Monday, May 21, 2012

अनियमितता गरेकामा प्रजिअ थपलियामाथि कारबाही

गृहमा महानिर्देशकसहित नौ सहसचिवको सरुवा
काठमाडौं, ८ जेठ- सरकारले सर्लाहीका प्रमुख जिल्ला अधिकारी प्रजिअ रामप्रसाद थपलियालाई राहत रकम वितरण र विभिन्न कार्यालयबाट महिनावारी उठाउनेजस्ता गम्भीर अनियमितता गरेको अभियोगमा कारबाहीस्वरुप गृह मन्त्रालयमा फिर्ता गरेको छ । गृह मन्त्रालयले उनीमाथि कारबाही गर्न थप छानबिन थालेको जानकारी स्रोतले दिए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको निर्देशनमा थपलियामाथि छानबिन गरी कारबाहीको प्रकि्रया अघि बढाउन उनलाई मन्त्रालयमा झिकाइएको जानकारी गृह मन्त्रालयका एक अधिकारीले दिएका छन् ।
प्रधानमन्त्री कार्यालयले थपलियाले सशस्त्र द्वन्द्वका सहिद र बेपत्ता व्यक्तिका परिवार तथा घाइतेलाई क्षतिपूर्ति र राहत रकम वितरणमा र जिल्ला विकास समिति र मालपोतलगायतका कार्यालयसित महिनावारी उठाएको प्रमाणसहित कारबाही गर्न गृहलाई शुक्रबार लिखित निर्देशन दिएको थियो ।
तीन जना पीडितले थपलियाले सहिद तथा बेपत्ता व्यक्तिका परिवार र घाइतेलाई प्रदान गरिने राहत रकममा लेखापालमार्फत् गैरकानुनी रुपमा प्रतिव्यक्ति ५ देखि १० हजार रुपैयाँका दरले उठाई अनियमितता गरेको हेलो सरकारमा उजुरी परेपछि प्रधानमन्त्री कार्यालयले मध्यमााचलका क्षेत्रीय प्रशासक तिलकराम शर्मालाई छानबिन गर्न निर्देशन दिएको थियो ।
शर्माको नेतृत्वको टोलीले छानबिन गर्दा थपलियाले सहिद तथा बेपत्ता व्यक्तिका परिवार र घाइतेलाई प्रदान गरिने राहत रकममा ५ देखि १० हजार रुपैयाँ कटाएर दिने गरेको मालपोत जिविससहित विकासे अड्डाबाट महिनावारी असुल्नेजस्ता अनियमितता गरेको पाइएको प्रतिवेदन दिएको छ ।
शर्माको छानबिन प्रतिवेदन आउनासाथ प्रधानमन्त्री कार्यालयले थपलियालाई प्रजिअबाट तत्काल हटाएर अनुसन्धान गरी कारबाही गर्न शुक्रबार गृह मन्त्रालयलाई लिखित निर्देशन दिएको जानकारी मन्त्रिपरिषद कार्यालयका एक अधिकारीले दिए । निर्देशनअनुसार गृह मन्त्रालयले थपलियालाई फिर्ता गरी उनीमाथि कारबाही गर्न अनुसन्धान सुरु गरेको छ । मन्त्रालयका सहसचिव ऋषिराम ढकाललाई सर्लाहीको प्रजिअमा सरुवा गरिएको छ ।
यसैबीच गृह मन्त्रालयले एक जना महानिर्देशकसहित नौ सहसचिवको सरुवा गरेको छ । गृहले मन्त्रालयका प्रशासन महाशाखा प्रमुख सुरेश अधिकारीलाई अध्यागमन विभागको महानिर्देशकमा सरुवा गरेको छ । विभागका तत्कालीन महानिर्देशक सुधीरकुमार साहले ५८ वर्ष उमेर पुगी अनिवार्य अवकास पाएपछि उक्त पद रिक्त थियो ।
चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीलाई गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुखमा सरुवा गरिएको छ । मन्त्रालयका नयाँ सहसचिवहरु हिमनाथ दवाडीलाई चितवनको प्रजिअमा, तुलसी गौतमलाई क्षेत्रीय प्रशासन कार्यालय पूर्वााचलमा, दामोदर रेग्मीलाई क्षेत्रीय प्रशासन पोखरामा सरुवा गरिएको छ ।
त्यसैगरी सहसचिवहरु ऋषिराम ढकाललाई सर्लाही, मधुसुदन बुर्लाकोटीलाई दाङको प्रअिजमा, कृष्णचन्द्र घिमिरेलाई सप्तरीको प्रजिअबाट क्षेत्रीय प्रशासन कार्यालय हेटौंडामा सरुवा गरिएको छ । क्षेत्रीय प्रशासन कार्यालय हेटौंडाका सहसचिव हरिराज पन्तलाई सप्तरी प्रजिअमा सरुवा गरिएको छ । सर्लाहीका प्रजिअ रामप्रसाद थपलियालाई मन्त्रालयमा सारिएको छ ।

No comments:

Post a Comment