Monday, November 17, 2014

उपमहानिर्देशक सुवेदीले ज्यान मार्ने धम्की दिएको भन्दै उजुरी

सुवेदीको व्यक्तिगत सुरक्षामा हतियारधारी प्रहरी
काठमाडौं, १ मंसिर– राजस्व अनुसन्धान विभागका निर्देशक तीर्थराज खनालले आफ्नै विभागका उपमहानिर्देशक भरत सुवेदीले आफूलाई ज्यान मार्ने धम्की दिएको उल्लेख गर्दै आइतबार काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।
खनालले लिखित उजुरीमा सुवेदीले अर्थमन्त्रालयका प्रशासन महाशाखा प्रमुख डिल्लीप्रसाद शिवाकोटीको कार्यकक्षमा गई ‘तीर्थे (तीर्थराज खनाल) लाई सम्झाइदिनू मेरो विरोध गर्दै नहिडोस्, नत्र सिध्याइदिन्छु’ भनेर धम्की दिएको उल्लेख गरेका छन् ।
उपमहानिर्देशकका रूपमा कामकाज गर्न खटाइएको पत्र लिएर आएका सुवेदीलाई कुन कानुनका आधारमा विभागमा सरुवा भएर आएका हुन् भन्ने खुलेपछिमात्र हाजिर गराउन उचित हुन्छ भनेर आफूले टिप्पणी उठाएका कारण उनले ज्यान मार्ने धम्की दिएको दाबी खनालको छ ।

खनालले प्रजिअसमक्ष सुवेदीले आफ्नो ज्यानमाथि धावा बोलेको र निजबाट आफूलाई कुनै पनि बेला आक्रमण हुन सक्ने उल्लेख गर्दै आफ्नो जीउज्यानको सुरक्षा गरिदिन माग गरेका छन् । उनले जिल्ला प्रशासनमा दिएको उजुरीको बोधार्थ गृह सचिव सूर्य सिलवाललाई समेत दिएका छन् । 
सुवेदीले ज्यान मार्ने धम्की दिएको उल्लेख गर्दै खनालले आफ्नो ज्यान र जागिरको सुरक्षाका लागि आवाज उठाइदिन राष्ट्रियस्तरका चारवटै कर्मचारी संगठनलाई लिखित अनुरोध गरेका छन् । उनले चोर बाटोबाट उपमहानिर्देशक हुन आएका सुवेदीलाई कामकाज गर्नबाट रोकी नेपाल आमाको सेवा गर्नसमेत चारवटै संगठनलाई अपिल गरेका छन् ।
यसैबीच उपमहानिर्देशक सुवेदीले आफ्नो व्यक्तिगत सुरक्षाका लागि दुई जना हतियारधारी सुरक्षाकर्मी लिएका छन् । जिल्ला प्रशासन कार्यालयले ‘सुरक्षा थ्रेट’ मूल्यांकन गरेरमात्र आवश्यक महसुस भएमा कुनै पनि व्यक्तिलाई सशस्त्र या नेपाल प्रहरी पठाएर सुरक्षा दिने कानुनी व्यवस्थाविपरीत सुवेदीले आफैं सुरक्षाकर्मी लिएका छन् । ललितपुर जिल्ला प्रशासनको सुरक्षा समितिको निर्णयबिना नै उनले आफैंले दुई जना हतियारधारी सशस्त्र प्रहरी आफ्नो सुरक्षाका लागि लिएका हुन् । ‘सुवेदीलाई सुरक्षा दिने कुनै निर्णय भएको छैन र त्यस्तो माग पनि आएको छैन’ ललितपुर जिल्ला प्रशासन स्रोतले भन्यो ।
राजस्व अनुसन्धान विभागको गस्तीलगायतको कामकाजका लागि डीएसपीको कमान्डमा खटाइएको सशस्त्र प्रहरीको टुकडीलाई दबाबमा पारेर सुवेदीले दुई जना सशस्त्र प्रहरी आफ्नो सुरक्षाका लागि लिएको स्रोतले उल्लेख गरेको छ । सुवेदी हतियारधारी सुरक्षाकर्मी लिएर हिड्न थालेपछि खनाल झन् त्रसित हुन थालेकोसमेत स्रोतले उल्लेख गरेको छ ।




No comments:

Post a Comment