Monday, April 30, 2012

डीजी श्रेष्ठले मसित ५ लाख घूस मागे : शाखा अधिकृत न्यौपाने

एसएमएसमार्फत प्रमुख दलका नेताहरुलाई न्यौपानेले भनेका छन- 'घूस दिन रकम दिनोस या जेल पठाउनोस'
 काठमाडौं १८ वैसाख- यातायात व्यवस्था विभागका महानिर्देशक डीजी चन्द्रमान श्रेष्ठले आफनो विभागमा सरुवा भएर आएका शाखा अधिकृत धर्मराज न्यौपानेसित आइतबार काठमाडौं उपत्यकाभित्र पदस्थापन गर्न ५ लाख रुपैयाँ घूस मागेका छन ।
बर्दिया राजापुरस्थित इलाका प्रशासन कार्यालयबाट यातायात विभागमा हालै सरुवा भएर सरुवा भएका आएका न्यौपानेले डीजी श्रेष्ठले आफूसित काठमाडौंभित्रका यातायात कार्यालयमा पदस्थापन पाउन ५ लाख रुपैयाँ मागेको बताए । न्यौपानेले श्रेष्ठले आफूसित ५ लाख रुपैयाँ घूस मागेको जानकारी श्रम तथा यातायात मन्त्रालयका प्रशासन हेर्ने सहसचिव बुद्धिबहादुर खडकालाई टेलिफोनमार्फत मन्त्रालयलाई र सत्तारुढ माओवादीका अध्यक्ष पुष्पकमल दाहाल उपप्रधानमन्त्री विजयकुमार गच्छदार र विपक्षी कांग्रेसका महामन्त्री कृष्ण सिटौलालाई समेत एसएमएसमार्फत आइतबार नै जानकारी गराइसकेका छन ।
न्यौपानेले पत्नी गीताको क्यान्सरको उपचार गराउनुपर्ने भएकाले आफू काठमाडौंभित्र बस्ने चाहेको र त्यही बाध्यताको फाइदा उठाई डीजी श्रेष्ठले ५ लाख रुपैयाँ घूस मागेको बताए । भरतपुरस्थित क्यान्सर अस्पतालमा बिहीबार उनकी पत्नीको क्यान्सरको अपरेसन हुँदैछ ।
'मैले पत्नीको उपचारका लागि म काठमाडौंमा नै बस्नुपर्ने बाध्यता छ । मलाई काठमाडौंमा नै पदस्थापन मिलाइदिनोस भन्दा डीजी श्रेष्ठले ५ लाख रुपैयाँ घूस माग्नुभयो म त सामान्य आर्थिक अवस्थाको पत्नीको उपचार गर्नसमेत आफन्तसित ऋण माग्न बाध्य मान्छेले कसरी त्यति ठूलो रुपैयाँ दिन सक्छु र फेरि १५ वर्षभन्दा बढी समय राजधानीबाहिर मध्यपश्चिमका दुर्गम जिल्लामा बसेको इमानदार कर्मचारीले राजधानी बस्न किन घूस दिनुपर्ने ?' न्यौपानेले श्रेष्ठलाई भनेको भनाइ उद्धृत गर्दै  भने ।
श्रेष्ठले राजधानीका यातायात कार्यालयमा जाने शाखा अधिकृत सबैले ५ लाख रुपैयाँ दिने गरेको उल्लेख गर्दै आफूसित त्यति नै रकम मागेको न्यौपानेले बताए । श्रेष्ठले राजधानीमा बस्न चाहने विभिन्न पार्टीबाट सिफारिस भएका व्यक्तिले समेत रकम तिर्न तयार रहेको उल्लेख गर्दै आफूलाई घूस दिन दबाब दिइरहेको बताए । कुनै पार्टीको सिफारिस ल्याउन नसक्ने आफूजस्तो निरिह कर्मचारीले अप्ठयारो पर्दा पनि राजधानीमा बस्न नपाउने अवस्था रहेको दुःखेसो उनले व्यक्त गरे । उपचारका क्रममा भरतपुरमा जानुपर्ने दिनमा बाहेक अरु बेला उनकी पत्नी र परिवार राजधानीमा बस्ने गरेको छ ।
उनले मन्त्रालयका प्रशासन महाशाखाका सहसचिव खडकालाई फोनबाट श्रेष्ठले घूस मागेको जानकारी गराएको बताए । न्यौपानेले आफूले घूस दिन नसक्ने उल्लेख गर्दै साचार माध्यममा गएर घूस मागेको घटना खुलासा गर्नेलगायतका विकल्पमा जान्छु भनेर खडकालाई बताएको उल्लेख गरे । खडकाले घटनाका बारेमा मन्त्रालयमा मन्त्री र सचिवलाई जानकारी गराउने उल्लेख गर्दै आफूलाई विकल्प रोज्न सक्ने भनेर स्वीकृति दिएको न्यौपानेले बताए ।
डीजी श्रेष्ठसित घूस मागेकोबारेमा बुझन मोबाइलमा सम्पर्क गर्न खोज्दा स्वीच अप भएकाले सम्पर्क हुन सकेन । श्रम तथा यातायात मन्त्रालयका सचिव सोमलाल सुवेदीले भने त्यसबारेमा थाहा नभएको बताए ।
न्यौपानेले आइतबार नै आफूलाई डीजी श्रेष्ठले काठमाडौंमा पदस्थापनका लागि ५ लाख रुपैयाँ मागेको जानकारी एसएमएसमार्फत सत्तारुढ दल माओवादीका अध्यक्ष दाहाल र मधेसी मोर्चाका नेता गच्छदार तथा कांग्रेसका महामन्त्री सिटौलालाई गराई नेताहरुसँग श्रेष्ठलाई घूस दिनका लागि रकम उपलब्ध गराउन या जेल पठाउन आग्रह गरेका छन ।
न्यौपानेले दाहाल गच्छदार र सिटौलालाई पठाएको एसएमएसमा 'म नेपाल सरकारको कर्मचारी हुँ हाल मैले पत्नी क्यान्सरको बिरामी भएकाले भरतपुर क्यान्सर अस्पतालमा उपचार गराउँदैछु । म काठमाडौं सरुवा भए पनि डीजी श्रेष्ठले ५ लाख रुपैयाँ नभई हुँदैन भनेका छन । तपाईं वा सरकारबाट घूस बझुाउन पैसा पाउँ । नभए तपाईंको सरकारबाट हिम्मत गरेर जेल सजाय पाऊँ : शाखा अधिकृत धर्मराज न्यौपाने ।'

No comments:

Post a Comment