Friday, April 5, 2019

हुरी प्रभावितलाई अस्थायी आवास निर्माण सुरु : सञ्चारमन्त्री

काठमाडौं, २१ चैत– सरकारले बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रमा पीडितहरूको उद्धार र उपचारस“गै अस्थायी बसोबासका लागि आवास बनाउन थालेको छ ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा प्रभावित क्षेत्रमा प्रारम्भिक राहत वितरण सकेर सरकारले घरबारविहीनहरूका लागि अस्थायी आवास निर्माण थालेको जानकारी दिए ।
‘प्रारम्भिक राहत वितरण सकेर सरकारले पीडितका लागि आवश्यक अस्थायी प्रकृतिको बस्ने, खाने र औषधोपचार गर्नेलगायत व्यवस्था गरिरहेको छ,’ उनले भने ।
उनले गृह मन्त्रालयको समन्वयमा क्षतिको यथार्थ विवरण संकलन भइरहेको जानकारी दिए । ‘पीडितको पुनःस्थापना र आवास पुनर्निर्माण गर्न केही समय लाग्छ,’ उनले भने । यसपटक सरकारले समयमै उद्धार गरेन भनी पीडितबाट गुनासो नआएको उनको दाबी छ ।
मन्त्री बाँस्कोटाले हावाहुरीपीडितको उद्धार तथा राहतमा कमी हुन नदिन केन्द्र सरकारले प्रदेश तथा स्थानीय तह र सामाजिक संघसंस्थाहरूसित समन्वय गरेर काम गरिरहेको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओली स्वयंंले स्थलगत अवलोकन गरी पीडितको पुनर्वासको व्यवस्था गराउने प्रतिबद्धता व्यक्त गरेको र त्यसका लागि आवश्यक काम अघि बढाइएको जानकारी दिए । आइतबार साँझ आएको हावाहुरीमा परी बारा र पर्सामा २८ जनाको मृत्यु भएको छ भने घाइतेमध्ये ३ सयभन्दा बढीको अस्पतालमा उपचार भइरहेको छ ।
बाँस्कोटाले घाइतेहरूको सरकारले निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरेको जानकारी दिए । यसैगरी, मन्त्रिपरिषद्ले ‘युनाइटेड सिमेन्ट उद्योग’ लाई धादिङमा आवश्यक जंगल क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ । उद्योगका लागि शून्य दशमलव १७ हेक्टर वन क्षेत्र उपभोग गर्न स्वीकति दिइएको बा“स्कोटाले बताए ।

No comments:

Post a Comment