Monday, July 30, 2012

ट्रेड युनियन कांग्रेस फुटको संघारमा

बहुमतको  संगठनको नाम परिवर्तन गर्ने निर्णय देउवा पक्षद्वारा अस्वीकार
काठमाडौं, १५ साउन- कांग्रेसको भातृ संगठन नेपाल ट्रेड युनियन कांग्रेस - स्वतन्त्र सभापति सुशील कोइराला पक्ष संस्थापन र वरिष्ठ नेता शेरबहादुर देउवा समूहबीचको तीव्र विवादले फुटको संघारमा पुगेको छ ।
संस्थापन पक्षले राष्ट्रिय सहमतिको बहुमतले विधान र दुई ट्रेड युनियन एकीकरण हुँदा भएको सहमतिविपरीत गएर संगठनको नाम परिवर्तन गरेको विरोधमा देउवा पक्षीय १७ जनाले नोट अफ डिसेन्ट लेखेपछि उत्पन्न विवादले नेपाल ट्रेड युनियन कांग्रेस - स्वतन्त्र फुटको संघारमा पुगेको हो ।
ट्रेड युनियन कांग्रेस - स्वतन्त्रको राष्ट्रिय समितिको सोमबार बसेको बैठकले बहुमतबाट संगठनको नाम परिवर्तन गरी ुनेपाल ट्रेड युनियन कांग्रेसु राखेको छ । उक्त निर्णयको विरोध गर्दै ट्रेड युनियन कांग्रेस - स्वतन्त्रका देउवा पक्षीय उपहासचिव अयोध्या यादवको नेतृत्वमा १७ जनाले लिखित असहमति जनाएका छन् । राष्ट्रिय समिति ६५ सदस्यीय छ ।
संस्थापन कांग्रेसको तत्कालीन ट्रेड युनियन कांग्रेस र देउवा पक्षको प्रजातान्त्रिक ट्रेड युनियन महासंघबीच एकीकरण हुँदा एकीकृत संगठनको नाम ुट्रेड युनियन कांग्रेस - स्वतन्त्रु राखिएको थियो ।
देउवा पक्षीय सत्र जनाले विधानबमोजिम राष्ट्रिय सम्मेलनमा प्रस्ताव पेस गरी दुई तिहाइ बहुमतबाट नाम परिवर्तन गर्नुपर्नेमा राष्ट्रिय समितिको बहुमतबाट जबर्जस्ती विधान र एकीकरण गर्दाको सहमतिविपरीत नाम परिवर्तन गर्ने निर्णय गलत रहेको र त्यसलाई स्वीकार गर्न नसकिने उल्लेख गर्दै ुनोट अफ डिसेन्टु लेखेका छन् ।
नोट अफ डिसेन्ट लेख्नेमा उपमहासचिव यादवसहित कोषाध्यक्ष ध्रुवचन्द्र गौतम, सदस्यहरु ऋषभदेव घिमिरे, ध्रुवराज पुरी, उषा भण्डारी, बिमला गैरे, तारा राई, ललितकला गुरुङ, केदारनाथ दाहाल, राजाराम ठाकुर, नुर मोहम्मद, भक्त लामा, कल्पना अधिकारी, कमला लामिछाने, साजय मिश्र, दाबासाङ्गे लामा र रघुनाथ अधिकारी छन् ।
तत्कालीन प्रजातान्त्रिक ट्रेड युनियन महासंघका अध्यक्ष एवं ट्रेड युनियन कांग्रेस - स्वतन्त्रका आमन्त्रित सदस्य खिलानाथ दाहालले १७ जनाको लिखित असहमतिप्रति ऐक्यबद्धता प्रकट गरेका छन् । विधानविपरीत राष्ट्रिय सहमतिको बहुमतबाट संगठनको नाम परिवर्तन गरिएको विरोधमा दाहालले आमन्त्रित सदस्य र भवन निर्माण समितिको सदस्यसमेत बाट राजिनामा दिएका छन् ।
देउवा पक्षीय पदाधिकारी तथा सदस्यहरुले बहुमतको जबर्जस्ती निर्णयको विरोधमा आफ्नो रणनीति तय गर्न एक/दुई दिनमा नै छुट्टै बैठक गर्ने जानकारी सदस्य ऋषभदेव घिमिरेले दिए । कांग्रेस निकट निजामती कर्मचारी युनियन फुटेको केही समयपछि नै ट्रेड युनियन कांग्रेस फुटको संघारमा पुगेको हो ।

No comments:

Post a Comment