Monday, April 23, 2012

निष्क्रिय र छिन्नभिन्न भयो नागरिक समाज

भारतमा सामाजिक कार्यकर्ता अन्ना हजार नागरिक आन्दोलनको प्रतीक बनेका छन् । उनी आफ्नो मुलुकमा भ्रष्टाचारी र कालो धन राख्नेलाई कारबाही गराएर सुशासन कायम गराउन कडा लोकपाल कानुन निर्माणका लागि दबाब दिन उत्रँदा देशभरको नागरिक समाजले साथ िदंदै आएको छ । भारतमा नागरिक समाज यति सशक्त भइसकेको छ कि हजारे अनसनमा बस्दा हजारौंहजारले साथ दिने गरेका छन् । एक्लो हजारेको आन्दोलनले सबभन्दा ठूलो लोकतान्त्रिक मुलुकको सरकारको जग नै हल्लिने गरेको छ । हजारेको पछिल्लो अभियानका क्रममा भारतका पाँचवटा प्रान्तमा चुनाव भयो । हजारेले भारतीय सरकार भ्रष्टाचार नियन्त्रण गर्ने कडा कानुन बनाउन इमानदार छैन भनेर उत्रेकै कारण प्रमुख सत्तारुढ घटकले दूइटाबाहेक तीन प्रान्तमा नराम्रो हार बेहोर्नुपर् यो जबकि चुनावमा हजारे र त्यहाँको नागरिक समाज निरपेक्ष बसेको थियो कुनै दलविशेषको पक्ष÷विपक्षमा लागेको थिएन । छिमेकी मुलुकमा नागरिक समाज त्यति बलियो भइरहेको बेला हाम्रो नागरिक समाज यति कमजोर र विखण्डित भइसकेको छ कि यसको अस्तित्व नै छ कि छैन भन्नुपर्ने दिन आएको छ । ०४६ र ०६२/६३ को जनआन्दोलनमा नागरिक समाजको भूमिका प्रशंसनीयमात्र थिएन कि सधैं गर्व गरिरहन लायकको गौरवपूर्ण छ । त्यतिबेला नागरिक समाजको भूमिका नहुँदो हो त आन्दोलन सफल हुने कल्पनासम्म गर्न सकिन्नथ्यो । तर त्यही नागरिक समाज आज छिन्नभिन्न छ । नेपालमा नागरिक समाजको भूमिका स्थायी छैन अस्थायी प्रकृतिको छ । मुलुकलाई आवश्यक परेका बेला नागरिक समाजका अगुवाहरु स्वार्थबाट माथि उठी एकजुट भएर एउटै उद्धेश्यका लागि ऐतिहासिक अभियानमा उत्रने र अरु बेला सुस्ताउने गरेको पाइन्छ ।
०४६ सालको जनआन्दोलन सफल हुनुमा त्यति बेलाका अगुवा नागरिकहरुको ठूलो भूमिका थियो । तर त्यतिबेला नागरिक समाज भनेर नामाकरण भइसकेको थिएन । कांग्रेस र तत्कालीन बाममोर्चाको आह्वानमा फागुन ७ बाट सुरु भएको आन्दोलन चैत महिनाको पहिलो र दोस्रो सातासम्म पुग्दा शिथिल भइसकेको थियो पार्टीका नेता तथा कार्यकर्ता जेल परिसकेका थिए जनता सडकमा उत्रिइसकेका थिएनन् । त्यही बेला कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय परिसरमा नरहरि आचार्य, मंगलसिद्धि मानन्धर, देवेन्द्रराज पाण्डेलगायतको पहलमा प्राध्यापक वकिल र इन्जिनियरहरुले आन्दोलनको पक्षमा माहोल बनाउन ठूलो भेला गरे त्यहाँ प्रहरीले धरपकड गर् यो । शान्तिपूर्ण आन्दोलनमा उत्रेका पार्टी नेता