Monday, November 19, 2018

पीडकहरूलाई बचाउने षडयन्त्रप्रति सचेत हुन अपिल

काठमाडौं, २ मंसिर– मानव अधिकारकर्मीहरूले दसवर्षे सशस्त्र द्वन्द्वका पीडकहरूलाई बचाउने र पीडितहरूलाई अझ निस्तेज पार्ने षडयन्त्र भइरहेको दाबी गर्दै त्यसप्रति सचेत हुन संसद, मानव अधिकार आयोग, नागरिक समाजलगायतलाई आग्रह गरेका छन् ।
२१ जना मानव अधिकारकर्मीले आइतबार संयुक्त विज्ञप्ति जारी गरी मुलुकमा मानव अधिकार आन्दोलनको मूल एजेण्डालाई तुहाउने, मानवताविरुद्धका जधन्य वा गम्भीर अपराधीलाई उन्मुक्ति दिने, घटनाका साक्षी, प्रमाण र पीडितलाई निस्तेज पार्ने काम मानव अधिकारकर्मीमध्येकै केहीले गरेको पाइएको उल्लेख गर्दै त्यसप्रति सचेत हुन अपिल गरेका हुन् ।
द्वन्द्वपीडित सत्याग्रही गंगामाया अधिकारी, मानव अधिकारकर्मीहरू चरण प्रसाईं, कपिल श्रेष्ठ, सफलता बोगटीसहितले हस्ताक्षर गरेका छन् । विज्ञप्तिमा दसवर्षे सशस्त्र द्वन्द्वका पीडकहरूलाई विश्वव्यापी क्षेत्राधिकारको दायरामा ल्याउन र पीडितहरूलाई छिटो न्याय दिलाउन माग गरिएको छ ।

‘पीडकहरूलाई विश्वव्यापी क्षेत्राधिकारको दायरामा ल्याउन, विदेश भ्रमणको प्रवेशाज्ञा रोक्न, भेटिङ गर्न, दलिय वा व्यक्तिगत स्वार्थमा भएका षडयन्त्रको पर्दाफास गर्न आ–आफ्नो क्षेत्रबाट पहल गर्न समेत सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछांै’ विज्ञप्तिमा छ ।

No comments:

Post a Comment