Saturday, May 14, 2011

किन दुरुपयोग हुन्छ रातो पासपोर्ट ?

पासपोर्ट कति किसिमका हुन्छन्
देशपिच्छे पासपोर्टको किसिम फरक फरक हुन्छन् । हाम्रो देशमा कूटनीतिक अफिसियल र साधारण गरी तीनथरीका पासपोर्ट प्रचलनमा छन् । कूटनीतिक पासपोर्ट रातो अफिसियल पासपोर्ट नीलो र साधारण पासपोर्ट हरियो रंगको हुन्छ । रातो रंगको भएकै कारण कूटनीतिक पासपोर्टलाई रातो पासपोर्ट भिनंदै आएको हो । सरकारी कर्मचारीलाई अफिसियल र सर्वसाधारण नागरिकलाई साधारण पासपोर्ट दिइन्छ ।
रातो पोसपोर्ट कस-कसले पाउँछन्
राष्ट्रपति उपराष्ट्रपति प्रधानमन्त्री प्रधानन्यायाधीश सभामुख उपसभामुख मन्त्रिपरिषद्का सबै सदस्य संवैधानिक अंगका प्रमुख तथा सदस्यहरु सभासद सर्वोच्च र पुनरावेदन अदालतका न्यायाधीश निजामती सेना र प्रहरीका विशिष्ट श्रेणीका अधिकारी विभिन्न मुलुकमा रहने नेपाली राजदूत र विदेशस्थित नेपाली दूतावासका कर्मचारी र संयुक्त राष्ट्रसंघीय सभामा जाने अधिकारीहरुलाई रातो अर्थात् कूटनीतिक पासपोर्टको सुविधा पाउँछन् । राष्ट्रपति र प्रधानमन्त्रीले विदेश जाँदा भ्रमण टोलीमा रहने सदस्यहरुलाई समेत निश्चित अवधि तोकेर रातो पासपोर्ट दिइन्छ । त्यस्तो पासपोर्ट भ्रमण सकिएपछि परराष्ट्र मन्त्रालयलाई फर्काउनुपर्छ । राष्ट्रपति उपराष्ट्रपति प्रधानमन्त्री प्रधानन्यायाधीश सभामुखलगायतलाई १० वर्षको अवधि राखेर रातो पासपोर्ट दिइन्छ भने अरु पदाधिकारीलाई सेवाबाट अवकास हुने मितिसम्मको अवधि राखेर रातो पासपोर्ट दिने गरिन्छ । अवधि सकिएपछि सबैले आफ्नो रातो पासपोर्ट परराष्ट्र मन्त्रालयलाई फर्काउनुपर्छ ।
रातो पासपोर्ट नै किन दुरुपयोग हुन्छ
हालै एक दर्जनभन्दा बढी सभासदको रातो पासपोर्ट दुरुपयोग भएको सार्वजनिक भइरहेको छ । रातो पासपोर्ट दुरुपयोग गरेको अभियोगमा दुई सभासद वीपी यादव र गायत्री साह हिरासतमा परिसकेका छन् अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । उनीहरु दुवैको मुद्दा विशेष अदालतमा विचाराधीन छ । अरु कतिपय सभासदले समेत रातो पासपोर्ट दुरुपयोग गरेको आशंकामा अख्तियार र महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेका छन् ।
सभासदहरुले ठूलो रकम लिई आफ्नो रातो पासपोर्ट अरुलाई बेचेर विदेश पठाई दुरुपयोग गर्ने गरेको खुलासा भएको छ । सभासदको फोटोको ठाउँमा बाहिर जान चाहनेले आफ्नो तस्वीर राखेर विदेश उड्ने र पछि पासपोर्ट सभासदलाई फर्काइदिने गर्छन् सभासदको एउटै पासपोर्टबाट धेरै जना विदेश गएको अनुमान अनुसन्धानमा संंलग्न अधिकारीहरुको छ ।
परराष्ट्र मन्त्रालयका अधिकारीहरुका अनुसार मेसिन रिडेबल रातो पासपोर्ट बन्नुअघिका साधारण प्रकृतिका रातो पासपोर्ट बढी दुरुपयोग भइरहेका छन् । पहिलेका साधारण प्रकतिका रातो पासपोर्टमा सचिवलै फोटो परिवर्तन गरी अर्को टाँस्न सकिन्छ । रातो पासपोर्ट दुरुपयोग गर्ने गिरोहहरुले सभासदको फोटोको ठाउँमा बाहिर जान चाहने व्यक्तिको तस्वीर राखी अमेरिका बेलायत अस्ट्रेलियाजस्ता बढी नेपाली जान चाहने मुलुकमा पठाउँछन् । त्यस्ता व्यक्ति सभासद या कूटनीतिक अधिकारीको नाममा विदेश जान्छन् । सभासदको रातो पासपोर्टको दुरुपयोगले अन्तराष्ट्रिय क्षेत्रमा नेपालको बेइज्जती भइरहेको छ । सजिलै फोटो परिवर्तन गर्न सकिने भएकाले पुराना साधारण प्रकृतिका रातो पासपोर्ट दुरुपयोगको सम्भावना बढी छ । तर मेसिन रिडेबल रातो पासपोर्ट भने दुरुपयोग हुने कुनै सम्भावना छैन । एमआरपीमा फोटो परिवर्तन गर्नै सकिन्न । तसर्थ रातो पासपोर्टको दुरुपयोग रोक्न सरकारले रातो पासपोर्टको सुविधा पाउने सबै उच्च अधिकारीलाई तत्काल मेसिन रिडेबल पासपोर्ट लिने व्यवस्था गर्नुपर्छ यसबाहेक दुरुपयोग रोक्ने अरु उपाय छैन ।
बढी कमाइ हुने मुलुकमा जान चाहने विभिन्न व्यक्तिले रातो पासपोर्ट नै दुरुपयोग गर्नुको मुख्य कारण कूटनीतिक पासपोर्टमा सजिलै भिसा लाग्नु हो । सजिलै भिसा लाग्ने हुनाले व्यक्ति या आपराधिक समूहले लोभी सभासद या अरु कूटनीतिक अधिकारीसित रातो पासपोर्ट किनेर दुरुपयोग गर्छन् । भिसामा सहुलियतबाहेक नेपाली रातो पासपोर्टधारीलाई विदेशमा अरु कुनै सुविधा हुन्न ।
विभिन्न सेवाका विशिष्ट श्रेणीका अधिकारी र विदेशस्थित दूतावासमा कार्य गर्ने कर्मचारीलगायतको रातो पासपोर्ट दुरुपयोग भएको घटना पाइँदैन । तर सभासदका पासपोर्ट भने पटकपटक दुरुपयोग भएका घटना सार्वजनिक भइरहेका छन् । यसमा नाजायज ढंगले ठूलो कमाइ गर्न खोज्ने र लोकलाजको मतलब नराख्ने सभासदहरु जिम्मेवार छन् । राज्यले त्यस्ता सभासदलाई कारबाही गरी रातो पासपोर्ट दुरुपयोग रोक्नुपर्छ ।


No comments:

Post a Comment