Thursday, April 19, 2012

मन्त्रिपरिषदद्वारा संविधान निर्माण प्रकि्रया छोट्टयाउन संविधान संशोधन गर्ने निर्णय

काठमाडौं, ७ वैसाख- सरकारले संविधान निर्माण प्रकि्रया छोट्ट्याउन अन्तरिम संविधानमा दसौं संशोधन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहीबार अपराह्न बसेको बैठकले प्रमुख दलहरु माओवादी कांग्रेस एमाले र मधेसी मोर्चाबीच भएको सहमतिअनुसार संविधानसभाबाट संविधान निर्माणको प्रकि्रया छोट्ट्याउन संविधानको धारा ७० संशोधन गर्ने निर्णय गरेको जानकारी स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले दिए ।
संविधानको विद्यमान प्रावधानअनुसार जेठ १४ सम्ममा संविधान जारी गर्न सम्भव नभएकाले सरकारले संविधानमा संशोधन गर्ने निर्णय गरेको हो । संशोधन प्रकि्रया अघि बढाउन सरकारले तत्काल संसद अधिवेशन बोलाउने भएको छ । संविधानको धारा ७० मा 'संविधानको प्रस्तावना या कुनै धारा सर्वसम्मतिबाट पारित नभएमा कम्तीमा एउटा धारा पारित गराउन २२ दिन लाग्ने' प्रावधान छ ।
मन्त्रिपरिषदले संशोधन प्रस्तावमा 'संविधानको धारा ७० को उक्त प्रावधानको सट्टा संविधानसभाको दुई तिहाइ बहुमतले संविधानको प्रावधान र धारा पारित गर्ने प्रावधान राखेको छ ।' पारित गर्न समय लाग्ने धारा ७० मा व्यवस्था हटाउने प्रस्ताव गरिएको छ । यो व्यवस्थाअनुसार संविधानका धारा पारित गर्न समय लाग्ने छैन ।
पौडल हत्याको छानबिन गर्न आयोग
सरकारले झापाका पत्रकार यादव पौडेलको हत्याको छानबिन पुनरावेदन अदालतका पूर्व न्यायाधीश कृष्णप्रसाद बस्यालको संयोजत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । आयोगलाई एक महिनाको अवधि दिइएको छ ।
गणतन्त्र स्तम्भ कीर्तिपुरमा बन्ने
सरकारले कीर्तिपुरको त्रिवि परिक्षा नियन्त्रण कार्यालय बल्ल्खुमाथि रहेको डाँडामा गणतन्त्र स्तम्भ निर्माण गर्ने भएको छ । सरकारले मुलुकमा गणतन्त्र स्थापना भएको कुरालाई चिर स्मरणीय बनाउन गणतन्त्र स्तम्भ निर्माण गर्न लागेको हो । मन्त्रिपरिषदको बैठकले कीर्तिपुरको बल्खुमाथिको डाँडाको ६० रोपनी जग्गा स्तम्भ निर्माणका लागि उपलब्ध गराउने निर्णय गरेको छ । स्तम्भ ९० मिटर उचाइको बनाइनेछ डिजाइनअनुसार स्तम्भ निर्माण गर्न सर्वा अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।
ज्येष्ठ आरोहीलाई १० लाख
सरकारले ज्येष्ठ आरोही मिनबहादुर शेरचनलाई १० लाख आर्थिक सहयोग दिने निर्णय गरेको छ ।

No comments:

Post a Comment