Sunday, December 18, 2011

कांग्रेसको सोमबारको बन्द यथावत्

कांग्रेसको  अपील
नेपाल तरुण दल चितवनका अध्यक्ष शिवप्रसाद पौडेल लगायतका तरुण साथीहरुमाथि बन्दी अवस्थामा योजनावद्ध तवरले सरकारकै संलग्नतामा भएको आक्रमणबाट उपचारका क्रममा शिवप्रसाद पौडेलको मृत्यु भएको घटनाले सिङ्गो पार्टी र मुलुकलाई नै स्तब्ध बनाएको छ। नेपाल महिला संघद्वारा आयोजित तीजको कार्यक्रममा सहभागी रहेका निर्दोष पौडेललाई सोही समयमा अन्यत्र घटित भएको घटनामा मुछि नियोजित रुपमा झुटा मुद्दामा फसाउने र प्रशासनले नै जेलका कोठा खोली हत्या गर्न लगाएको यस घटनाको नेपाली कांग्रेस घोर भर्त्सना गर्दछ ।
नेपाल तरुण दल, चितवनका अध्यक्ष शिवप्रसाद पौडेलको मृत्युले थुप्रै प्रश्नहरु सिर्जना गरेको छ । यो घटना एक्लो शिवप्रसाद पौडेलको मात्र होइन, आम नागरिक र जेल भित्र रहेका सिङ्गो कैदीहरुको सुरक्षासँग पनि गाँसिएको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको हिजो बसेको आकस्मिक बैठकले- उक्त घटनाको छानविनको लागि न्यायिक आयोग गठन, दोषीहरुमाथि कडा भन्दा कडा कार्वाही, शिवप्रसाद पौडेललाई शहीद घोषणा र क्षतिपूर्ति, शिवप्रसाद पौडेल र प्रमिश राई लगायतका निर्दोष व्यक्तिहरुमाथिको झुट्ठा अभियोग तत्काल फिर्ता लिइयोस् भनी २०६८ पौष ४ गते देशव्यापी रुपमा शान्तिपूर्ण बन्दको आह्वान गरेको छ । यस बन्दलाई सफल बनाउन लोकतन्त्रवादी सम्पूर्ण जनसमुदायमा उद्योग, कलकारखाना, यातायात, शैक्षिक संस्था, बजार पूर्ण रुपमा बन्द गरी हाम्रो कार्यक्रमलाई समर्थन र ऐक्यवद्धता जनाइदिन नेपाली कांग्रेस सबैमा अपिल गर्दछ। यो पूर्णतः शान्तिपूर्ण बन्दको कार्यक्रम भएकोले उक्त दिन रेडक्रस, एम्वुलेन्स, शव वाहन, स्वास्थ्य सेवाका साधान, फोहर बोक्ने साधान, दुग्ध बोक्ने साधन, पर्यटकीय वाहन, कुटनीतिक नियोगका साधान, प्रेस, मानव अधिकारकर्मीका सवारी साधनलाई कुनै पनि वाधा अवरोध नपुर्‍याउन र कुनै पनि किसिमका तोडफोड नहुन दिन पार्टीका सबै निकाय, भातृ एवं शुभेच्छुक संस्थाका साथीहरुलाई नेपाली कांग्रेस हार्दिक आग्रह गर्दछ।
जय नेपाल !
वसन्तकुमार गौतम
मुख्य सचिव

No comments:

Post a Comment