Tuesday, May 15, 2012

विस्फोटमा मारिएका तीन जनाको परिवारलाई साँढे आठ लाख राहत

काठमाडौं, २ जेठ- सरकारले राजधानीको बबरमहलमा भएको वम विस्फोटमा परी मृत्यु भएका तीन जनाको पीडित परिवारलाई साँढे आठ लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले गत फागुन १५ मा बम विस्फोटमा परी मृत्यु भएका वीरबहादुर तामाङ, कृष्णबहादुर तामाङ र मानबहादुर तामाङको आश्रित परिवारलाई ८ लाख ५० हजार रुपैयाँका दरले राहत दिने निर्णय गरेको जानकारी अर्थमन्त्री वर्षमान पुनले दिए ।
विवादास्पद सहसचिवको सरुवा
सरकारले भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रका विवादास्पद कार्यकारी निर्दैशक नागेन्द्र झालाई मन्त्रालयको सहसचिवमा सरुवा गरेको छ । उनलाई मन्त्रालयको योजना महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । घूस दिएको आरोप लागेका झालाई तालिम केन्द्रभन्दा महत्वपूर्ण ठाउँमा सरुवा गरिएको हो । तालिमको केन्द्रका वरिष्ठ प्रशिक्षक वामदेवदीप अधिकारीलाई कामु निर्देशकको जिम्मेवारी दिइएको छ ।
झाले वीरगन्जमा हिन्दुवादी कार्यकर्ता काशी तिवारीको हत्याको अभियोग लागेका आफ्ना तत्कालीन भूमिसुधारमन्त्री प्रभु साहलाई नपोल्न भन्दै पीडित परिवारलाई ८ लाख रुपैयाँ घुस दिएका थिए । उनले तिवारीकी पत्नीलाई राजधानी बोलाएर साहलाई हत्याको अभियोगमा नपोल्न भनेर घुस दिएका हुन् । तिवारीको पत्नीले आठ लाख रुपैयाँको बिटो अगाडि राखी पत्रकार सम्मेलन गरेर आफूलाई झाले साहलाई हत्याको अभियोगबाट बचाउन घूस दिएको सार्वजनिक गरेकी थिइन् । घूस दिएको अभियोग लागेका झालाई सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोग दुवैले कारबाही प्रकि्रया नै सुरु नगरी संरक्षण गरेको सरकारी अधिकारी नै बताउँछन् ।
बारलाई गाडीमा छुट
सरकारले संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालयले बार एसोसिएनलाई सहयोगस्वरुप दिन लागेको टोयोटा ल्यान्डक्रुजर गाडीमा लाग्ने भन्सार र अन्त शुल्क छुट दिने निर्णय गरेको छ ।

No comments:

Post a Comment