Saturday, November 29, 2014

साइरनवाला गाडीमा उपमहानिर्देशक सुवेदी सरर्र

काठमाडौं, १३ मंसिर– राजस्व अनुसन्धान विभागका उपमहानिर्देशक भरत सुवेदी अनधिकृत रूपमा आफ्नो गाडीमा साइरनवाला रातो बत्ती बालेर हिड्न थालेका छन् । अनधिकृत रूपमा सशस्त्र प्रहरीका दुई जना हतियारधारी सुरक्षागार्डसमेत लिइसकेका सुवेदीले कानुनविपरीत रातो बत्तीसहितको साइरनवाला सरकारी गाडी चढ्न थालेको जानकारी स्रोतले दिएका छन् ।
स्रोतका अनुसार सुवेदीले विभागका निर्देशक खिमबहादुर कु“वरले चढ्दै आएको बा २ झ ८२१ नं. को सरकारी गाडीमा साइरनवाला रातो बत्ती राखेर आफूले प्रयोग गरेका हुन् । दमकल, एम्बुलेन्स, इमर्जेन्सीको, भीभीआईपी र भीआईपीको इस्कर्टिङ गाडी तथा सुरक्षाको काममा जाने सुरक्षाकर्मीको सवारी साधनमा मात्र साइरनवाला रातो बत्ती राख्ने कानुनी व्यवस्था छ ।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता लक्ष्मी ढकालले दमकल, एम्बुलेन्स, इमर्जेन्सी पर्दा, भीभीआईपी र भीआईपीको इस्कर्टिङ गाडी तथा सुरक्षाका काम जाने सवारी साधनबाहेक अरूमा साइरनसहितको रातो बत्ती राख्नु गैरकानुनी भएको टिप्पणी गरे । 
‘कानुनले तोकेकोबाहेक अरू गाडीमा साइरनसहितको रातो बत्ती हालेर हिड्नु गैरकानुनी हो’ उनले कान्तिपुरसित भने– ‘इमर्जेन्सी नभएको मान्छे (सुवेदी) ले साइरनसहितको रातो बत्तीवाला गाडी प्रयोग गर्न मिल्दैन । साइरनसहितको रातो बत्तीवाला गाडी व्यक्तिको निजी प्रयोजनका लागि लिन÷दिन मिल्दैन ।’
सुवेदीले आफूले जे गरे पनि कसैलाई पनि छुन सक्दैन भनेर देखाउन नै साइरनसहितको रातो बत्तीवाला गाडीमा हिड्न थालेको स्रोतले उल्लेख गरेको छ । अर्थमन्त्री रामशरण महतले चोरबाटोबाट अर्थमन्त्रालयमा ल्याएर सुवेदीलाई राजस्व अनुसन्धान विभागको उपमहानिर्देशक बनाएका हुन् । 
श्रम मन्त्रालय मातहतको सीप विकास केन्द्रमा रहेका सुवेदीलाई सामान्य प्रशासनको सहमतिबिना कानुन मिचेर अर्थमा काजमा ल्याइएको हो । सामान्य प्रशासनले सुवेदीलाई काजमा पठाउने कानुनविपरीतको निर्णय सच्याउन निर्देशन दिए पनि श्रम मन्त्रालय कुनै निर्णय नगरी बसेको छ ।
कानुनविपरीत राजस्व अनुसन्धानमा आएका सुवेदीले एकपछि अर्को अनधिकृत काम गर्दै आएका छन् । तर, उनको अनधिकृत काममा कसैले पनि अंकुश लगाउने हिम्मत गर्न नसकेको स्रोतले उल्लेख गरेको छ । साइरन बत्ती बालेर आएको गाडीलाई गस्तीमा रहेका प्रहरीले चेक गर्दैनन् । चेक नहुने गाडीको दुरुपयोग हुन सक्ने आशंकासमेत स्रोतको छ ।  




No comments:

Post a Comment