Thursday, December 22, 2011

कार्यकारी निर्देशक आफ्नै मान्छे छान्न समिति गठन

काठमाडौं, ७ पुस- ऊर्जा मन्त्रालयले आफ्नो मातहतको विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक खुल्ला प्रतिस्पर्धाबाट छनौट गर्न पूर्वजलस्रोत सचिव विश्वराज रेग्मीको संयोजकत्वमा समिति गठन गरेको छ ।
ऊर्जामन्त्री पोष्टबहादुर बोगटीद्वारा मन्त्रालयस्तरीय निर्णयबाट गठित समितिमा चार्टर्ड एकाउन्टेन्ट कुमुद त्रिपाठी र आयल निगमका पूर्वकार्यकारी निर्देशक एवं मेकानिकल इन्जिनियर राजेन्द्रप्रसाद शर्मा छन् । कार्यकारी निर्देशकमा आफ्नो मान्छे छान्न मन्त्री बोगटीले आफू अनुकूलका व्यक्ति रहेको समिति गठन गरेको ऊर्जाका अधिकारी बताउँछन् । ती अधिकारीका अनुसार प्रतिस्पर्धा नाममात्रको हुनेछ ।
प्राधिकरणको कार्यकारी निर्देशकका लागि आह्वान गरिएको खुल्ला प्रतिस्पर्धामा १५ जनाले आवेदन दिएका छन् । समितिले ती प्रतिस्पर्धीको लिखित प्रस्ताव अध्ययन गरी पहिलो चरणमा सर्टलिस्टिङ गर्नेछ । समितिले सर्टलिस्टिङबाट छानिएका उम्मेदवारलाई बिजनेस प्लान प्रस्तुत गर्न लगाई तीन जना छनौट गर्नेछ । समितिले तीन जनासित अन्तर्वार्ता लिएर कार्यकारी निर्देशकका लागि एक जना योग्य र अर्को वैकल्पिक उम्मेदवार छनौट गरी सरकारलाई सिफारिस गर्नेछ । मन्त्रिपरिषदले समितिको सिफारिसमा कार्यकारी निर्देशक नियुक्त गर्नेछ ।
यसअघि खुल्ला प्रतिस्पर्धाबाट छनौट भई नियुक्त कार्यकारी निर्देशक दीपेन्द्रनाथ शर्मा प्राधिकरणका कर्मचारीको असहयोगले राजिनामा दिएपछि रिक्त पदमा पुनः खुल्ला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनौट गर्ने प्रकि्रया सुरु गरिएको हो ।



No comments:

Post a Comment