Friday, November 2, 2018

गैर आवासीय नेपालीलाई पैतृक सम्पत्तिमा हक

अरू सम्पत्तिमा के हुन्छ ?
काठमाडौं, १६ कात्ति– नेपाली नागरिकता त्यागी विदेशी मुलुकको नागरिकता लिइसकेका गैर आवासीय नेपालीको समेत नेपालमा आफ्नो पैतृक सम्पत्तिमाथिको हक लाग्ने व्यवस्था मुलुकी देवानी संहिता २०७४ ले गरेको छ ।
संहिताको दफा ४३३ मा गैर आवासी नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिले नेपालमा अंश या अपुताली दुवै पाउने व्यवस्था गरिएको छ । गैर आवासी नेपालीले नेपालमा अचल सम्पत्ति खरिद गर्न र बन्धकीमा लिनसमेत पाउने कानुनी व्यवस्था संहिताले गरेको छ ।
‘नेपाली नागरिकता त्यागी विदेशी नागरिकता लिइसकेको गैर आवासीय नेपालीले समेत नेपालमा रहेको आफ्नो पैतृक सम्पत्तिको अंशियार हुने कानुनी व्यवस्था छ । नेपाली नागरिकता त्याग्दैमा कोही पनि पैतृक सम्पत्ति वा अंशबाट विमुख हु“दैन । पैतृक सम्पत्ति या अंशमाथि वंशको हक लाग्छ’ कानुन मन्त्रालयका एक अधिकारीले कान्तिपुरसित भने ।
संविधानसभाबाट जारी नया“ संविधानले गैर आवासीय नेपालीलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहितको ‘गैर आवासीय नागरिकता’ दिने व्यवस्था गरेको छ । सरकारले नागरिकता ऐन संशोधन गर्न संसदमा पेस गरेको विधेयकमा समेत त्यस्ता व्यक्तिलाई ‘गैर आवासीय नेपाली नागरिकता’ दिने र तिनले नेपालमा आफ्नो नाममा लगानी गर्न या सम्पत्ति खरिदबिक्री गर्न पाउने व्यवस्था गरेको छ । विधेयकमा गैरआवासीय नेपालीले राजनीतिक अधिकार भने नपाउने व्यवस्था गरिएको छ ।
गैरआवासीय नेपालीले विदेशमा कमाइ गरी बाबुआमा, दाजुभाइ, दिदीबहिनीको नाममा खरिद गरेको घरजग्गा या कुनै सम्पत्तिमा भने उसको सोझो हक नलाग्ने जानकारी कानुन मन्त्रालयका अधिकारीले दिए । ‘कुनै गैर आवासीय नेपालीले आफ्ना नातागोताको नाममा नेपालमा घरजग्गालगायतको सम्पत्ति जोडेको छ भने त्यसमा उसको सोझो हक लाग्दैन । जसको नाममा छ, उसैको मात्र हक लाग्छ । बाबुआमा या दाजुभाइ, दिदीबहिनीलगायतका नातागोताले दया गरेर दिएमात्र त्यस्तो सम्पत्ति पाउ“छन्, कानुनी हक भने हुदैन’ ती अधिकारीले भने ।
ती अधिकारीका अनुसार यदि कुनै गैर आवासीय नेपालीले आफ्नो पैतृक सम्पत्ति कानुनी रूपमा लिइसकेको छैन भने बाबुआमा, दाजुभाइ या दिदीबहिनीको नाममा नेपालमा खरिद गरेको सम्पत्तिमा उसको हक लाग्नेछ । ‘पैतृक सम्पत्ति वा अंश लिइनसकेको गैरआवासीय नेपालीले बाबुआमा या अंशियार दाजुभाइ, दिदीबहिनीको नाममा नेपालमा खरिद गरेको घरजग्गालगायतको सम्पत्तिमाथि हक पाउ“छ, त्यसका लागि उसले पैतृक सम्पत्ति नलिएको प्रमाण भने हुनुपर्छ’ ती अधिकारीले भने । पैतृक सम्पत्ति लिन्न भनेर कानुनी कागाजात गरेर गएको गैर आवासीय नेपालीले पछि दाबी गरे पनि पैतृक सम्पत्ति पाउने छैन । ‘पैतृक सम्पत्तिको हक कानुनी रूपमा छाडेको छैन भने गैर आवासीय नेपालीले जहिले आएर दाबी गरे पनि आफ्नो अंश पाउन कुनै कानुनी बन्देज छैन’ ती अधिकारीको भनाइ छ ।
नेपाली नागरिकता त्याग्नुअघि कुनै गैर आवासीय नेपालीले नेपालमा आफ्नो नाममा खरिद गरेको घरजग्गालगायतको सम्पत्ति नागरिकता त्याग गरेपछि पनि उसकै हुने जानकारी ती अधिकारीले दिए । ‘गैर आवासीय नेपालीले नागरिकता त्याग्नुअघि नेपालमा खरिद गरेको सम्पत्ति उसले नेपाली नागरिकता त्यागिसकेपछि पनि उसकै हुन्छ, तर उसको बाबुआमा, दाजुभाइ, दिदीबहिनीसित कानुनी रूपमा अंशबण्डा भइसकेको छैन भने त्यस्तो सम्पत्तिमाथि बाबुआमा, दाजुभाइ, दिदीबहिनीको समेत हक लाग्छ’ ती अधिकारीले भने– ‘किनकि त्यसरी खरिद गरेको सम्पत्तिमा पैतृक सम्पत्तिको कमाइ परेको छैन भनेर कानुनी रूपमा प्रमाणित गर्न गाह्रो हुन्छ ।’

No comments:

Post a Comment