Friday, May 25, 2012

काठमाडौं, १२ जेठ- 'कहीँ नभाको जात्रा हाँडी गाउँमा' भन्ने उखान मुलुकको दोस्रो ठूलो पार्टी कांग्रेस सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाबीचको सम्बन्धसित हुबहु मेल खान्छ । मुलुक चरम राजनीतिक संकटमा पर्ने खतरा बढिरहेका बेला नेताद्वय भातृ संस्थाको विवादमा अल्झिरहेका छन् । पार्टीका भातृ संस्थाको केन्द्रीय संरचनामा कसका मान्छे बढी राख्ने भन्ने सामान्य विवादलाई कोइराला र देउवाबीचको सम्बन्ध झन्डै पानी बाराबारको स्थितिमा छ । मुलुकले ठोस निर्णय र त्याग खोजिरहेका बेला नेताद्वयले सामान्य विवादलाई समेत थाँती राख्न सकेका छैनन् । कोइरालाले सभापतिको हैसियतले आफ्नो निवासमा बोलाएको केन्द्रीय समितिको अनौपचारिक छलफलमा मात्र होइन केन्द्रीय समितिको औपचारिक बैठकमा समेत देउवा र उनी पक्षधर नेता गत असोज महिनादेखि उपस्थित भएका छैनन् । नौ महिनादेखि कांग्रेसको पूर्ण बैठक बस्न सकेको छैन । संस्थापन पक्षले अधिवेशन गराउने अवधि सकिएका तरुण दल र महिला संघको केन्द्रीय समिति गत असोजमा विघटन गरदेखि नेताद्वयबीच सम्बन्ध चिसिएको हो ।
संविधानसभाको आयु जम्मा दुई दिन बाँकी छ । प्रमुख दलहरुबीच वार्ता जारी रहे पनि संघीयतासहित संविधानका विवादित विषयमा सहमति हुन सकेको छैन । दुई दिनमा दलहरुबीच सहमति जुटेन र संविधानसभाबाट नयाँ संविधान बन्न सकेन भने संविधानसभा स्वतः विघटन हुनेछ । त्यसपछि संघीय लोकतन्त्र र मुलुकमात्र होइन स्वयं पार्टीसमेत गम्भीर संकट फस्नेछ । मुलुक पुनः द्वन्द्वमा फस्न सक्ने खतरा छ । यस्तो स्थितिमा सभापति कोइरालाले न त भातृ संस्थाका विषयमा देउवासित सहमति गर्न ठूलो छाती नै गर्न सकेका छन् न त देउवाले नै राजनीतिक संकटका बेला सामान्य विवादलाई थाँती राख्नुपर्ने दायित्व नै पूरा गरेका छन् । मुलुकले गम्भीरता खोजिरहेका बेला दुवै नेताले गैरजिम्मेवारी प्रदर्शन गरिरहेका छन् । दलहरुबीच नयाँ विषयमा सहमति गर्नुपर् यो भने देउवा र उनी पक्षधर केन्द्रीय समितिको बैठकमा अनुपस्थित हुने भएकाले कांग्रेस तत्काल निर्णय गर्न सक्ने स्थितिमा हुन्न । दुई नेताबीचको जुँगाको लडाइँमा कांग्रेसमात्र होइन मुलुकसमेत रुमल्लिने खतरा छ दुवै नेताले यो यथार्थको बोध गरिरहेका छैनन् । कांग्रेसमा अचम्म पनि के छ भने पार्टीले नयाँ संविधान र सहमतिको सरकारका लागि लिइरहेका अडान र दृष्टिकोणमा कुनै मतभिन्नता छैन दुई नेताबीच समान धारणा छ । तैपनि दुई नेता एक ठाउँमा बस्न तयारसमेत छैनन् ।