कार्यकर्ता विभिन्न पेसाकर्मीमाथि धरपकड गरिएको र यातना दिइएको विरोधमा ठूलो संख्यामा लेखक र कलाकारहरु त्रिचन्द्र कलेजमा भेला भई मुखमा कालोपट्टि लगाएर बसे । कालोपट्टि बाँधेर धर्ना दिने लेखक-कलाकारहरुमा पारिजात, वासु शशि, तुलसी भट्टराई, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, युद्धप्रसाद मिश्रसहित सयौं थिए । यी दुई घटनापछि मुलुकमा आन्दोलनको माहोल बन्यो । सर्वसाधारणसहित सबै पेसातप्काका लाखौंको संख्यामा जनता सडकमा उत्रिए । जतिसुकै दमन गर्दा पनि लाखौंलाख जनता सडकमा उत्रिएपछि राजधानी नै ठप्प भयो । तत्कालीन राजा वीरेन्द्र २०४६ चैत २६ मा जनताका अगाडि झुकेर बहुदल घोषणा गर्न बाध्य भए । मुलुकमा आन्दोलन सफल भई प्रजातन्त्र बहाली भयो । जनआन्दोलन-०४६ को सफलतापछि नागरिक समाज विभिन्न राजनीतिक दलका नाममा विभक्त भए र नागरिक समाज शिथिल हुन पुग्यो । त्यसपछि लामो समयसम्म नागरिक समाजका नाममा खासै गतिविधि भएन ।
जब ०५९ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले निर्वाचित सरकार भंग गरी शासन सत्ता आफ्नो हातमा लिए त्यसपछि मुलुकमा नागरिक समाज पुनः सल्बलायो । यसपटक नागरिक अगुवाहरुले नागरिक समाज नै भनेर अभियान सुरु गरे । माओवादी सशस्त्र द्वन्द्वमा थियो संसदवादी दलहरु सत्ताच्युत भएर सडकमा थिए । राजाको निरंकुश शासनविरुद्ध कांग्रेस एमालेसहितका संसदवादी दलहरु सडक आन्दोलनमा थिए । तर सत्तामा रहँदा नेताहरु अलोकपि्रय भएका कारण संसदवादी दलको आन्दोलनलाई सुरुमा जनताले साथ दिइरहेका थिएनन् । त्यस्तो अवस्थामा नागरिक समाजका अगुवाइ अपरिहार्य नै बनेको थियो । दलहरुले नै नागरिक समाजका अगुवाहरुलाई देशभर आन्दोलनको माहोल बनाउने अभियान सुरु गर्न प्रेरित गरेका थिए । दलको कार्यक्रममा जनता आउँदैनथे तर नागरिक समाजका अगुवाहरु उपस्थित कार्यक्रममा आमजनता ठूलो संख्यामा आउँथे । वामपन्थी हुन् या लोकतन्त्रवादी या माओवादीसँग निकट मानिने नागरिक समाजका सबै अगुवा राजाको निरंकुशताको विपक्षमा थिए त्यही कारण उनीहरु एक ठाउँमा उभिए र देशभर लोकतन्त्रको पक्षमा अभियानै चलाए । आमजनतालाई लोकतान्त्रिक आन्दोलनको पक्षमा तताउन कलाकार र संस्कृतिकर्मीहरुले समेत नागरिक समाजका अगुवासँगै अभियानमा सरिक भए । ०५९ देखि २०६२/६३ को आन्दोलनसम्म नागरिक समाजका तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह गर्नेमा दमननाथ ढुंगाना, कृष्ण खनाल, देवेन्द्र पाण्डे, कृष्ण पहाडी, खगेन्द्र संग्रौला, श्याम श्रेष्ठ, शम्भु थापा, विष्णु निष्ठुरी सुशील प्याकुरेल, कविहरु अर्जुन पराजुली, श्रवण मुकारुङ, गायक नन्दकृष्ण जोशी, रामेश, रायन, जेबी टुहुरे, जीवन शर्मा र रुविन गन्धर्वलगायत थिए । नागरिक आन्दोलनको पृष्ठभूमिमा पेसागत संगठनहरुको साजाल पापड को योगदानसमेत आफैमां प्रशंसनीय थियो ।
