Friday, November 14, 2014

सार्कका दुई दिन उपत्यकामा बिदा

स्कुल चार दिन बिदा, गाडी जोरबिजोर गरेर चलाउन दिने 

काठमाडौं, २८ कात्तिक– सरकारले सार्क शिखर सम्मेलनका बेला राजधानीमा ट्राफिक व्यवस्थापनलाई सहज बनाउन मंसिर ११ र १२ गते उपत्यकामा दुई दिन सार्वजनिक बिदा दिएको छ । 
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सार्क सम्मेलनका दिन मंसिर १० र ११ मा ट्राफिक अस्तव्यस्त भई सर्वसाधारणले सास्ती भोग्नुनपरोस् भनेर दुई दिन बिदा दिने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले दिएका छन् ।

उनका अनुसार यसअघि पनि सार्क सम्मेलनका क्रममा सरकारले उपत्यकामा बिदा दिने गरेको थियो । सम्मेलनका बेला ट्राफिक व्यवस्थापनलाई सहज बनाई सार्क मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरूको सवारी चलाउनका लागि गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले दुई दिन बिदा दिनेलगायतका निर्णय गरेको हो । 
सरकारले गृह मन्त्रालयको प्रस्तावमा सम्मेलनका बेला ट्राफिक व्यवस्थापनलाई सहज बनाउन उपत्यकाभरका सार्वजनिक तथा निजी विद्यालयमा मंसिर ९ देखि १२ सम्म चार दिन बिदा दिएको छ । सम्मेलनका क्रममा ट्राफिक अस्तव्यस्त भई स्कुल बस र विद्याथीहरू आवतजावत गर्न कठिनाइ हुने भएकाले चार दिन बिदा दिने निर्णय गरेको जानकारीसमेत मन्त्रिपरिषदका एक अधिकारीले दिए ।
सरकारले सार्क शिखर सम्मेलनका क्रममा चार दिन (मंसिर ९ देखि १२ सम्म) उपत्यकामा ट्राफिक व्यवस्थापनलाई सहज बनाउन सरकारीबाहेक अरू सम्पूर्ण साधन एक÷एक दिन गरी जोर र बिजोर नं.का गाडी चलाउन दिने निर्णयसमेत गरेको छ । कुन दिन जोर र कुन दिन बिजोर नं.का गाडी चलाउन दिने भन्ने निर्णय गरी ट्राफिक कार्यालयले सार्वजनिक सूचना जारी गर्ने जानकारी गृह मन्त्रालयका अधिकारीले दिए ।

No comments:

Post a Comment