Tuesday, November 4, 2014

अख्तियारद्वारा कामु जिशिअसहित ७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, १८ कात्तिक– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहाका तत्कालीन कामु जिल्ला शिक्षा अधिकारी कुमारी अम्बिका साहसहित ६ जनाविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
साहसहित छ जनाले सिराहाको झिझौल–५ मा शारदा प्राविका नाममा ‘झोले विद्यालय’ खडा गरी २०६६÷६७ देखि २०७०÷७१ सम्म पटक–पटक सरकारी रकम निकासा लिने/दिने कार्य गरी मिलोमतोमा भ्रष्टाचार गरेकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

मुद्दा दायर गरिएकामा साहका अतिरिक्त सिराहाका तत्कालीन निमित्त जिल्ला शिक्षा अधिकारी राजेन्द्रप्रसाद ठाकुर, तत्कालीन कार्यक्रम अधिकृत गुदर महतो, प्रधानाध्यापक सफल यादव, रामविनय यादव, स्रोत व्यक्ति राजेन्द्रप्रसाद यादव छन् ।
साहलाई २ लाख ७५ हजार, ठाकुरलाई १ लाख, महतोलाई १ लाख ४५ हजार तथा सफल यादव, रामविनय यादव र राजेन्द्रप्रसाद यादवलाई १० लाख ५० हजारका दरले बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनअनुसार जेल सजाय र जरिवाना गर्न अख्तियारले मागदाबी गरेको छ ।
यसै गरी अख्तियारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत सिनियर ग्रेड टेक्निसियन दिलीपकुमार मिश्रले सेवा प्रवेश गर्दा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेकाले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
मिश्रले बिहार इन्टरमिडियट एजुकेसन काउन्सिल, पटनाबाट सन् १९९० मा इन्टरमिडियट तह उत्तीर्ण गरेको भनिएको शैक्षिक प्रमाणपत्र नक्कली देखिन आएकाले उनीविरुद्ध भ्रष्टाचार ऐनबमोजिम हदैसम्मको दण्ड सजाय गर्न अभियोगपत्रमा माग दाबी गरेको छ ।

No comments:

Post a Comment