Friday, December 2, 2011

बर्ड फ्लु नियन्त्रण गर्न संकटग्रस्त क्षेत्र घोषणा

तीन सैनिक अधिकारीको बढुवा
काठमाडौं, १६ मंसिर- सरकारले भक्तपुरको बर्ड फ्लू भेटिएको क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले कुखुरामा बर्ड फ्लु भेटिएको भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाको वडा नं। १६ लोकन्थली र मनोहरा पुल नजिकको क्षेत्रलाई संकेटग्रस्त क्षेत्र घोषणा गरेको हो ।
मन्त्रिपरिषदले संकट क्षेत्रमा बर्ड फ्लू पूर्ण रुपमा नियन्त्रण गर्न हरसम्भव सबै उपाय अवलम्बन गर्ने र अन्त्रय फैलन नदिन स्वास्थ्य र कृषि मन्त्रालयले आवश्यक कदम चाल्ने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
कोरियाले ७० करोड सहयोग गर्ने
दक्षिण कोरियाले नेपालको शिक्षा र स्वास्थ्यमा करिब ७० करोड रुपैयाँ सहयोग गर्ने भएको छ । दक्षिण कोरियाले कैलालीमा स्वास्थ्य सेवा सुधार कार्यक्रम साचालन गर्न ४५ करोड र काठमाडौं विश्वविद्यालयमा प्राविधिक तालिम केन्द्र स्थापना गर्न २७ करोड ६० लाख रुपैयाँ सहयोग गर्न लागेको जानकारी श्रेष्ठले दिए । मन्त्रिपरिषदले उक्त सहयोग स्वीकार्ने निर्णय गरेको छ ।
सेनामा तीन जनाको बढुवा
सरकारले नेपाली सेनाका तीन सैनिक अधिकारीको बढुवा गरेको छ । मन्त्रिपरिषदले जंगी अड्डाको सिफारिसमा लेखातर्फका महासेनानी यादवध्वज देउजालाई सहायक रथीमा प्राविधिक तर्फका प्रमुख सेनानी दीपकप्रसाद बाँस्तोलालाई महासेनानीमा र प्रमुख सेनानी चिकित्सक देवेन्द्रबहादुर खत्रीलाई महासेनानीमा बढुवा गरेको छ ।
आयोगको म्याद थप
मन्त्रिपरिषदले इस्लामी संघ नेपालका महासचिव फैजान अहमदको हत्याको घटनाको छानबिन गर्न गठित आयोगको म्याद एक महिना थप गरेको छ । दुई महिनाअघि राजधानीको रत्नपार्कमा हत्या गरिएको घटनाको छानबिन गरी दोषी पत्ता लगाउन पूर्व न्यायाधीश राजेन्द्र भण्डारीको अध्यक्षतामा आयोग गठन गरिएको थियो ।

No comments:

Post a Comment