Monday, July 2, 2012

थप दुई पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन गाडी र सचिवालय सुविधा

थापालाई विलाशी ल्यान्डक्रुजर प्राडो  र पूर्वसभामुख रानाभाट स्कर्पियो गाडी
काठमाडौं, १८ असार- सरकारले थप दुई पूर्वविशिष्ट पदाधिकारी सूर्यबहादुर थापा र तारानाथ रानाभाटलाई आजीवन गाडी र सचिवालय सुविधा दिएको छ । गृह मन्त्रालयले पूर्वप्रधानमन्त्री थापालाई विलाशी ल्यान्डक्रुजर प्राडो गाडी मासिक ५० हजार आवास सुविधा र सरकारी खर्चमा सचिवालय सुविधा प्रदान गरेको हो । पूर्वसभामुख तारानाथ रानाभाटलाई भने संसद सचिवालयले गाडी र सचिवालय सुविधा दिएको छ ।
गृह मन्त्रालयले यसअघि नै ५ पूर्वप्रधानमन्त्रीहरु लोकेन्द्रबहादुर चन्द, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाललाई आजीवन ल्यान्डक्रुजर प्राडो गाडी र सचिवालय सुविधा प्रदान गरिसकेको छ । गृह मन्त्रालयले पछिल्लोपटक आइतबार थापालाई गाडी र सचिवालय सुविधा दिएको हो ।
संसद सचिवालयले पछिल्लोपटक पूर्वसभामुख रानाभाट स्कर्पियो गाडी र नायव सुब्बासहितको सचिवालय सुविधा दिएको हो । यसअघि नै पूर्वसभामुखद्वय रामचन्द्र पौडेल र सुवास नेम्वाङलाई सचिवालयले स्कर्पियो गाडी र सचिवालय सुविधा दिइसकेको छ । पूर्वसभामुखमध्ये दमननाथ ढुंगानाले मात्र गाडी र सचिवालय सुविधा लिन बाँकी छ ।
पूर्वविशिष्ट पदाधिकारीलाई सुविधासम्बन्धी अध्यादेशअनुसार सर्वोच्च अदालत १५ पूर्वप्रधानन्यायाधीशलाई फोर्ड गाडी खरिद गरी सुविधा दिइसकेको छ । सरकारले पूर्वप्रधानमन्त्रीहरुलाई चालक इन्धन मर्मत खर्चका अतिरिक्त मासिक ५० हजार रुपैयाँ आवास खर्च अतिथि सत्कार तथा मसलन्द खर्चबापत वार्षिक ४० हजार रुपैयाँ र शाखा अधिकृत एक जना कार्यालय सहायक एक कार्यालय सहयोगीसहितको सचिवालय सुविधा प्रदान गरेको छ ।
सरकारले पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखहरुलाई भने चालक, इन्धन, मर्मत खर्चका अतिरिक्त नायव सुब्बा र एक जना कार्यालय सहयोगी रहेको सुविधा प्रदान गरेको हो । सरकारले अध्यादेशअनुसार पूर्वगृहमन्त्रीहरुलाई मात्र गाडी सुविधा दिन बाँकी छ ।

No comments:

Post a Comment