Tuesday, December 6, 2011

सुकुम्बासी समस्या बल्झाउने आयोग गठन

अध्यक्षमा प्रधानमन्त्रीका जिल्लाबासी
काठमाडौं, २० मंसिर- सरकारले सुकुम्बासी समस्या समाधानका लागि सुझाव दिन भक्ति लामिछानेको अध्यक्षतामा उच्चस्तरीय आयोग गठन गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले सुकुम्बासी समस्या समाधान उच्चस्तरीय आयोग गठन गरेको जानकारी सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले दिए । अघिल्ला आयोगहरुका अनुभवका आधारमा सरकारी अधिकारीहरु यो आयोगले सुकुम्बासी समस्या समाधानभन्दा जथाभावी जग्गा बाँडेर समस्या बल्झाउने बताउँछन् ।
आयोगका अध्यक्ष लामिछाने माओवादीको भातृ संगठन अखिल नेपाल किसान संघ २००७ का उपाध्यक्ष हुन् । उनी प्रधानमन्त्री बाबुराम भट्टराईका गृह जिल्ला गोरखा आरुघाटबासी हुन् । आयोगका सदस्यहरु नियुक्त गर्न भने बाँकी छ । मँिन्त्रपरिषदले आयोगमा सदस्यहरु नियुक्त गर्ने अधिकार भूमिसुधारमन्त्री भीमप्रसाद गौतमलाई दिएको जानकारी स्रोतले दिएको छ ।
सचिव पाण्डेको राजिनामा स्वीकृत
मन्त्रिपरिषदले सचिव शंकर पाण्डेले दिएको राजिनामा स्वीकृत गरेको छ । पाण्डेले निजामती ऐनविपरीत आफ्नो अनिवार्य अवकास पाउन डेढ महिनामात्र बाँकी रहेका बेला आफूलाई अपमानपूर्वक शिक्षा मन्त्रालयबाट मन्त्रिपरिषद सचिवालयमा सरुवा गरिएकामा असन्तुष्टि जनाउँदै राजिनामा दिएका हुन् । ऐनमा अनिवार्य अवकास पाउने समय एक वर्षभन्दा कम बाँकी रहेको व्यक्तिलाई सरुवा गर्न सम्बन्धित व्यक्तिको सहमति लिनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।

No comments:

Post a Comment