आन्दोलनरत कांग्रेस एमालेसहितका संसदवादी दलहरुलाई संविधानसभा र गणतन्त्रको एजेन्डामा लैजानसमेत नागरिक समाजका अगुवाहरुको दबाबको ठूलो भूमिका छ । फलस्वरुप संसदवादी दल र सशस्त्र आन्दोलनमा रहेको माओवादीलाई एक ठाउँमा आए । दुई पक्षबीच नयाँ दिल्लीमा बाह्रबुँदे समझदारी भयो । संसदवादी दल र माओवादी राजतन्त्रको अन्त्य तथा संविधानसभा र गणतन्त्र स्थापनाका लागि सहमत भए त्यसपछि आमजनतामा मुलुकमा लोकतन्त्र र शान्ति बहाली हुने विश्वास जाग्यो र फलस्वरुप आन्दोलनको वातावरण बन्यो । संसदवादी दलहरुको आग्रहमा माओवादीले एकतर्फी युद्धविराम गर् यो । सात दलले आमहडतालको आह्वान गरे । आमहडताललाई माओवादीको समेत समर्थन छ यसको सफलतापछि माओवादी सशस्त्र द्वन्द्व छाडेर लोकतान्त्रिक मूलधारमा आउँछ भन्ने विश्वास जनतामा जाग्यो । सरकारले लगाएको कफ्र्यु तोड्दै १९ दिनसम्म देशभर लाखौंलाख जनता स्वस्फूर्त रुपमा सडकमा उत्रिए । तत्कालीन राजा ज्ञानेन्द्र १९ दिनमै जनताका सामु घुडा टेकेर प्रतिनिधिसभा पुनर्बहाली गर्न बाध्य भए । त्यसपछि माओवादी सशस्त्र द्वन्द्व छाडेर अन्तरिम संसद हुँदै लोकतान्त्रिक मूलधारमा आयो । जनआन्दोलन-२०६२/६३ को ऐतिहासिक उपलब्धिस्वरुप मुलुकमा २०६४ चैत २८ मा संविधानसभाको चुनाव भयो । नेपाली जनताले पहिलोपटक आफ्ना जनप्रतिनिधिमार्फत् संविधान निर्माण गर्ने ऐतिहासिक मौका पाए । संविधानसभाबाट २०६५ जेठ १५ मा शान्तिपूर्ण रुपमा मुलुकमा गणतन्त्र स्थापना भएको घोषणा भयो । २०६२/६३ को आन्दोलनको वातावरण तयार गर्न र त्यसलाई सफल बनाउन नागरिक समाजको ऐतिहासिक योगदान छ त्यसको जति प्रशंसा गरे पनि कम हुन्छ ।
तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको पालामा माओवादीले सहरी विद्रोहमार्फत् सत्ता कब्जा गर्न राजधानी केन्द्रित आन्दोलन गर् यो । नागरिक समाजका अगुवाहरु र उद्योग वाणिज्य महासंघका प्रतिनिधिको आह्वानमा हजारौं जनता माओवादीलाई सहरी विद्रोह फिर्ता लिनका लागि दबाब दिन प्रदर्शनमा उत्रिए । त्यसपछि माओवादी आफ्नो सहरी विद्रोहको कार्यक्रम फिर्ता लिन बाध्य भयो । त्यति ठूलो योगदान गरेको नागरिक समाज माओवादीको सहरी विद्रोह फिर्ता भएपछि आफैं शिथिल र छिन्नभिन्न