Friday, December 23, 2011

अन्ततः प्रधानमन्त्री सेनासँग झुक्न बाध्य

एक महिनामा नयाँ भद्रकाली-माइतीघर ट्रयाक खोलिने
सेनाले भद्रकाली-माइतीघर सडक खोल्ने प्रधानमन्त्रीको निर्देशन नमानेपछि विकल्पमा अर्को सडक

काठमाडौं, ८ पुस- सरकारले िसंहदरबार क्षेत्रको ट्राफिक जाम कम गर्न तथा बटुवालाई छोटो रुटको सुविधा दिन भद्रकालीबाट माइतीघरसम्म नयाँ बाटो खोल्ने भएको छ । प्रधानमन्त्री बाबुराम भट्टराईले जंगी अड्डाबीच हुँदै जाने भद्रकाली-माइतीघर सडकमा बटुवा र गैरसैनिक गाडीलाई आवतजावतमा लगाइएको प्रतिबन्ध खोल्न दिएको निर्देशन नेपाली सेनाले नमानेपछि विकल्पका रुपमा नयाँ मार्ग खोल्न लागिएको हो । अन्ततः प्रधानमन्त्री सेनासँग झुक्न बाध्य भए ।
मुख्यसचिव माधव घिमिरेको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्रीको निर्देशन नमानेको सेनाले नै प्रस्ताव गरेको ठाउँबाट ट्रयाक खोली सडक बनाउने प्रस्तावलाई अनुमोदन गरेको हो । सरोकारवाला मन्त्रालय र निकायका अधिकारी रहेको बैठकले एक महिनाभित्र ट्रयाक खोल्ने निर्णय गरेको छ । सेनाले एक साताभित्रै ट्रयाक खोल्न सुरु गर्ने जानकारी बैठकमा सहभागी एक अधिकारीले दिए । नयाँ खुल्ने भद्रकाली-माइतीघर सडक ५ सय मिटर लम्बाइको हुनेछ ।
भद्रकालीबाट जंगी अड्डा र मातहतका कार्यालयका पूर्वपट्टिका भवनका कम्पाउन्ड वालसँगै जोडेर माइतीघरसम्म एकैचोटि दुइटा ठूला गाडी ओहोरदोहोर गर्न सक्ने सात मिटर चौडाइको दुई लेनको सडक बनाइनेछ । भद्रकालीको सेनाको पेट्रोल पम्प र नेपाल टेलिकमको केन्द्रीय कार्यालय भवनबीचबाट सुरु हुने सडक सेनाको यान्त्रिक गणको भवन पछाडिबाट माइतीघर निस्कनेछ । माइतीघरमा नयाँ मार्ग सेनाले अरुका लागि बन्द गरेको भद्रकाली-माइतीघर सडकको मुखभन्दा १० मिटर पूर्व आएर जोडिनेछ ।
उक्त ट्रयाक खुलेपछि िसंहदरबारसँगैको रामशाह पथमा हुने ट्राफिक जाम धेरै कम हुने र बटुवालाई माइतीघर हुँदै भद्रकाली र भद्रकाली हुँदै माइतीघर जाने बाटो झन्डै एक किलोमिटर छोटो हुनेछ । ललितपुर जानुपर्ने गाडीले भद्रकालीबाट िसंहदरबार घुम्नुपर्ने बाध्यताको अन्त्य भई सीधै माइतीघर भएर जान पाउनेछन् जसले गर्दा िसंहदरबार क्षेत्रमा गाडीको चाप कम हुनेछ ।
भौतिक योजना सचिव तुलसी सिटौलाका अनुसार भद्रकाली-माइतीघरसम्म सडकको ट्र्याक खोल्ने जिम्मा सेनालाई दिइएको छ । सिटौलाले एक महिनाभित्रै ट्र्याक खुल्ने र तत्काल यातायात आवागमन सुरु हुने कान्तिपुरलाई बताए । त्यसपछि भौतिक योजनाले टेन्डर आह्वान गरी सडकको स्तरोन्नति र कालोपत्रे गर्नेछ । 'एक महिनामा ट्रयाक खुल्छ प्रस्तावित मार्गमा ठूला संरचना केही पनि छैनन्' सिटौलाले भने । उनका अनुसार नयाँ बाटो खोल्दा टेलिकम तथा पेट्रोल पम्पबीचमा रहेका सेना र टेलिकमका सौचालय र माइतीघर छेउमा एउटा सैनिक पोस्टबाहेक अरु संरचना भत्काउनुपर्दैन ।
सेनाले मुलुकमा सशस्त्र द्वन्द्व सुरु भएपछि जंगी अड्डाबीच भएर जाने भद्रकाली-माइतीघर सडकमा सर्वसाधारणलाई आवतजावत गर्न र सैनिकबाहेक अरुका गाडीलाई आउजाउ गर्न प्रतिबन्ध लगाउँदै आएको छ ।
मुख्यसचिव घिमिरेको अध्यक्षतामा बसेको बैठकमा सचिवहरु भौतिक योजनाका तुलसी सिटौला, रक्षाका नवीन घिमिरे, साचारका श्रीघर गौतम, वाणिज्य तथा आपूर्तिका पुरुषोत्तम ओझा स्वास्थ्यका प्रवीण मिश्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सोमलाल सुवेदी र प्रधान सेनापति छत्रमान गुरुङ सहभागी थिए ।
उक्त प्रस्तावित मार्गमा १० रोपनीभन्दा बढी सरकारी जग्गा पर्छ । उक्त मार्गमा सेनाको तीन रोपनी, खाद्य संस्थानको चार रोपनी र टेलिकम र स्वास्थ्य मन्त्रालयको डेढ/डेढ रोपनी जग्गा पर्छ । ती निकायले उक्त जग्गा सडकलाई दिने भएका छन् । प्रस्तावित मार्गमा खाद्य संस्थानले भवन बनाउन जग खनिरहेको छ सरकारले संस्थानलाई प्रस्तावित मार्गभन्दा पछाडि भवन बनाउन निर्देशन दिएको जानकारी बैठकमा सहभागी एक अधिकारीले दिए ।
सरकारले उक्त माइतीघर-भद्रकाली सडक यसै आर्थिक वर्षभित्र विशेष प्राथमिकतासाथ निर्माण गर्न÷गराउन सरोकारवाला मन्त्रालय र निकायका अधिकारी रहेको प्राविधिक समिति गठन गरेको छ । समितिमा सेनाका उपरथी नरेश बस्नेत, साचार मन्त्रालयका सहसचिव लक्ष्मण पोखरेल, रक्षा मन्त्रालयका सहसचिव द्वारिका आचार्य, वाणिज्य मन्त्रालयका उपसचिव सुरेन्द्र थापा, मध्यमााचल सडक निर्देशनालयका प्रमुख देवेन्द्र कार्की छन् ।




No comments:

Post a Comment