Monday, May 23, 2011

ऊर्जा सचिवद्वारा चमेलियाको गाडी फिर्ता

काठमाडौं, ९ जेठ- ऊर्जा सचिव बालानन्द पौडेलले ऊर्जा मन्त्रालयमा सरुवा भएर आएपछि चढ्न थालेको चमेलिया जलविद्युत् आयोजनाको टोयोटा प्राडो गाडी विद्युत् प्राधिकरणलाई फिर्ता गरेका छन् । ऊर्जा मन्त्रालयमा बहाली गरेको एक सातामै उनले चरम घाटामा रहेको विद्युत् प्राधिकरणलाई आर्थिक रुपमा सुधार गर्न आफ्नातर्फबाट सुरुआती कदमस्वरुप चमेलियाको गाडी फिर्ता गरेको जानकारी स्रोतले दिएका छन् । ऊर्जा सचिव पौडेल आफ्नो मन्त्रालयमातहतको प्राधिकरणको साचालक समिति सदस्यसमेत हुन् ।
तत्कालीन ऊर्जामन्त्री ज्ञानेन्द्रबहादुर कार्की र सचिव शंकर कोइरालाका पालामा पदीय हैसियतको दुरुपयोग गरी घाटामा रहेको प्राधिकरणमातहतको चमेलिया आयोजनाको विलाशी गाडी जबर्जस्ती मन्त्रालयका तानेर चढ्न थालेका थिए । त्यसपछिका मन्त्री र सचिवले समेत तिनै विलाशी गाडी चढ्दै आएका थिए । विद्य्रुत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक झाले समेत चमेलिया आयोजनाकै विलाशी गाडी चढ्दै आएका थिए ।
ऊर्जा सचिव पौडेलले बा ६ च १०३२ नं।sाे गाडी फिर्ता गरेपछि ऊर्जा मन्त्री गोकर्ण बिष्ट र कार्यकारी निर्देशकलाई समेत चमेलियाको गाडी फिर्ता गर्न दबाब परेको छ । ऊर्जा मन्त्री र निमित्त कार्यकारी निर्देशक रामेश्वर यादवले क्रमशः चमेलियाकै बा ६ च १०२६ र बा ६ च १००९ नं। को गाडी चढ्दै आएका छन् । ऊर्जा मन्त्रालयले प्राधिकरणलाई सोमबार नै पत्र लेखी सचिवले चढ्दै आएको चमेलियाको गाडी फिर्ता लैजान आग्रह गरेको थियो । मन्त्रालयले सोमबार नै प्राधिकरणका कर्मचारीलाई बोलाई गाडी फिर्ता गरेको जानकारी स्रोतले दिए । सचिव पौडेललाई कार्यालय आउजाउका लागि मन्त्रालयकै जिप या कार उपलब्ध गराइने जानकारी स्रोतले दिएको छ ।

No comments:

Post a Comment