हुँदै गएको छ । मुलुकमा शान्ति प्रकि्रया र संविधान निर्माणमा ढिलाइ भइरहँदा नागरिक समाजले कुनै भूमिका निर्वाह गर्न सकेन शासकीय स्वरुप र संघीयताका सवालमा दलहरुलाई एक ठाउँमा ल्याउनसमेत नागरिक समाजका तर्फ कुनै पहलकदमी भइरहेको छैन । जनआन्दोलन-२०६२/६३ पछि साँच्चै भन्ने हो भने नागरिक समाजको कुनै उल्लेखनीय भूमिका देखिएको छैन ।
नागरिक समाजका अगुवा एवं लेखक खगेन्द्र संग्रौला राजाको निरंकुश शासनविरुद्ध एक ठाउँमा उभिएका वामपन्थी संसदवादी लोकतन्त्रवादी निकट बुद्धिजीवी र विभिन्न पेशाकर्मी लेखक कलाकारहरु मुलुकमा लोकतन्त्र बहालीपछि राजनीतिक रुपमा विभक्त भएका कारण नागरिक समाज कमजोर भई कुनै भूमिका खेल्न नसकेको बताउँछन् । उनका अनुसार माओवादी मूलधारमा आएपछि नागरिक समाज विभक्त हुन थालेको हो नागरिक समाज विभाजित हुने क्रम बढ्दो छ । 'बामपन्थी, संसदवादी, माओवादी निकट सबै राजाको निरंकुश शासनबाट पीडित थिए । राजतन्त्रको अन्त्य र लोकतन्त्र चाहने उनीहरु सबैले एक ठाउँमा उभिएर अभियान चलाएकाले नागरिक समाजको भूमिका सशक्त हुन पुगेको थियो' संग्रौलाले भने- 'तर अहिले नागरिक समाजका अगुवामध्ये कोही माओवादी कोही कांग्रेस कोही एमाले कोही मधेसवादी भनेर भनेर विभक्त भएका छन् । अहिले नागरिक समाज भन्ने नै बाँकी रहेको छैन ।' उनका अनुसार पार्टीहरुले पनि नागरिक समाजको उपेक्षा गर्न थालेका छन् । सत्तामा भएका दलहरुले नै आफ्नो स्वार्थअनुकूल कामकारबाही र अभिव्यक्ति दिनेलाई आफ्नो ठान्ने र विरोधमा बोल्नेलाई उपेक्षा गर्ने प्रवृत्तिले समेत नागरिक आन्दोलन कमजोर भएको हो ।
लामो लोकतान्त्रिक अभ्यास भएका मुलुकहरुमा नागरिक समाजको भूमिका सशक्त छ । भारतमा समेत नागरिक आन्दोलन सशक्त छ । भारतमा जस्तो नेपालमा पनि नागरिक आन्दोलन सशक्त हुन सक्तैन त भन्ने जिज्ञासामा संग्रौला भन्छन्- 'नेपाली समाज अहिलेजति विभाजित कहिल्यै थिएन नागरिकहरु पार्टी पार्टी क्षेत्र जातजातमा विभाजित छन् नागरिक समाज तत्काल एकताबद्ध हुन सक्ने अवस्था छैन । अहिले त माओवादी नागरिक समाज, कांग्रेस नागरिक समाज, जनजाति नागरिक, मधेसी नागरिक समाज अनेक नाममा समाज विभाजित छ ।' नागरिक समाजका अगुवाहरुले दलगत स्वार्थ र आफ्ना क्षेत्रीय जातीय स्वार्थबाट माथि उठेर व्यापक राष्ट्रिय चिन्तन दृष्टिकोणका साथ मुलुक र संघीय लोकतन्त्रको बृहत्तर हितका लागिमात्र एकजुट हुन सकेमात्र नागरिक आन्दोलनलाई फेरि सशक्त बनाउन सकिने विश्वास संग्रौलाको छ ।




No comments:

Post a Comment