनमा प्रतापकुमार पाठक र तिलकराम शर्माको सरुवा भएर हाल धरणीधर खतिवडा तेस्रो सचिव छन् । यादवले पाठकलाई आफू मन्त्री भएको चार महिनामा र शर्मालाई त्यसको एक महिनामै सरुवा गरिदिएका हुन् । यो अवधिमा सामान्यबाट सहसचिवहरु दुर्गाििनधि शर्मा, विनोद केसी, केवल भण्डारी, केदार न्यौपाने, कृष्ण राउत, हरिकुमार श्रेष्ठको अन्य मन्त्रालयमा सरुवा भइसकेको छ ।
मन्त्री यादवले आफ्नो पालामा कर्मचारीको ठूलो संख्यामा मापदण्डविपरीत सरुवा भएपछि आफू विवादमा नपर्न त्यसको दोष सचिव र सहसचिवहरुलाई लगाई सरुवा गराएका हुन् । सहसचिवहरु केवल भण्डारी पाँच महिनामा, राउत डेढ महिनामा, श्रेष्ठ महिना दिनमा र न्यौपाने तीन दिनमै अन्यत्र सारिदिएका थिए । सहसचिवद्वय शर्मा र केसीमात्र आफू खुसी सरुवा भएका हुन् । शर्मा सुदूर पश्चिममा कामु क्षेत्रीय प्रशासक छन् भने केसी श्रम मन्त्रालयमा छन् ।
यसै साता अर्थमन्त्रालयबाट सहसचिव बेगेन्द्र पौड्याल र हालै बढुवा भएका सहसचिव किशोरजंग कार्कीलाई सामान्य प्रशासनमा ल्याइएको छ । पौड्याललाई मन्त्रालयको प्रशासन सुधार महाशाखा र कार्कीलाई मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।

No comments:

Post a Comment