Thursday, April 19, 2012

माओवादी र मधेसवादी लोकतन्त्र विरोधी !

काठमाडौं, ७ वैसाख- माओवादी र संयुक्त मधेसी लोकतान्त्रिक मोर्चा गठबन्धन सरकारले यस वर्ष लोकतन्त्र दिवस नमनाउने भएको छ । ऐतिहासिक शान्तिपूर्ण जनआन्दोलन-२०६२/६३ सफल भएको दिन वैसाख ११ मा सरकारले सार्वजनिक बिदासमेत नदिने निर्णय गरेको जानकारी सरकारी अधिकारीले दिए ।
ती अधिकारीका अनुसार फागुन ७ मा प्रजातन्त्र दिवससमेत नमनाएको सरकारले यस वर्ष लोकतन्त्र दिवससमेत नमनाउने र उक्त दिन सार्वजनिक बिदासमेत नदिने निर्णय गरिसकेको छ । माओवादी दसवर्षे जनयुद्ध र मधेसवादी पार्टी मधेस आन्दोलनको श्रेय लिने र त्यसैमा गर्न गर्व गर्ने भएकाले कांग्रेस एमालेसहितका सात दलको अगुवाइमा भएको जनआन्दोलनबाट लोकतन्त्र बहाली भएको दिनलाई स्मरण गर्न नचाहेको जानकारी स्रोतले दिए ।
गृह मन्त्रालयले अघिल्ला वर्ष झैं यस वर्ष पनि लोकतन्त्र दिवसका दिन सार्वजनिक बिदा दिन प्रस्ताव पठाए पनि मन्त्रिपरिषदले कुनै निर्णय नगरेको जानकारी स्रोतले दिए । तत्कालीन राजा ज्ञानेन्द्रको निरंकुश शासनविरुद्ध देशभर दसौं लाख मानिस उत्रिएपछि वैसाख ११ मा लोकतन्त्र बहाली भएको हो जनसहभागिताको दृष्टिले जनआन्दोलन-०६२/६३ मुलुककै सबभन्दा ठूलो आन्दोलन दुवै हो । त्यही जनआन्दोलनको उपलब्धिको बलमा मुलुकमा संघीय लोकतान्त्रिक संविधान निर्माण गर्न संविधानसभाको चुनाव भएको र २०६५ जेठमा गणतन्त्र स्थापना भएको हो ।
तर माओवादी-मधेसवादी सरकारले लोकतन्त्र दिवस नमनाउने निर्णय गरेर जनआन्दोलन-०६२/६३ र त्यसबाट प्राप्त ऐतिहासिक उपलब्धिको अवमूल्यन गरेको जानकारी सरकारी अधिकारीले नै दिएका छन् ।
यसअघि सरकारले हरेक वर्ष राष्ट्राध्यक्षको प्रमुख आतिथ्यमा टुँडिखेलस्थित सैनिक माचमा र जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा विशेष समारोह गरी लोकतन्त्र दिवस मनाउने र सार्वजनिक बिदा दिने गर्दै आएको थियो ।
समारोहमा प्रधानमन्त्रीले समारोहबाट देशबासीका नाममा सम्बोधन गर्ने परम्परा थियो । हरेक वर्ष प्रधानमन्त्रीको अध्यक्षतामा लोकतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा समारोह समिति र मातहतमा विभिन्न उपसमिति तथा जिल्लाहरुमा पनि समारोह समिति गठन गरिन्थे । तर यस वर्ष लोकतन्त्र दिवस नमनाउन समारोह समिति र उपसमिति गठन नगरिएको जानकारी गृहका अधिकारीले दिए ।
सरकारले फागुन ७ मा प्रजातन्त्र दिवस नमनाएपछि कांग्रेस र एमालेलगायतका दलले संसदमा तीव्र विरोध गरेका थिए । त्यसपछि सरकारका तर्फबाट गृहमन्त्री विजयकुमार गच्छदारले प्रजातन्त्र दिवस नमनाएकामा माफी माग्दै अर्को वर्षदेखि मनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

No comments:

Post a Comment