Friday, November 23, 2018

सरकार पूर्ण रूपमा असफल : कांग्रेस

काठमाडौं, ६ मंसिर- प्रमुख प्रतिपक्षी कांग्रेसले नौ महिने कार्यकालको समिक्षा गर्दै सरकार पूर्णतः असफल भएको टिप्पणी गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी ओली सरकार गठन भएको ९ महिना पुग्दा पनि मुलुकमा सरकार भएको महसुस गर्न नसकिएको दाबी गरे । ‘नेपाल देशमा सरकार छ ? छ भने कहा“ छ’ शर्माको प्रश्न थियो ।
उनले शान्ति सुरक्षा र सुशासन कायम गर्न, बजार मूल्य नियन्त्रण गर्न सरकार असफल भएको दाबी गरे । संविधान र संघीयता कार्यान्वयन तथा समृद्धिको यात्रामा सरकारको प्रभावकारिता शून्य रहेको दाबीसमेत उनको थियो ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्वाचन क्षेत्रमा भएका दुई हत्याका अभियुक्त र कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछिको हत्याको घटनामा संलग्न दोषीको पहिचान गर्न नसक्नु सरकारको सबभन्दा ठूलो असफलता भएको बताए । मुलुकमा दिनप्रतिदिन महिला हिंसा, बलात्कार, लुटपाटका घटना बढदै जानुले सरकार ९ महिनामै असफल भएको प्रमाणित गरेको दाबीसमेत शर्माको थियो। ‘प्रधानममन्त्रीज्यू, यहाँको रामराज्यमा निर्मलाले न्याय पाउने संभावनाको मृत्यु भइसकेको हो ?’ प्रवक्ता शर्माले भने।
उनले बिनाप्रतिस्पर्धा बुढी गण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी गेजुवालाई दिने निर्णय सरकारको गलत कदम भएको बताए । ‘स्वदेशी लगानीमा निर्माण गर्न आमजनतासित पेट्रोलियम पदार्थमा प्रतिलिटर ५ रुपैयाँ कर उठाएर रकम संकलन गरिरहेको सरकारले बिनाप्रतिस्पर्धा विदेशी कम्पनीलाई बनाउन दिनु गलत हो । यो कतै कम्युनिस्ट सरकारको राष्ट्रवाद त होइन ?’

No comments:

Post a Comment