Sunday, November 30, 2014

पाँच मन्त्रालयसहित १५ निकाय सचिवविहीन

बढुवाको प्रक्रिया सुरु गर्न सरकाको ढिलाइ 
काठमाडौं, १४ मंसिर– महत्वपूर्ण मन्त्रालयसहित प्रशासनिक नेतृत्वविहीन भएका निकायको संख्या १५ वटा पुगिसके पनि सरकारले सचिव बढुवाको प्रक्रिया सुरु गर्न ढिलाइ गरिरहेको छ । प्रशासनिक नेतृत्व नभएकाले ती निकायको कामकारबाही प्रभावित भइरहे पनि सरकारले सचिव बढुवामा बेवास्ता गरेको हो ।
सहसचिवहरूको कार्य सम्पादन मूल्यांकन कार्य गत असोजमा नै पूरा भइसकेकाले सचिव बढुवाको प्रक्रिया सुरु गर्न कुनै अड्चन नरहेको स्रोतले उल्लेख गरेको छ । निजामती ऐनअनुसार सरकारले रिक्त सचिव पदमा वर्षमा बढुवा समितिको सिफारिसमा दुईपटक पदोन्नति गर्ने व्यवस्था छ । 
सरकारले रिक्त सचिव पदपूर्ति गर्न लोकसेवा आयोगकी अध्यक्ष कयोंदेवी यमीको अध्यक्षतामा रहेको बढुवा समितिको बैठक अहिलेसम्म बोलाएको छैन । १५ वटा निकाय कामु र निमित्त सचिवका भरमा चलाइएको छ, १५ मध्ये ११ वटामा कामु सचिव छन् भने चारवटामा निमित्त सचिव । 

एकातिर निमित्त सचिवलाई दैनिक प्रशासन चलाउनेबाहेक अरू नया“ निर्णय गर्ने अधिकार नहुने भएकाले विभिन्न निकायको काम प्रभावित छ भने अर्कातिर कन्फर्मसरहको काम गर्ने अख्तियार हुने भए पनि कामु सचिवहरू बढुवा हुने लोभमा मन्त्रीको स्वार्थमा काम गर्ने हुनाले पनि ती निकायको कामसमेत प्रभावित भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा दुई सचिव पद रिक्त छ । रक्षा, परराष्ट्र, सूचना तथा सञ्चार, शान्ति तथा पुननिर्माणजस्ता मन्त्रालयसमेत सचिवविहीन छन् । रक्षाका कामु सचिव देवेन्द्र सिटौला छ महिनाको अवधि पुगेर निमित्त सचिवमा झरिसकेका छन् भने अरूमा कामु सचिव छन् । कामुबाट निमित्तमा झनुपर्दा सिटौलाको तलबसुविधासमेत घटिसकेको छ ।
अरू सचिवविहीन निकायमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सूचना आयोग, जल तथा ऊर्जा आयोग, राष्ट्रिय सतर्कता केन्द्र, सार्वजनिक खरिद अनुगमन कार्यालय तथा पा“चवटा क्षेत्रीय प्रशासन कार्यालय छन् । सुदूर पश्चिम क्षेत्रीय प्रशासन कार्यालय निमित्तको भरमा चलाइएको भने अरूमा कामु सचिव छन् ।
सहसचिवबाट सचिवमा पदोन्नतिका लागि बढुवा समितिको बोलाउनेलगायतका कामको संयोजन सामान्य प्रशासन मन्त्रालयले गर्छ । सामान्य प्रशासनको कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव बाबुराम अधिकारीले मंसिरभरिमा सचिव बढुवा प्रक्रिया सुरु हुने जानकारी दिए । ‘हाम्रँे मन्त्रालयले छिट्टै लोकसेवा आयोगका पदाधिकारी र मुख्यसचिव लीलामणि पौडेलसित परामर्श गरी मंसिरभित्रै बढुवा समितिको बैठक बोलाएर सचिव पदोन्नतिको प्रक्रिया सुरु गर्नेछ’ उनले कान्तिपुरसित भने ।




No comments:

Post a Comment