Friday, December 30, 2011

मेलम्चीबाट निर्धारित समयभन्दा डेढ वर्ष ढिलो पानी आउने

काठमाडौं, १५ पुस- मेलम्ची खानेपानी आयोजनाको टनेल निर्माणको गति पहिलाभन्दा केही बढेको जानकारी सम्बन्धित अधिकारीले दिएका छन् । ती अधिकारीका अनुसार मेलम्ची आयोजनाको मुख्य संरचना सुरुङ खन्ने काम महिनाको करिब २ सय मिटरका दरले हुँदै आएकामा डिसेम्बरदेखि महिनाको ५ सय मिटर पुगेको छ ।
चिनियाँ ठेकेदारले मेलम्चीबाट काकाकुल काठमाडौंमा दैनिक १७ करोड लिटर पानी ल्याउने २६.५ किलोमिटर सुरुङ खनिरहेका छन् । ठेकेदारले डिसेम्बर महिनाको अन्त्यसम्म साँढे तीन किलोमिटर सुरुङ निर्माण गरेको छ । ठेकेदारले आगामी मार्च महिनादेखि चिनियाँ प्राविधिक कामदार बढाएर सुरुङ निर्माण कार्य मासिक ८ सय किलोमिटर पुर् याउने भएको छ । ठेकेदारलाई सुरुङ निर्माण कार्यमा तीव्रता ल्याई महिनाको एक किलोमिटरका दरले खन्न आग्रह गरिएको जानकारी आयोजना प्रमुख कृष्ण आचार्यले जानकारी दिए ।
'चिनियाँ ठेकेदारले पहिला महिनाको १ सय ८० देखि १९० मिटरमात्र सुरुङ खन्दै आएका थिए । यसअघि बढीमा महिनाको ३ सय मिटर सुरुङ निर्माण भएको थियो' आचार्यले  भने- 'केही समयदेखि ठेकेदारले सुरुङ निर्माणको धिमा गतिलाई केही बढाएका छन् । अघिल्लो महिना ४ सय मिटर सुरुङ खनेका थिए यो महिना ५ सय मिटर खनेका छन् । हामीले सुरुङ निर्माणको गतिलाई बढाएर महिनाको एक किलोमिटर पुर् याउन ठेकेदारलाई दबाब दिइरहेका छौं ।' ठेकेदारले पहिला सुरुङ निर्माणका लागि चीनबाट साँढे २ सय जना दक्ष प्राविधिक ल्याएका थिए अहिले बढाएर करिब ४ सय जना पुर् याएका छन् । आयोजनाका अधिकारीले भने सुरुङ निर्माणको गति बढाउन ठेकेदारलाई दक्ष प्राविधिकको संख्या अझ बढाउन दबाब िदंदै आएका छन् ।
आचार्यले निर्धारित समयभन्दा डेढ वर्ष ढिलो अर्थात् सन् २०१५ को जुलाईदेखि मेलम्ची आयोजनाबाट राजधानीमा पानी आउने जानकारी दिए । उनका अनुसार सन् २०६६ साल वैसाख ८ मा मेलम्ची आयोजना र चिनियाँ कम्पनी चाइना रेल्वे कम्पनी फिफ्टिन ब्युरो ग्रुप कर्पोरेसन तथा चाइना सीएमआईआईसी इन्जिनियरिङ कर्पोरेसनबीच भएको ठेक्का सम्झौताअनुसार सन् २०१३ को नोभेम्बरमा टनेल निर्माण कार्य सक्नुपथ्र्यो ।
तर सुरुङ निर्माण अपेक्षाकृत रुपमा अघि बढ्न सकेको छैन । ठेकेदारले टनेल निर्माण सन् २०१४ को डिसेम्बरमा सक्ने र सन् २०१५ को जुनसम्ममा मेलम्ची खोलाबाट पानी फर्काउने बाँध इन्टेक सहित सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी मेलम्चीबाट काठमाडौं पानी ल्याइसक्ने वाचा गरेको छ ।
सुन्दरीजल अम्बाथान ग्याल्थुम र सिन्धुबाट सुरुङ निर्माण कार्य भइरहेको छ । ग्याल्थुममा अनुमानविपरीत कमजोर चट्टान आएका कारण माटो र ढुंगा खसेर सुरुङ निर्माण कार्य केही समय रोकिएको थियो । हालै त्यहाँ पनि काम सुरु भएको छ तर कमजोर चट्टानका कारण जुन गतिमा सुरुङ खन्ने काम हुनुपर्ने हो त्यति हुन सकेको छैन । सुन्दरीजल अम्बाथान सिन्धुमा अनुमान गरिएजस्तै कडा चट्टान भएकाले सुरुङ निर्माणमा समस्या आएको छैन ।
सुरुङ निर्माणमा हालसम्मको काम हेर्ने हो भने प्रगति निराशाजनक रहेको छ । आयोजना प्रमुख आचार्यका अनुसार ५४ महिने ठेक्काको ६० प्रतिशत समय सकिएको छ तर निर्माणको काम भने हालसम्म जम्माजम्मी १२ प्रतिशतमात्र भएको छ । सुरुमा स्थानीयबासीसितको विवाद विस्फोटक पदार्थको आपूर्ति ठेकेदारले आवश्यक निर्माण सामग्री र प्राविधिक कामदार ल्याउन ढिलाइ गरेका कारण सुरुङ निर्माणमा ढिलाइ भएको हो । तर अहिले यी कुनै पनि समस्या नभएकाले सुरुङ निर्माणको काम योजनाअनुसार अघि बढ्ने विश्वास आयोजनाका अधिकारीको छ ।

No comments:

Post a Comment