Thursday, May 31, 2012

संविधान नबनाई घर फिर्नुपर्दा निवर्तमान सभासदहरुबीच रुवाबासी

काठमाडौं, १८ जेठ- निवर्तमान सभासदहरु संविधानसभाबाट संविधान नबनाई विघटन भएको पीडा लिएर एक-आपसमा बिदा भएर घर फकर्नुपर्दा भावविह्वलमात्र भएनन् कि रुवाबासी नै चल्यो । राज्य व्यवस्था समितिको सचिवालयका कर्मचारीले आफ्नो समितिका निवर्तमान सभापति र सदस्यहरुलाई बिहीबार सचिवालयमा बिदाइ कार्यक्रम गर्दा निवर्तमान सभासदहरुबीच संविधान बन्न नसक्नुको अपजसको भारी लिएर घर कसरी फर्कने भन्दै रुवाबासी चलेको हो ।
उनीहरुले प्रमुख तीन दल माओवादी कांग्रेस र एमाले तथा मधेसी मोर्चाका शीर्ष नेताका कारण संविधानसभा विघटन भएको र त्यसको दोष आफूहरुले समेत बोकेर जनतासमक्ष फर्कनुपरेको भन्दै कार्यक्रमस्थलमा भावविह्वल भएर धुरुधुरु रोए ।
'म दलित, शोषित तथा उत्पीडित जनताको प्रतिनिधिका रुपमा उनीहरुको पक्षमा संविधान बनाउन उत्साहका साथ संविधानसभामा आएकी थिएँ । तर प्रमुख तीन दल र मधेसी मार्चाका शीर्ष नेताहरुले सहमति गर्ने भनेर संविधान नबनाई संविधानसभा हठात विघटन गराइदिए । नेताहरुले देश र लोकतन्त्रलाई नै धोका दिए । यी नेताले मुलुकको हित गर्दैनन् । संविधानसभाबाट संविधान नबनेको दोष भने हामीले समेत बोकेर घर फर्कनुपरेको छ' कांग्रेसकी निवर्तमान सभासद कृष्णकुमारी परियारले रुँदै भनिन् ।
उनी बोल्दाबोल्दै डाँको छाडेर रोएकी थिइन् । दुई घटना बढी चलेको बिदाइ कार्यक्रममा उनको आँखामा आँशु थामिएका थिएनन् । उनी रोएपछि कार्यक्रममा उपस्थित सबै निवर्तमान सभासद भावविह्वल भएका थिए भने कतिका आँखामा आँशु छचल्किएका थिए ।
'हामी जिल्लाजिल्लामा गएर जनताका सुझाव ल्याऔं । जनतालाई तपाईंहरुको सुझावअनुसार संविधान बनाउँछौं भनेर आश्वासन बाँड्यौं । शीर्ष नेताहरुले सबै कुरा रद्दीको टोकरीमा हालिदिए । नेताहरुले हामीलाई रुनेबाहेक केही बाँकी राखेनन् । निवर्तमान सभापतिज्यू हामी कुन मुख लिएर जिल्लामा जाने ?' उनले भनिन् । 'आफ्ना सहकर्मीहरुलाई पोखरा आउनुभयो भने मेरो घरमा आउनोस् मैले गुन्द्रक र भात खुवाउँछ' भन्दै उनी बिदा भइन् ।
कार्यक्रमकी अन्तिम वक्ता माओवादीका निवर्तमान सभासद निरु दर्लामीसमेत रोइन् । उनले संविधान नबन्नुमा आफ्नो पार्टी अध्यक्ष पुष्पकमल दाहाल बढी दोषी भएको बताइन् । 'हामी माओवादी ले संविधानसभाका निम्ति दसवर्षे जनयुद्ध गरेको हो । संघर्षका क्रममा हजारौं वलिदान भए । संघर्षको उपलब्धिका रुपमा प्राप्त संविधानसभा चुनावमा हामीले समेत आमजनतासमक्ष वर्षौंदेखि शोषित पीडित र उत्पीडित वर्गको पक्षमा संविधान बनाउने बाचा गरेका थियौं । तर नेताहरुले संविधानसभामा हामीलाई भूमिकाविहीन बनाइदिए' उनले भावविह्वल भएर आँशु झार्दै भनिन्- 'संविधान नबनाई संविधानसभा विघटन भयो । विघटन हुनुमा सबभन्दा ठूलो दलका नेता माओवादी अध्यक्ष प्रचण्डसमेत कलंकको टिका लाग्नबाट अछुतो रहनुभएन । नेताकै कारण लामो संघर्षबाट उपलब्धि संस्थागत हुन सकेन' उनको प्रश्न थियो- 'कुन मुख लिएर आमजनतासमक्ष जाने ?' दर्लामीले बोलिरहँदा पटकपटक आँशु पुछिरहेकी थिइन् । बिदाइ भएर बाहिर निस्कँदासमेत दर्लामी र परियारका आँखामा आशु छचल्किइरहेका थिए ।
जनमोर्चाका नेता चित्रबहादुर केसीले संघीयतासहितको संविधान नबनेकामा देशभरबाट आफूले जितेको भनेर बधाई आइरहेको उल्लेख गर्दै भने- 'मैले त संघीयताबिनाको संविधान बनाऊ भनेको थिएँ । ठूला दलका नेताका कारण संविधान नै नबनेर देशले हारेको बेला मैले कसरी जितें ?'
 कांग्रेसका निवर्तमान सभासद जगदीशनरिसंह केसीले संविधानसभाका विभिन्न समितिबाट सभासदहरुले संविधानको काम सकेर नेताहरुलाई सुम्पिएर आफ्नो जिम्मेवारी पूरा गरेको भन्दै प्रमुख दलका नेताकै कारण संविधान नबनेको बताए । 'प्रमुख सबै दलका शीर्ष नेताले संविधान निर्माणका सवालमा आ-आफ्नो जिम्मेवारी पूरा गर्न सकेनन् । हामी होइन सबै दलका शीर्ष नेता असफल भएका हुन्' उनले भने ।
'नेताहरुबाट यतिसम्म बेइमानी होलाजस्तो लागेको थिएन' भन्दै एमालेका राजबहादुर बुढाले भने- 'संविधान बनाउन नसकेपछि हामीले जनतासमक्ष के ल्यायौं भनेर जाने भन्ने चिन्ता लागिरहेको छ ।' एमालेकै अर्का निवर्तमान सभासद डम्बरिसंह सम्वाहाम्फेले जेठ १४ मा संविधान नबनेपछि अब मुलुकमा संघीयता शब्द उच्चारण होलाजस्तो पनि नलागेको बताए । 'संविधानसँगै मेरो निष्ठा र आदर्श ढल्यो' उनको भनाइ थियो ।
राज्य व्यवस्था समितिका निवर्तमान सभापति रामनाथ ढकालले संविधानसभाको विघटन रहस्यमय रहेको र त्यसको खास कारण पटाक्षेप हुन बाँकी रहेको बताए । उनले अब मुलुकमा छिट्टै निर्वाचन होला भन्ने नलागेको बताउँदै अनिर्वाचित सरकार लम्बिइरहँदा अधिनायकवाद जन्मने खतरा रहेको बताए ।













No comments:

Post a Comment