Wednesday, July 25, 2012

अख्तियारद्वारा सहसचिव बस्नेत र उपसचिव शर्मासहित १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

मुद्दामा अख्तियारको दाबी
  • बस्नेतसहितले जाजरकोटदेखि दैलेख खण्डमा करिब ९५ लाख भ्रष्टाचार 
  • शर्मासहितले स्वास्थ्य चौकी र प्रसूति गृह निर्माणमा सवा दुई करोड भ्रष्टाचार
काठमाडौं, १० साउन- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपहाडी लोकमार्गका तत्कालीन कायममुकायम प्रमुख एवं सहसचिव दिनेश बस्नेत तथा भवन डिभिजन सुर्खेतका तत्कालीन प्रमुख विष्णुप्रसाद शर्मासहित आठ इन्जिनियर तथा दुई लेखा अधिकृतविरुद्ध भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले मुद्दा दायर गरेपछि हाल काठमाडौं-तराई द्रुत मार्ग फास्ट ट्रयाक आयोजना प्रमुख रहेका बस्नेतसहित भौतिक योजना निर्माण तथा यातायात मन्त्रालयका चार इन्जिनियर र लेखा अधिकृत तथा हाल भवन डिभिजन हटौंडाका प्रमुख उपसचिव शर्मासहित सहरी विकास मन्त्रालयका चार इन्जिनियर र लेखा अधिकृत स्वतः निलम्बित भएका छन् ।
बस्नेतसहितले मध्यपहाडी लोकमार्गको जाजरकोटदेखि दैलेखसम्मको खण्ड र शर्मासहितले सुर्खेतमा स्वास्थ्य चौकी र प्रसूति गृह निर्माण कार्य आपसी मिलोमतोमा नक्कली कागजात बनाएका राजविन्द्रप्रतिाप सापकोटासहितको ठेकेदार समूहलाई ठेक्का दिई भ्रष्टाचार गरेको अभियोगमा उनीहरुमाथि भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको जानकारी अख्तियारका अधिकारीले दिएका छन् ।
बस्नेतले मध्यपहाडी लोकमार्ग आयोजनाको कामु प्रमुख हुँदा २०६६/६७ मा ९४ लाख ७० हजार ३ सय १३ रुपैयाँ लागतको जाजरकोटदेखि दैलेख खण्डको निर्माण कार्य आपसी मिलोमतोमा नक्कली कागजात बनाएका सापकोटाको समूहलाई ठेक्का दिएको अभियोगमा उल्लेख छ । मिलेमतोमा नक्कली कागजात बनाएका ठेकेदारलाई ठेक्का दिने कार्यमा इन्जिनियरहरु कृष्णप्रसाद भण्डारी, प्रकाश उपाध्याय भट्ट, भानु जोशी, लेखा अधिकृत केशरबहादुर साउदसमेत संलग्न रहेको उल्लेख गर्दै उनीहरुमाथिसमेत भ्रष्टाचारको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ ।
अख्तियारले नक्कली कागजातका आधारमा ठेक्का लिने सापकोटासहितका ठेकेदारहरु मदनकुमार अधिकारी रणवीर सुब्बा लाक्पा शेर्पा र नवराज सापकोटाविरुद्धसमेत भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ । अख्तियारले उक्त सडक निर्माणमा भ्रष्टाचार गरेकामा बस्नेतसहितका अभियुक्तबाट ९४ लाख ७० हजार रुपैयाँ बिगो र त्यत्ति नै बराबरको जरिवाना भराउन र कानुनबमोजिम कैद सजाय गर्न विशेष अदालतसमक्ष माग दाबी गरेको छ ।
त्यसैगरी अख्तियारले भवन डिभिजन सुर्खेतका तत्कालीन प्रमुख शर्मासहित ५ जनाविरुद्ध २ करोड २४ लाख ४० हजार लागतमा सुर्खेतमा स्वास्थ्य चौकी तथा प्रसूति गृह निर्माण कार्यको ठेक्का नक्कली कागजात बनाएका ठेकेदार सापकोटालाई दिई भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको हो । अख्तियारले शर्मासहितका नौ जनाविरुद्ध २ करोड २४ लाख ४० हजार बिगो र त्यत्ति नै बराबर जरिवाना भराउन र कानुनबमोजिम कैद सजाय गर्न विशेष अदालतसमक्ष माग दाबी गरेको छ ।
शर्मासहितका अधिकारीले ०६६/६७ मा कानुनबमोजिम १७ शर्त उल्लंघन गरी भवन निर्माणको ठेक्का दिएको अभियोगमा उल्लेख छ । अख्तियारले भवन निर्माणको ठेक्कामा इन्जिनियरहरु मनोज नकर्मी, निरजबहादुर हमाल, मनोजकुमार यादव, लेखा अधिकृत लक्ष्मीप्रसाद भट्टराई तथा ठेकेदारहरु सापकोटा मदनकुमार अधिकारी, रणवीर सुब्बा, लाक्पा शेर्पा र नवराज सापकोटाविरुद्धसमेत भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ ।

No comments:

Post a Comment