Sunday, April 22, 2012

सरकारले भोलिलाई बिदा दियो लोकतन्त्र दिवस भने नमनाउने

काठमाडौं, १० वैसाख- सरकारले लोकतन्त्र दिवसका दिन सोमबार देशभर सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको पछिल्लो बैठकले लोकतन्त्र दिवसका दिन बिदा दिने निर्णय गरेको जानकारी सरकारी अधिकारीले दिए । यसअघि मन्त्रिपरिषदले वर्षभरिको सार्वजनिक बिदाको निर्णय गर्दा लोकतन्त्र दिवसका दिन बिदा दिएको थिएन ।
माओवादी र संयुक्त मधेसी लोकतान्त्रिक मोर्चा गठबन्धन सरकारले यस वर्ष लोकतन्त्र दिवस भने नमनाउने निर्णय भएको छ । ऐतिहासिक शान्तिपूर्ण जनआन्दोलन-२०६२/६३ सफल भएको दिन वैसाख ११ को सम्झनामा सरकारले हरेक वर्ष सार्वजनिक बिदा िदंदै आएको छ ।
माओवादी दसवर्षे जनयुद्ध र मधेसवादी पार्टी मधेस आन्दोलनको श्रेय लिने र त्यसैमा गर्व गर्ने भएकाले कांग्रेस एमालेसहितका सात दलको अगुवाइमा भएको जनआन्दोलनबाट लोकतन्त्र बहाली भएको दिवसलाई नमाउने निर्णय गरेको जानकारी स्रोतले दिए ।
तत्कालीन राजा ज्ञानेन्द्रको निरंकुश शासनविरुद्ध देशभर दसौं लाख मानिस उत्रिएपछि वैसाख ११ मा लोकतन्त्र बहाली भएको हो जनसहभागिताको दृष्टिले जनआन्दोलन-०६२/६३ मुलुककै सबभन्दा ठूलो आन्दोलन हो । त्यही जनआन्दोलनको उपलब्धिको बलमा मुलुकमा संघीय लोकतान्त्रिक संविधान निर्माण गर्न संविधानसभाको चुनाव भएको र २०६५ जेठमा गणतन्त्र स्थापना भएको हो ।
तर माओवादी-मधेसवादी सरकारले लोकतन्त्र दिवस नमनाउने निर्णय गरेर जनआन्दोलन-०६२÷६३ र त्यसबाट प्राप्त ऐतिहासिक उपलब्धिको अवमूल्यन गरेको जानकारी सरकारी अधिकारीले नै दिएका छन् ।
यसअघि सरकारले हरेक वर्ष राष्ट्राध्यक्षको प्रमुख आतिथ्यमा टुँडिखेलस्थित सैनिक माचमा र जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा विशेष समारोह गरी लोकतन्त्र दिवस मनाउने गर्दै आएको थियो । समारोहमा प्रधानमन्त्रीले समारोहबाट देशबासीका नाममा सम्बोधन गर्ने परम्परा थियो ।
माओवादी-मधेसवादी सरकारले फागुन ७ मा प्रजातन्त्र दिवससमेत मनाएन । कांग्रेस र एमालेलगायतका दलले संसदमा तीव्र विरोध गरेपछि सरकारका तर्फबाट गृहमन्त्री विजयकुमार गच्छदारले प्रजातन्त्र दिवस नमनाएकामा माफी माग्दै अर्को वर्षदेखि मनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

No comments:

Post a Comment