Friday, April 13, 2012

अनधिकृतरुपमा विदेश गएकामा कृषि सचिवमाथि छानबिन

काठमाडौं, १ वैसाख- राष्ट्रिय सतर्कता केन्द्रले कृषि सचिव नाथुप्रसाद चौधरी मन्त्रिपरिषदबाट स्वीकृति नलिईकन अनधिकृतरुपमा सरकारी टोलीको नेतृत्व गर्दै विदेशमा कार्यशालामा सहभागी हुन गएकामा छानबिन थालेको छ । चौधरी मन्त्रिपरिषदको स्वीकृतिबिना नै विदेश भ्रमणमा गएको उजुरी परेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको निर्देशनमा केन्द्रले टोली नै बनाएर उनीमाथि छानबिन थालेको हो ।
चौधरी २०६७ सालमा कृषि मन्त्रालयका तत्कालीन सहसचिव लक्ष्मण पोखरेलसहितको टोलीको नेतृत्व गर्दै अस्ट्रेलियामा बर्डफ्लु नियन्त्रणसम्बन्धी कार्यशालामा सहभागी भएका थिए । सचिव सरकारी प्रतिनिधिका रुपमा विदेश भ्रमणमा जाँदा मन्त्रिपरिषदबाट पूर्व स्वीकृति लिनुपर्छ । तर केन्द्रको टोलीले मन्त्रिपरिषदका निर्णय केलाउँदा चौधरीले अस्ट्रेलियामा जाँदा स्वीकृति लिएको नपाइएको जानकारी प्रधानमन्त्री कार्यालयका एक अधिकारीले दिए ।
'केन्द्रले रेकर्ड हेर्दा मन्त्रिपरिषदबाट चौधरीलाई अस्ट्रेलिया जान स्वीकृति दिने निर्णय भएको पाइएन' ती अधिकारीले भने । स्रोतका अनुसार केन्द्रले मन्त्रिपरिषदबाट स्वीकृति लिएको नदेखिएकाले सचिव चौधरीलाई नै सरकारबाट भ्रमणमा जान सहमति लिएको लिखित प्रमाण पेस गर्न आग्रह गरेको छ ।
चौधरीले प्रमाण देखाउन नसकेमा छानबिन टोलीले मन्त्रिपरिषदको स्वीकृतिबिना अनधिकृत रुपमा विदेश गएको ठहरसहित उनीमाथि नसहितसहितको विभागीय कारबाही गर्न र भ्रमणमा जाँदा खर्च भएको रकम बेरुजु हुने भएकाले उनीबाटै असुल उपर गर्न सिफारिस गर्ने जानकारी केन्द्रका अधिकारीले दिए । केन्द्रको सिफारिसमा सचिवमाथि कारबाहीको निर्णय भने मन्त्रिपरिषदले गर्छ ।

No comments:

Post a Comment