Friday, April 27, 2012

दुस्साहसिक पात्र स्थापितलाई काठमाडौंको अतिक्रमण हटाउने जिम्मा

स्थापित काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त नियुक्त
काठमाडौं, १५ वैसाख- सरकारले अधिकारसम्पन्न काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा काठमाडौं नगरपालिकाका पूर्वमेयर केशव स्थापितलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको शुक्रबार अपराह्न बसेको आकस्मिक बैठकले प्राधिकरणको विकास आयुक्तमा स्थापितलाई पाँच वर्षका लागि नियुक्त गरेको जानकारी भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।
सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणसम्बन्धी ऐन तथा नियमावलीअनुसार प्राधिकरण गठन गरेपछि काठमाडौं उपत्यका नगर विकास समिति स्वतः खारेज भएको छ । समितिमा रहेका सम्पूर्ण कर्मचारी कार्यालय र त्यसका अधिकार प्राधिकरण मातहतमा आएको जानकारी भौतिक योजनाका अधिकारीले दिए । समितिभन्दा प्राधिकरण कानुनी रुपले नै बढी अधिकारसम्पन्न हुनेछ ।
ती अधिकारीका अनुसार काठमाडौं उपत्यकाभित्र बाटो अतिक्रमण गरी बनाइएका घरटहरालगायतका संरचना हटाई सडक फराकिलो बनाउने अभियानमा लागेको समितिलाई सरकारले खारेज गरी अधिकारसम्पन्न प्राधिकरण गठन गरेको हो । अब स्थापितको नेतृत्वमा प्राधिकरणले अतिक्रमित घरटहरा हटाई सडक चौडा पार्ने अभियानलाई अझ तीव्र बनाउनेछ ।
स्थापित काठमाडौं महानगरपालिकामा मेयर हुँदा अतिक्रमित संरचना हटाएर सडक विस्तार गरेका निकै चर्चित र लोकपि्रय भएका थिए । स्थापितले मेयर हुँदा स्थानीयबासीको ठूलो विरोधका बीच कलंकीसम्मको अतिक्रमित घरहटरा भत्काएर सडक फराकिलो बनाउने, माइतीघरका दर्जनौैं घरलाई हटाएर आकर्षक मण्डला बनाउने र थापाथलीदेखि कोटेश्वरसम्मका अतिक्रमित घरटहरा भत्काउनेलगायतका थुप्रै प्रशंसनीय कार्य गरेका थिए ।
दुस्साहसिक पात्र स्थापितको काम अनुभव तथा नेतृत्वबाट प्राधिकरणका कामलाई प्रभावकारी बनाउन उनलाई नियुक्ति गरिएको हो । एमाले छाडेर बसेका स्थापित संविधानसभा चुनावअघि माओवादीमा प्रवेश गरेका थिए । प्रधानमन्त्री बाबुराम भट्टराईको प्रस्तावमा उनलाई विकास आयुक्त नियुक्त गरिएको हो ।

No comments:

Post a Comment