Saturday, May 14, 2011

मन्त्रिपरिषदद्वारा वार्ता समिति गठन

काठमाडौं ३० वैशाख- सरकारले विभिन्न माग राखी आन्दोलनरत आदिवासी जनजाति महासंघ थारुहट स्वायत्त राज्य परिषद थारु कल्याणकारिणी सभा क्षेत्री समाजलगायतसित वार्ता गर्न बिनाविभागीय मन्त्री घनश्याम भुषालको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।
मन्त्रिपरिषदको शुक्रबार अपराह्न बसेको बैठकले आफ्नो माग गराउन तराई बन्द उपत्यका बन्द गरेको थारुहट र जनजाति महासंघलगायतका विभिन्न आन्दोलनकारी समूहसित वार्ता गर्न गठित समितिमा शान्ति मन्त्री विश्वनाथ साह र कृषि मन्त्री हरिनारायण यादव सदस्य रहेका छन् । सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री गंगालाल तुलाधरले वार्ता समितिले आन्दोलनकारी समूहसित तत्काल वार्ता थाल्ने जानकारी दिए ।
मन्त्रिपरिषदले पेट्रोलियम पदार्थको सहज आपूर्ति मूल्य समायोजन र आयल निगमको सुदृढीकरणका सम्बन्धमा अध्ययन गरी सरकारलाई आवश्यक सिफारिस गर्न एमालेका प्रमुख सचेतक भीम आचार्यको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
सरकारले प्रतिवेदन कार्यान्वयनको जिम्मा वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दिएको छ । प्रतिवेदन कार्यान्वयनको अनुगमन गर्न मुख्यसचिव माधव घिमिरेको संयोजकत्वमा गृह र कानुन सचिव क्रमशः गोविन्द कुसुम र माधव पौडेल सदस्य रहेको समिति गठन गरेको छ ।
मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री झलनाथ खनालले शान्ति प्रकि्रयाका सम्बन्धमा एक÷दुई दिनमा ठोस निर्णय आउने जानकारी मन्त्रीहरुलाई गराएका थिए । विपक्षी दललगायतसित कुनै छलफल नगरी सरकारले संविधानसभाको म्याद एक वर्ष थप गर्न संसदमा दर्ता गरेको संविधान संशोधनको प्रस्तावको विरोध भइरहेकोप्रति संकेत गर्दै प्रधानमन्त्रीले शान्ति प्रकि्रयाका सम्बन्धमा एक÷दुई दिनमा ठोस प्रगति हुने र त्यसपछि सबै दल संविधानसभाको म्याद थप्न सहमत हुने विश्वास व्यक्त गरेको जानकारी एक मन्त्रीले दिए ।
मन्त्रिपरिषद बैठकमा शिक्षासम्बन्धी समसामयिक विद्यमान समस्या समाधान गर्न शिक्षा मन्त्रालयले पेस गरेको शिक्षा ऐन संशोधन विधेयकमा छलफल भयो । सरकारले त्यसलाई अन्तिम रुप दिन मन्त्रिपरिषद मातहतको विधेयक समितिमा पठाएको छ ।
मन्त्रिपरिषदले सगरमाथा आरोहण गर्ने क्रममा पूर्व परराष्ट्रमन्त्री शैलेन्द्रकुमार उपाध्यायको निधन भएकामा दुःख प्रकट गरेको छ । ८२ वर्षीय उपाध्याय सबभन्दा बढी उमेरमा सगरमाथा आरोहणको कीर्तिमान कायम गर्ने अभियानमा थिए । मन्त्रिपरिषदले उपाध्यायसहितको सगरमाथा आरोहण टोलीको २५ हजार अमेरिकी डलरको सलामी दस्तुर मिनाहा गरेको छ ।
ट्रान्सपरेन्सी नेपाललाई पुरस्कार
सरकारले ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाललाई भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण काम गरेकामा पुरस्कार स्वरुप ५ लाख रुपैयाँ प्रदान गरेको छ । मन्त्रिपरिषदले मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्न महत्वपूर्ण योगदान गर्दै आएको ट्रान्सपरेन्सी नेपाललाई ५ लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको जानकारी मन्त्री तुलाधरले दिए ।

No comments:

Post a Comment