Thursday, April 26, 2012

कीर्तिपुरको रमणीय डाँडामा ९४ मिटर अग्लो गणतन्त्र स्तम्भ

काठमाडौं, १४ वैसाख- राजधानीको बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको परिक्षा नियन्त्रण कार्यालय भवनमाथि रमणीय चाक्लो डाँडो छ जहाँबाट काठमाडौं उपत्यकाको सबै ठाउँ देख्न सकिन्छ । राजधानीका प्रायः अरु सबै ठाउँभन्दा आफैंमा २७ मिटर अग्लो कीर्तिपुरको पूर्वपट्टिको डाँडामामा सरकारले मुलुकमा गणतन्त्र बहाली भएको ऐतिहासिक उपलब्धिलाई चिर स्थायी बनाउन रहेको ६० रोपनी जग्गामा ९४ मिटर अग्लो गणतन्त्र स्तम्भ निर्माणको थालनी गरेको छ ।
स्तम्भ मुलुककै सबभन्दा आकर्षक कलात्मक गन्तव्य हुने विश्वास सहरी विकास तथा भवन विभागका अधिकारीहरुको छ । ु१ अर्ब २१ करोड रुपैयाँमा बन्ने स्तम्भ भूकम्प प्रतिरोधकमात्रै होइन अन्तर्राष्ट्रियस्तरको कलात्मक टावर हुनेछु भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव तुलसी सिटौलाले भने । राजधानीमा पुराना ऐतिहासिक कलात्मक संरचना भए पनि पर्यटकीय दृष्टिले महत्वपूर्ण आधुनिक संरचना भने छैनन् । तर एक्काइसौं शताब्दीमा बन्ने गणतन्त्र स्तम्भ पुराना ऐतिहासिक संरचनाजस्तै मुलुकको आधुनिक ऐतिहासिक सम्पदा बन्ने विश्वास भवन विभागका अधिकारीहरुको छ ।
यो स्तम्भ धरहराभन्दा दोब्बर अग्लो हुनेछ । यो स्तम्भको तीन ठाउँबाट काठमाडौं उपत्यकाको सुन्दरता हेर्ने भिउ प्वाइन्ट बनाइनेछ । जमिनमुनि दुई तलाको बेसमेन्ट बनाइनेछ । त्यसपछि हिमाल पहाड र तराईलाई संकेत गर्ने तीनवटा पिलर बनाइनेछन् । २७ मिटर उचाइमा रहने पहिलो भिउ डेकबाट १ सय ५० जनाले एकैपटक र ६३ मिटरमाथि बन्ने दोस्रो भिउ डेकबाट १ सय १५ जनाले एकैपटक उपत्यका नियाल्न पाउनेछन् । थर्ड भिउ डेस्क ८३ मिटरमा रहनेछ । सुरक्षाका लागि यो भिउ डेक सबै सर्वसाधारणका लागि खुला नगरिने जानकारी भौतिक योजनाका अधिकारीले दिए ।
माथि बाँकी ११ मिटरसम्म पनि जान सकिनेछ तर त्यो मर्मतसम्भार र सरसफाइ प्रयोजनका लागिमात्र खुला गरिनेछ । माथि चढ्न दुइटा लिफ्ट राखिनेछ । पहिलो भिउ डेक वृत्ताकार तथा दोस्रो र तेस्रो भिउ डेक ६ वटा कुना भएको षटकोण आकारको हुनेछ ती भिउ डेकको छ तिरबाट राजधानी सहरलाई हेर्न सकिनेछ । ८३ मिटरमाथिसम्म जान हिडेर जाने भर् याङ र १२÷१२ जना क्षमताको दुइटा लिफ्ट राखिनेछ । त्यहाँबाट माथि टुप्पासम्म जान लिफ्ट जडान गरिनेछ । तीनवटा पिलर ९४ मिटरमाथि पुगेर एउटै बिन्दुमा जोडिनेछन् त्यही संगमलाई राष्ट्रिय एकताका प्रतीकका रुपमा निर्माण गरिने जानकारी भौतिक योजनाका अधिकारीले दिए ।
