Tuesday, July 10, 2012

किर्ते हस्ताक्षर बुझाउने संघलाई दर्ता नगर : कर्मचारी युनियन

हामीले किर्ते हस्ताक्षर गराएको छैन : संघ
काठमाडौं, २६ असार- नेपाली कांग्रेस सम्बद्ध निजामती कर्मचारी संघले आफूबाट फुटेको निजामती कर्मचारी संघले संगठन दर्ताका लागि श्रम विभागमा पेस गरेका कर्मचारीको हस्ताक्षरमध्ये धेरैजसो नक्कली रहेको दाबी गरेको छ । युनियनले श्रम विभागका पाजाधिकारीसमक्ष दिएको उजुरीमा कर्मचारीहरुको हस्ताक्षरमात्र नभई प्रमाणित गर्ने कार्यालय प्रमुखहरुको हस्ताक्षरसमेत नक्कली रहेको दाबी गरेको छ ।
उजुरीमा युनियनले संघ दर्ताका लागि प्रस्तुत गरिएका ७ हजार २ सय २२ जना कर्मचारीमध्ये १ हजार ८ सय १० जना आफ्नो संगठनका सदस्य रहेको र उनीहरुले युनियन परित्याग नगरेको भन्दै आफ्नो हस्ताक्षर फिर्ता गरिपाऊँ भनी लिखित निवेदन दिएको जिकिरसमेत गरेको छ ।
युनियनले संघले ३४ जिल्लाका आफ्नो कार्यसमिति गठन भएको उल्लेख गरेकोमध्ये ५ जिल्लामा संघ दर्ता गर्न आवश्यक २० प्रतिशत कर्मचारीको हस्ताक्षर पुगेको बाँकी जिल्लामा नपुगेको जिकिरसमेत उजुरीमा गरेको छ । त्यही कारण संगठन दर्ता हुन २० जिल्लामा कार्यसमिति हुनुपर्ने अनिवार्य व्यवस्था भएकाले त्यति पुर् याउन नसक्ने संघलाई दर्ता नगर्न युनियनले विभागसमक्ष मागसमेत गरेको छ । विभिन्न जिल्लाका कार्यालय प्रमुखहरुले समेत संघ दर्ताका लागि हस्ताक्षर गर्ने कर्मचारी प्रमाणित गर्न आफूहरुले दस्तखत नगरेको र आफ्नो दस्तखत किर्ते भएको दाबी गरेको उल्लेख गर्दै संघ दर्ता हुन आधार नरहेकोसमेत विभागसमक्ष जिकिर गरेको छ । युनियनले संघले संगठन दर्ताका लागि दिएको निवेदनमा निजामती कर्मचारीको संकेत नम्बरसमेत उल्लेख नगरेको दाबीसमेत गरेको छ ।
निजामती कर्मचारी संघले भने आफूहरुले संगठन दर्ताका लागि एक जना कर्मचारीको पनि नक्कली हस्ताक्षर नगरेको र कसैले पनि व्यक्ति रुपमा विभागमा गएर आफ्नो हस्ताक्षर नक्कली भएको उजुरी नदिएको दाबी गरेको छ । संघका केन्द्रीय सदस्य विश्वबन्धु रेग्मीले युनियनले नै आफूहरुले बुझाएको कर्मचारीको हस्ताक्षरको फोटोकपी लगी त्यसमा स्क्यान गरेर किर्ते हस्ताक्षर गरी विभागमा उजुरी दर्ता गरेको दाबी गरेका छन् । 
आफूहरुले संघ दर्ताका लागि हस्ताक्षर गर्ने सबै निजामती कर्मचारीको संकेत नम्बरसमेत विभागमा बुझाइसकेको दाबीसमेत उनले गरे । संघले संगठन दर्ताका लागि हस्ताक्षरै नगरेका कर्मचारीको समेत हस्ताक्षर फिर्ता भएको दाबी युनियनले गरेको र बारा तथा धादिङ जिल्लामा कार्यालय प्रमुखलाई धम्की दिएर आफूले हस्ताक्षर प्रमाणित नगरेको कागजमा सही गर्न लगाएको जिकिरसमेत गरेको छ ।
आफ्नो कार्यसमिति गठन भएका ३४ वटै जिल्लामा २० प्रतिशत कर्मचारीको हस्ताक्षर पुगेको दाबीसमेत संघले गरेको छ । बरु युनियनका केन्द्रीय सचिव मनोज तिवारी नै निजामती कर्मचारी संकेत नभएका संगठनका लागि अवैध कर्मचारी भएको दाबीसमेत रेग्मीको छ । उनका अनुसार विकासतर्फका कर्मचारी निजामती कर्मचारी संगठनमा सदस्य हुन पाइन्न । 

No comments:

Post a Comment