Wednesday, May 11, 2011

राज्य व्यवस्था समितिद्वारा त्रुटिपूर्ण सरुवा सच्याउन निर्देशन

काठमाडौं २८ वैशाख- संसदको राज्य व्यवस्था समितिले कृषि मन्त्रालयले केही समयअघि गरेको आधा दर्जन बढी उच्च अधिकारीको सरुवाको निर्णय त्रुटिपूर्ण रहेको ठहर गर्दै सच्याउन बुधबार सरकारलाई निर्देशन दिएको छ । कृषि र भौतिक योजना तथा निर्माण मन्त्रालयमा ठूलो संख्यामा कानुनविपरीत पक्षपातपूर्ण सरुवा भएको प्रश्न उठेपछि समितिले दुवै मन्त्रालयका सचिव क्रमशः नाथुप्रसाद चौधरी र पूर्ण कडरियालाई बोलाई छलफल गरेर त्यस्तो निर्देशन दिएको हो ।
कृषि मन्त्रालयले वरिष्ठ सहसचिवहरुलाई कानुनविपरीत कनिष्ठ प्रमुखको मातहतमा सरुवा गरेको थियो आफूलाई कनिष्ठको मातहतमा सरुवा गरिएको विरोधमा कृषि मन्त्रालयका सहसचिव जानकीप्रसाद खनालले राजिनामा नै दिएका थिए । समितिले कृषिको सरुवा ऐनविपरीत रहेको ठहर गर्दै तत्काल त्रुटिपूर्ण निर्णय सच्याउन निर्देशन दिएको थियो ।
समितिको निर्देशनपछि खनालसहित सहसचिवहरु उत्तम भट्टराई फुल्केन प्रधानलगायतको सरुवाको निर्णय बदर हुने जानकारी कृषि मन्त्रालयका अधिकारीले दिए । समितिले गलत संरचनाका कारण त्रुटिपूर्ण सरुवा हुन पुगेकाले कृषि मन्त्रालयलाई तत्काल संरचनागत परिमार्जन गर्नसमेत निर्देशन दिएको छ ।
समितिले ऐनविपरीत सरुवा गरेको भौतिक योजनाका सचिव कडरियालाई आफ्नो मन्त्रालयमातहतको सरुवा बढुवा र पदस्थापन कसरी निष्पक्ष र त्रुटिरहित बनाउन सकिन्छ भन्ने ुवर्कआउटु गरी समितिलाई प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ । अन्यायपूर्ण सरुवाको विरोधमा भौतिक योजनाका सहसचिव ध्रुव रेग्मीले दिएको राजिनामा स्वीकृत भइसकेकाले समितिले उक्त मन्त्रालयलाई सरुवा बदर गर्न निर्देशन भने दिएको छैन ।

No comments:

Post a Comment