स्तम्भमा नेपालमा लोकतान्त्रिक आन्दोलन सुरु भएदेखि गणतन्त्र बहालीसम्मको राजनीतिक इतिहास र मुलुकको संस्कृतिलाई लिपिबद्धमात्र होइन चित्रबद्धसमेत गरिनेछ । स्तम्भको जमिनमुनि २ तलाको एकैपटक एक हजार मानिस अट्ने क्षमताको ुबेसमेन्टु रहनेछ । बेसमेन्टको पहिलो तलामा 'नेपाल ग्यालरीु'रहनेछ् त्यसमा मुलुकभरका सबै धर्म जातजातिको सांस्कृति झल्काउने तस्वीर र त्यससम्बन्धी विवरण राखिनेछ । दोस्रो तल्लालाई 'पोलिटिकल मुभमेन्ट ग्यालरी' नाम दिइएको छ । त्यसमा २००७ सालको जनक्रान्तिदेखि माओवादीको दस वर्षे जनयुद्ध २०६२/६३ को शान्तिपूर्ण जनआन्दोलन मधेस आन्दोलनलगायतका सम्पूर्ण राजनीतिक आन्दोलनका तस्वीर र त्यससम्बन्धी विवरण राखिनेछ । गणतन्त्र बहाली भएसम्मका विभिन्न आन्दोलनका हजारौं सहिदहरुको चिनारीसहित तस्वीरसमेत राखिनेछ ।
गणतन्त्र स्तम्भका लागि छुट्ट्याइएको ६० रोपनीमध्ये साढे ६ रोपनीमा भौतिक संरचना निर्माण गरिनेछ । बाँकी भागमा बगैंचासहितको सुन्दर पार्क निर्माण गरिनेछ । स्तम्भको कन्सेप्च्युयल डिजाइन प्रतिस्पर्धाबाट छानिएको कन्सेप्चुप्युल एनट आर्किटेक्चर कम्पनीले गरेको हो । यसको विस्तृत डिजाइनको बीडीए नामक कन्सल्ट्यान्ट कम्पनीले गरहेको हो । स्तम्भ चार वर्षमा निर्माण गरिसक्ने लक्ष्य सरकारको रहेको जानकारी सचिव सिटौलाले दिए ।
तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले राजधानीको रत्नपार्कको शान्ति बाटिकामा गणतन्त्र स्तम्भको शिलान्याश गरेका थिए । तर रत्नपार्कमा ठाउँ साँघुरो भएको भन्दै बागमती र विष्णुमती दोभान नजिक ललितपुरको गुसिङ्गलमा स्तम्भ निर्माण गर्ने भनी दोस्रो ठाउँ खोजियो । तर त्यो गहिरो ठाउँ र नदीको फोहोरलगायतका कारण अनुपयुक्त भएकाले त्रिभुवन विश्वविद्यालय परिसरको बल्खुमाथिको डाँडो रोजेर स्तम्भको शिलान्याश गरिएको हो । प्रधानमन्त्री बाबुराम भट्टराईले बिहीबार बिहान आयोजित एक कार्यक्रमबीच स्तम्भको शिलान्याश गरे ।
स्तम्भ निर्माण भइसकेपछि त्यहाँ आउने स्वदेशी तथा विदेशी सबैसँग प्रवेश शुल्क लिइनेछ । त्यसको आम्दानीमध्ये स्तम्भको मर्मतसम्भार र साचालन खर्च कटाएर बाँकी आम्दानी त्रिभुवन विश्वविद्यालयलाई दिइने जानकारी सचिव सिटौलाले दिए । उनका अनुसार त्रिविको जग्गा भएकाले स्तम्भको आम्दानी दिने शर्तमा उसको जग्गा लिइएको हो ।

No comments:

Post a Comment