Wednesday, November 28, 2018

सम्पादक चन्दलाई रिहा गर्न महासंघको माग

काठमाडौं, १२ मंसिर– नेपाल पत्रकार महासंघले पक्राउ परेका सम्पादक गोपाल चन्दलाई तत्काल रिहाइ गर्न माग गरेको छ । पत्रकार महासंघले बुधबार विज्ञप्ति जारी गरी झूटो समाचार लेखेको आरोपमा पोष्ट पार्टी डटकमका सम्पादक चन्दलाई मंगलबार पक्राउ गरी  विद्युतीय कारोवार ऐनअन्तर्गत कारवाही अघि बढाएको घटनाको विरोध गर्दै तत्काल रिहाई गर्न माग गरेको हो ।
‘प्रहरीले पटकपटक आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर पत्रकारलाई पक्राउ गर्नु र मुद्दा चलाउनु प्रेस स्वतन्त्रतामाथिको आक्रमण हो । सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित सामग्रीका बारेमा छानबिन गर्ने र कारवाही गर्ने अधिकार प्रेस काउन्सिल नेपाललाई मात्र छ’ विज्ञप्तिमा छ ।
महासंघले काउन्सिलको अधिकार क्षेत्रमाथि हस्तक्षेप गर्दै प्रहरीबाट बारम्बार पत्रकार पक्राउ गरिनु र विद्युतीय कारोबारलगायतका कानुनअन्तर्गत मुद्दा चलाउने कार्यले सञ्चार जगतलाई नै हतोत्सायी बनाएको जनाएको छ । महासंघले सञ्चारकर्मीलाई समाचार सम्प्रेषण गर्दा सत्यतथ्य र निष्पक्षतामा ध्यान दिन र पत्रकार आचारसंहिता पालनामा गम्भीर बन्नसमेत महासंघले आह्वान गरेको छ ।

No comments:

Post a Comment