Thursday, April 5, 2012

कांग्रेस सम्बद्ध निजामती कर्मचारी युनियन विभाजित

काठमाडौं, २३ चैत- नेपाली कांग्रेस सम्बद्ध निजामती कर्मचारीहरुको संगठन ुनेपाल निजामती युनियनु बिहीबार विधिवत रुपमा विभाजित भएको छ । युनियनको संस्थापन पक्षले वीरगन्जमा केन्द्रीय समितिको बैठक गरिरहेका बेला राजधानीमा युनियनका असन्तुष्ट कर्मचारीहरुले बिहीबार आकस्मिक भेला गरी समानान्तर नयाँ संगठन खोलेका छन् । युनियनका अध्यक्ष सुवोध देवकोटाको अध्यक्षतामा बसेको बैठकले महासचिव शोभाखर रेग्मीसहित पाँच जनालाई विधानविपरीत ढंगले कारबाही गरेको भन्दै आक्रोशित असन्तुष्ट समूहले नयाँ संगठन खोलेको जानकारी त्यसका एक सदस्य विश्वबन्धु रेग्मीले दिए ।
राजधानीको वन विभागमा युनियनको असन्तुष्ट पक्षका पदाधिकारी र सदस्यहरुको नेतृत्वमा भएको लोकतन्त्रवादी कर्मचारीहरुको भेलाले युनियनका महासचिव शोभाखर रेग्मीको अध्यक्षतामा २७ सदस्यीय केन्द्रयि तदर्थ समिति गठन भरेका छन् । असन्तुष्ट समूहले छुट्टै 'नेपाल निजामती कर्मचारी संघ' गठन गरेका हुन् । युनियनका अध्यक्ष देवकोटा कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र नयाँ संगठनका अध्यक्ष रेग्मी सभापति सुशील कोइराला पक्षधर हुन् ।
असन्तुष्ट समूहले आफूहरुले राजधानीमा बैठक गरी युनियनको एकताको पक्षमा निर्णय गरे पनि अध्यक्ष देवकोटाले विधानविपरीत केन्द्रीय समितिको बैठक बोलाई महासचिव सचिव र केन्द्रीय सदस्यसहित पाँच जनालाई कारबाही गरेपछि आफूहरुले बाध्य भएर नयाँ संगठन खोलेको जानकारी विश्वबन्धु रेग्मीले दिए ।
संस्थापन पक्षले विधानविपरीत केन्द्रीय समितिको समानान्तर बैठक बोलाएकामा महासचिव शोभाकर रेग्मीलाई तीन महिना निलम्बन, विधानविपरीत अध्यक्षलाई गालीगलौज गरी गरेकामा सचिवद्वय शरदकुमार अधिकारी र सुशीलकुमार केसीलाई एक वर्षका लागि निलम्बन गरेको छ । अधिकारी र केसीले अध्यक्ष देवकोटाले अनुशासनहीन ढंगले काम गरेको भन्दै कारबाही गर्न प्रस्ताव गरी सबै शाखामा पत्राचार गरेको थियो ।
संस्थापन पक्षले उनीहरु दुवै जनालाई अध्यक्ष देवकोटाका विरुद्ध विधानविपरीत कार्य गरेको भन्दै केही दिनअघि स्पष्टीकरण मागेका थिए । संस्थापनको बैठकले केन्द्रीय सदस्यद्वय राजन रेग्मी र रुद्र गाउँलेलाई मादक पदार्थ सेवन गरी युनियनको कार्यालय तोडफोड गरेकामा अनुशासन कारबाही अघि बढाउने निर्णय गरेको छ ।
असन्तुष्ट समूहले भने अध्यक्षसित समन्वय गरी महासचिवलाई बैठक बोलाउने अधिकार भए पनि अध्यक्ष देवकोटाले विधानविपरीत सचिव जीतबहादुर मडैमार्फत् केन्द्रीय समिति बैठक बोलाएकाले आफूहरु वीरगन्ज बैठकमा अनुपस्थित भएको दाबी गरेको छ । संस्थापन पक्षले भने महासचिव रेग्मीले बैठक बोलाउन नमानेकाले अध्यक्ष देवकोटाले विधानबमोजिम सचिव मडैमार्फत् आह्वान गरी बैठक बोलाएको दाबी गरेको छ ।
रेग्मीको अध्यक्षतामा गठित नेपाल निजामती कर्मचारी संगठनको वरिष्ठ उपाध्यक्षमा राजन रेग्मी, उपाध्यक्षद्वयमा शान्त अर्याल र मुहम्मद सज्जाद आलम र महासचिवद्वयमा शरदकुमार अधिकारी र सुशीलकुमार केसी, सचिवमा ताराकुमार श्रेष्ठ, नवराज रिजाल, उत्तम कटुवाल, रुद्र गाउँले र हरिकान्त कर्ण कोषाध्यक्षमा सीता घिमिरे र केन्द्रीय सदस्यमा विश्वबन्धु रेग्मी, बिमलकुमार आचार्यसहित १५ जना छन् । नयाँ संगठनको सल्लाहकार खेमराज ओझा छन् भने युनियनका पूर्व अध्यक्षद्वय भानुभक्त ढकाल र भवानी थानीले नयाँ संगठनलाई नैतिक समर्थन गरेको दाबी रेग्मीले गरे । असन्तुष्ट समूहले खोलेको नयाँ संगठनमा युनियनको ५९ सदस्यीय केन्द्रीय समितिको ११ जनामात्र छन् । तर संस्थापन पक्षले भने असन्तुष्ट समूहमा जम्मा केन्द्रीय समितिका सात जनामात्र रहेको दाबी गरेको छ ।

No comments:

Post a Comment