Friday, March 15, 2013

बुढी गण्डकी र नलसिंगाड विकास समितिमा सदस्य थप

काठमाडौं, ३० फागुन– ऊर्जा मन्त्रालयले दुई ठूला जलाशययुक्त जलविद्युत् आयोजना बुढी गण्डकी र नलसिंगाड विकास समितिमा सदस्यहरू थप गरेको छ । ऊर्जामन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री बाबुराम भट्टराईले ऊर्जामन्त्रीस्तरीय निर्णय गरी दुवै विकास समितिमा सदस्य थप गरेका हुन् ।
४ सय मेगावाटको नलसिंगाड जलविद्युत् आयोजना विकास समितिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहसचिवबाट झन्डै एक वर्षअघि सेवा निवृत्त पूर्वसहसचिव कमलराज पाण्डेलाई सदस्य नियुक्त गरिएको छ । उनी सेवा निवृत्त हुनुअघि भौतिक पूर्वाधार मन्त्रालयको वैदेशिक सहयोग महाशाखा प्रमुख थिए ।
उक्त विकास समितिको कार्यकारी अध्यक्षमा शेरबहादुर शाही र विज्ञबाट सदस्यमा यसअघि नै ज्ञानेश्वर कार्की र कृष्ण शर्मालाई नियुक्ति गरिसकिएको छ । उक्त समितिमा अर्थ र ऊर्जामन्त्रालयका सहसचिव क्रमशः लोकदर्शन रेग्मी र सुनिलबहादुर मल्ललाई पदेन सदस्य तोकिएको छ । नलसिंगाड विकास समितिको सचिवमा विद्युत प्राधिकरणका उपसचिवस्तरका इन्जिनियर नविन सिंहलाई नियुक्त गरिएको जानकारी ऊर्जा मन्त्रालयका एक अधिकारीले दिए ।
ती अधिकारीका अनुसार ६ सय मेगावाटको बुढी गण्डकी विकास समितिको सदस्यमा अर्थमन्त्रालयबाट सेवा निवृत्त सहसचिव कपिलदेव घिमिरे र गोरखाबासी सुरेश मरहठ्ठालाई सदस्य नियुक्त गरिएको छ । उक्त विकास समितिको कार्यकारी अध्यक्षमा लक्ष्मीप्रसाद देवकोटा र विज्ञबाट डम्बरबहादुर नेपालीलाई यसअघि नै सदस्य नियुक्त गरिसकिएको छ । उक्त विकास समितिमा अर्थ र ऊर्जाका सहसचिव क्रमशः लोकदर्शन रेग्मी र श्रीरञ्जन लाकौललाई पदेन सदस्य तोकिएको छ ।

No comments:

Post a Comment