Friday, December 16, 2011

भ्रष्टाचारको आरोप लागेका गुप्ताद्वारा संवैधानिक परिषदबाट राजिनामा

काठमाडौं, १ पुस- सूचना तथा साचारमन्त्री जयप्रकाशप्रसाद गुप्ताले संवैधानिक परिषदको सदस्यबाट शुक्रबार राजिनामा दिएका छन । भ्रष्टाचारको अभियोगमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेका गुप्ता परिषदमा रहन नहुने आवाज उठेपछि उनले परिषदको मर्यादा तथा यसका सम्मानित सदस्यहरुको सहभागिता विवादरहित होस भन्ने अभिप्रायबाट आफूले राजिनामा दिएको उल्लेख गरेका छन ।
उनले वरिष्ठ मन्त्रीका नाताले परिषदमा रहनु आफनो अधिकार भए पनि आफनाविरुद्ध अनावश्यक विरोध र प्रश्न उठाइएकाले राजिनामा दिएको उल्लेख गरेका छन । गुप्ताले प्रधानमन्त्री एवं परिषदका अध्यक्ष बाबुराम भट्टराईलाई शुक्रबार दिएको राजीनामामा आफूलाई परिषदको सदस्यमा मनोनित गरेकामा धन्यवाद िदंदै मुलुकको विद्यमान संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषदमा सहभागी दलका वरिष्ठ मन्त्रीमध्येबाट नियुक्त हुने प्रावधानअनुसार मौजुदा मन्त्रिपरिषदमा आफू वरिष्ठता क्रममा चौथो रहेको कारणबाट पनि मनोनीत भएको उल्लेख गरेका छन ।
प्रधानमन्त्रीका आर्थिक सल्लाहकार रामेश्वर खनाल अख्तियारका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेललगायतले भ्रष्टाचारको मुद्दा खेपिरहेका मन्त्री गुप्तालाई परिषदमा राख्न नहुने भनी सार्वजनिक वक्तव्यका साथ प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । परिषदले प्रधानन्यायाधीश र संवैधानिक निकायका प्रमुख र सदस्यहरुको नियुक्तिको सिफारिस गर्छ । यस्तो महत्वपूर्ण निकाय परिषदमा भ्रष्टाचारको मुद्दा खेपिरहेका व्यक्ति बस्न नहुने प्रश्न अख्तियारका पूर्व प्रमुख आयुक्तसहितका अधिकारीहरुले उठाएका थिए ।
यसअघि पुष्पकमल दाहालको प्रधानमन्त्रीत्वकालमा पनि संवैधानिक परिषदको सदस्यको रुपमा आफनो सहभागितासमेतबाट तत्कालीन प्रधानन्यायाधीशको नियुक्तिको सिफारिस भएको उल्लेख गर्दै गुप्ताले एक निर्वाचित सभासदका रुपमा र सभासदकै आधारमा संविधानअनुसार नै मन्त्री पदमा रहेको राजीनामामा उल्लेख गरेका छन ।
'उपर्युक्त दुवै नियुक्तिमा मेरो समान अवस्था रहेको छ तर यसपटक म संवैधानिक परिषदमा मनोनित भएको यसका औपचारिक बैठकमा सहभागी भएपछि र परिषदले रिक्त संवैधानिक पदहरुको परिपूर्तिको मार्गप्रशस्त गरेपछि परिषदमा मेरो मनोनयनको विषयमा परिषद बाहिरबाट प्रश्न उठाइएको छ' राजिनामापत्रमा छ ।
'इतिहासको कालरात्रिका रुपमा आएको पछिल्लो शाही सत्ताको समयमा तत्कालीन राजाको प्रत्यक्ष निर्देशनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुखले लगभग १६ वटा विषयमा म उपर छानबिन गराएका थिए' भन्दै उनले राजीनामामा कुनै पनि विषयमा आफूलाई फसाउन नसकेपछि कान्तिपुर टेलिभिजनलाई इजाजत दिइएको विषयमा भ्रष्टाचारको मुद्दा चलाइएको उल्लेख गरेका छन । उनले सो मुद्दामा एक लाख धरौटीमा रिहा भएपछि पुनः उनै अख्तियार प्रमुखको निर्देशनमा आयभन्दा बढी सम्पत्तिबारे भ्रष्टाचारको अर्को मुद्दा चलाइएको दाबी गर्दै विशेष अदालतबाट उक्त दुवै मुद्दामा आफूले सफाइ पाएकोसमेत उल्लेख गरेका छन ।
गुप्ताले संवैधानिक परिषद एक गुरुत्तर दायित्व निर्वाह गर्नुपर्ने प्रधानन्यायाधीश सभामुखसमेतको उपस्थिति रहने निकाय हो यसको निष्पक्षता एवम गरिमा अक्ष्ाण रहनुपर्छ भन्ने आफनो मान्यता हो भन्दै त्यहाँ आफनो उपस्थितिका कारणबाट मुलुककै सम्मानित निकायको कार्यसम्पादन उपर प्रश्न नउठोस भन्नेमा आफू सचेत र स्पष्ट रहेको उल्लेख गरेका छन ।
उनले राजीनामामा आफू उपर हुँदै आएका अन्याय एवं प्रहारलाई मनमै राखेर परिषदको मर्यादा तथा यसका सदस्यहरुको सहभागिता विवादरहित होस भन्ने अभिप्रायबाट आफूले संवैधानिक परिषदको सदस्यबाट राजीनामा गरेको उल्लेख गरेका छन ।

No comments:

Post a Comment