Sunday, May 15, 2011

दुई जापानी मेयरलाई भोलि शान्ति पुरस्कार दिइने

हिरोसिमा र नागासाकी आक्रमणका घाइतेसमेत नेपाल आउने
काठमाडौं १ जेठ- जापानको द्वितीय विश्व युद्धमा आणविक बम आक्रमणको चरम चपेटामा परेका दुई सहर नागासाकीका मेयर तोकिहिसा ताउए र हिरोसिमाका निवर्तमान मेयर तादातोसी अकिबा सोमबार नेपाल भ्रमणमा आइपुग्दैछन् ।
उनीहरु नेपाल सरकारको निमन्त्रणामा संयुक्त रुपमा प्रथम गौतम बुद्ध अन्तर्राष्ट्रिय शान्ति पुरस्कार ग्रहण गर्न आउन लागेका हुन् । संस्कृति मन्त्रालयले केही समयअघि विश्वभर शान्तिको सन्देश फैलाउन अनवरत अभियान चलाइरहेका दुई जापानी मेयरलाई संयुक्त रुपमा ५० हजार अमेरिकी डलर राशिको गौतम बुद्ध अन्तर्राष्ट्रिय पुरस्कार दिने निर्णय गरेको थियो ।
बुद्ध जयन्तीका दिन लुम्बिनीमा मंगलबार बिहान आयोजना गरिने विशेष कार्यक्रममा राष्ट्रपति रामवरण यादवले गौतम बुद्ध अन्तर्राष्ट्रिय पुरस्कारबापत दुई मेयरलाई २५÷२५ हजार डलर र प्रशंशापत्र प्रदान गर्नेछन् । दुई मेयरका साथ सन् १९४५ मा अमेरिकाले हिरोसिमा र नागासाकीमा आणविक बम आक्रमण गर्दा घाइते भएका दुई जापानी नागरिक श्रीमती कियोमी इगुरा र तोयोइची इहारा नेपाल भ्रमणमा आउँदैछन् । इहारा नागासाकी सहरका का_िन्सलरसमेत हुन् ।
बम आक्रमणका घाइते दुवै जनालाई सरकारले गौतम बुद्धको मूर्ति उपहार दिएर सम्मान गर्ने कार्यक्रम रहेको जानकारी संस्कृति मन्त्रालयका अधिकारीले दिए । दुवै मेयरसहित आणविक बम आक्रमणका दुवै घाइते सोमबार अपराह्न लुम्बिनी जाने कार्यक्रम छ ।
जापानी पाहुनालाई शुद्धोदन राजा गौतम बुद्धका पिता को दरबार रहेको कपिलबस्तुको तिलौराकोटसमेत भ्रमण गराउने कार्यक्रम संस्कृति मन्त्रालयले राखेको छ । जापानी पाहुना मंगलबार अपराह्न राजधानी फर्कने कार्यक्रम छ । प्रधानमन्त्री झलनाथ खनालले बुधबार जापानी चारै जना पाहुनालाई रात्रिभोज दिने कार्यक्रम छ ।

No comments:

Post a Comment