Tuesday, December 20, 2011

शान्ति सम्झौताविपरीत ३७ गाडी माओवादीका नाममा

मन्त्रिपरिषदद्वारा बाँकी ५७ गाडी शान्ति मन्त्रालयलाई हस्तान्तरण गर्ने निर्णय
विभिन्न सडकलाई मधेशी र माओवादी नेताका नामाकरण

काठमाडौं, ५ पुस- सरकारले शान्ति सम्झौता र आफ्नै पूर्व निर्णयविपरीत माओवादी नेताले चढ्दै आएका 'भन्सार छली' का ३७ वटा गाडी माओवादीका नाममा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले माओवादीका केन्द्रीय नेताले चढ्दै आएका ३७ वटा गाडी माओवादीका नाममा गर्ने र लडाकुका कमान्डरले चढ्दै आएका ५७ वटा गाडी शान्ति मन्त्रालयका नाममा नामसारी गर्ने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता एवंं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले दिए ।
सरकार र माओवादीबीच पटकपटक भएका समझदारी र शान्ति सम्झौतामा माओवादी नेता र लडाकुका कमान्डरले चढ्दै आएका गाडी शान्ति प्रकि्रया पूरा भएपछि स्वतः शान्ति मन्त्रालयका नाममा आउने प्रावधान छ । सरकारले शान्ति प्रकि्रया पूरा नभएसम्मका लागि भन्सार छलीका ती गाडी विशेष प्रकारको अस्थायी नम्बर प्लेट राखी माओवादी नेता र लडाकुका कमान्डरलाई चढ्न दिएको थियो ।
माओवादीका नाममा गरिने ती गाडीको भन्सारका बारेमा मन्त्रिपरिषदले केही निर्णय गरेको छैन । गाडीमा २ सय ४० प्रतिशतसम्म भन्सार तिर्नुपर्छ । भन्सार नतिरी ती गाडी पार्टी या व्यक्तिका नाममा नामसारी गर्न मिल्दैन । माओवादीले ती गाडी सशस्त्र द्वन्द्वका क्रममा भन्सार छलेर ल्याई चढेका हुन् । माओवादीले त्यसरी चढ्दै आएका गाडी धेरैजसो बोलेरो छन् ।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सरकारले शान्ति सम्झौताबमोजिम ती गाडी एक वर्षका लागि माओवादी नेता र कमान्डरलाई चढ्न दिने र त्यसपछि स्वतः शान्ति मन्त्रालयको नाममा आउने निर्णय गरेको थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले ती गाडी शान्ति प्रकि्रया पूरा नभएसम्मका लागि माओवादी नेता र कमान्डरलाई चढ्न दिने र शान्ति प्रकि्रया पूरा भएपछि शान्ति मन्त्रालयका नाममा हस्तान्तरण हुने निर्णय गरेको थियो ।
लोकमार्गको नयाँ नामाकरण
सरकारले विभिन्न सडकलाई मधेशी र माओवादीका स्वर्गीय र द्वन्द्वका क्रममा मारिएका नेताको नाममा नामाकरण गरेको छ । मन्त्रिपरिषदले सप्तरीको रुवनी-राजविराज सडकलाई सदभावना पार्टीका संस्थापक नेता स्वं गजेन्द्रनारायण िसंह मार्ग, गोरखाको द्रव्य शाह मार्गलाई सुरेश वाग्ले मार्ग, बर्दिबासबाट जलेश्वरसम्मको सडकलाई दुर्गानन्द झा मार्ग, दाङको लमहीबाट तुलसीपुरसम्मको सडकलाई कृष्ण सेन इच्छुक मार्ग र नेपालगन्जदेखि बगौडासम्मको सडकलाई कमल गिरी मार्ग तथा मिर्चैया-सिराहा सडकलाई रमेश महतो मार्ग नामाकरण गरेको छ । वाग्ले कृष्ण सेन माओवादी जनयुद्धका क्रममा मारिएका नेता हुन् भने गिरी र महतो मधेश आन्दोलनमा मारिएका सहिद हुन् । कांग्रेसका युवा नेता झा पाचायतकालमा तत्कालीन राजा महेन्द्रको गाडीमा बम हानेपछि तत्कालीन सरकारद्वारा मारिएका सहिद हुन् ।
समावेशी विधेयक समितिमा
मन्त्रिपरिषदले सरकारका विभिन्न सेवालाई अझ बढी समावेशी बनाउन केही नेपाल ऐनलाई संशोधन गर्न समावेशी विधेयकलाई ल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषदले मधेशीको दबाबमा ल्याउन लागिएको उक्त विधेयकलाई छिटो अघि बढाउन विधेयक समितिमा पठाएको छ ।
पिछडा वर्ग समितिमा नायक
पिछडा वर्ग विकास समितिमा उपाध्यक्ष अजय शंकर नायक सदस्यद्वयमा अमरेशकुमार महतो र जयप्रकाश साहलाई नियुक्त गरेको छ । स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीको प्रस्तावमा मन्त्रिपरिषदले यसअघिका उपाध्यक्ष भरत महतोलगायतका पदाधिकारीलाई हटाएर नयाँ नियुक्ति गरेको हो ।
लगानी वर्ष मनाउने निर्णय
सरकारले मुलुकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी बढाउन सन् २०१२÷१३ लाई लगानी वर्षका रुपमा मनाउने निर्णय गरेको छ । लगानी वर्षको प्रचारप्रसार र प्रवद्र्धनलगायतका कार्य गर्न मन्त्रिपरिषदले प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय निर्देशक समिति गठन गरेको छ । सरकारले हालै विघटित सूचना प्रविधि उच्चस्तरीय आयोगको काम गर्न प्रधानमन्त्रीकै अध्यक्षतामा राष्ट्रिय सूचना प्रविधि परिषद गठन गरेको छ ।
चार जनाको डीआईजीमा बढुवा
मन्त्रिपरिषदले गृह मन्त्रालयको सिफारिसमा नेपाल प्रहरीका चार जना वरिष्ठ एसएसपीलाई डीआईजीमा बढुवा गरेको छ । डीआईजीमा बढुवा भएकामा गोपाल भण्डारी हेमन्त मल्ल र केशव अधिकारी तथा प्राविधिकतर्फका नेत्रप्रसाद आचार्य छन् ।














No comments:

Post a Comment