भातृ संस्थाको केन्द्रीय समिति विघटन भएको विरोधमा देउवाले केन्द्रीय समिति सदस्यबाट राजिनामा दिएका थिए उनको राजिनामा सभापति कोइरालाले अस्वीकार गरिसकेका छन् । तर देउवा भने भातृ संस्थाको विवाद नमिली आफ्नो राजिनामा फिर्ता नहुने भन्दै केन्द्रीय समितिको अनौपचारिक बैठकमा र सभापतिले आफ्नो निवासमा बोलाउने आकस्मिक अनौपचारिक छलफलमा अनुपस्थित हुने गरेका हुन् । देउवाले आफ्नो अनुपस्थितिको प्राविधिक कारण देखाएर आफू पक्षधर केन्द्रीय सदस्यहरु कसैलाई पनि केन्द्रीय समितिको बैठकमा नजान दबाब दिने गरेका छन् । फलस्वरुप केन्द्रीय समितिको औपचारिक बैठकमा देउवा पक्षधर ३० जनाभन्दा बढी सदस्य अनुपस्थित रहने गरेका छन् । देउवाले अनावश्यक रुपमा पार्टीलाई असहयोग गरिरहेको ठानेर उनलाई आफ्नै सहयोगीले नै छाड्न थालेका छन् । केन्द्रीय सदस्य मिनेन्द्र रिजालले देउवालाई छाडेर सभापति कोइराला समूहमा लागिसकेका छन् भने नेता खुमबहादुर खड्का र उनी समर्थक केन्द्रीय सदस्य पनि देउवालाई नछाडे पनि पछिल्लो समयमा केन्द्रीय समितिको बैठकमा सहभागी हुने गरेका छन् ।
कांग्रेस बैठकसमेत गाईजात्राजस्तो हुने गरेको छ । सभापति कोइरालाले पार्टी कार्यालय सानेपामा केन्द्रीय समिति बैठक गर्दा देउवाले पनि आफ्ना पक्षधर केन्द्रीय सदस्यहरुको बैठक कहिले िसंहदरबारमा त कहिले आफ्नै निवासमा गर्ने गरेका छन् । अहिले कांग्रेसमा कुनै नयाँ निर्णय गर्नुपर् यो भने पहिला केन्द्रीय समितिको बैठक बस्छ कुनै निर्णयमा पुग्नुअघि सभापतिका तर्फबाट केही नेता देउवालाई निर्णय गर्ने विषय सुनाएर उनको राय र सहमति लिएर आउँछन् त्यसपछिमात्र औपचारिक निर्णय हुने गरेको छ । त्यही कारण कांग्रेस तत्काल कुनै नयाँ विषयमा निर्णय पुग्न नसक्ने अप्ठ्यारो स्थिति छ ।
नयाँ संविधान निर्माणका लागि मुलुकले तत्काल राष्ट्रिय सहमति खोजिरहेका बेला नेताद्वय सामान्य विवादमा अल्झिरहँदा आमजनतामा कांग्रेसप्रति नकारात्मक सन्देश गइरहेको छ त्यसले पार्टीलाई ठूलो घाटा पुगेको छ भन्ने यथार्थ बुझ्न दुवै नेताले ढिलाइ गरिरहेका छन् । कांग्रेस सहमतिका लागि प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारमा जाने र संविधानसभाको म्यादलाई माओवादी र मधेसी मोर्चासित विवाद भएपछि सत्ता छाड्नेजस्तो गम्भीर निर्णय हुँदासमेत पार्टीको पूर्ण औपचारिक बैठक बस्न सकेन । यी दुवै घटनामा देउवा पक्षधरले छुट्टै भेला गरेर बसे । कोइराला र देउवाबीच अरु दलसितको वार्ता र त्यसपछिको आन्तरिक समिक्षा बैठक र केन्द्रीय समिति र संसदीय दलको संयुक्त छलफलमा मात्र भेट हुन्छ ।
'मुलुक र पार्टीले देउवालाई एकपटक गृहमन्त्री प्रतिपक्षी दलको नेता तीनपटक प्रधानमन्त्री बनाएर गुन लगाइसकेको छ । देउवा अझै कांग्रेस सभापति र पार्टीबाट प्रधानमन्त्री हुन चाहन्छन् । अहिले पार्टी र लोकतन्त्रमात्र होइन राष्ट्रसमेत संकटमा पर्ने खतरा छ यस्तो गम्भीर अवस्थामा देउवाले भातृ संस्थाको सामान्य विवादलाई बिसे्रर पार्टी लोकतन्त्र र मुलुकका लागि गुन लगाउनु पर्ने कि नपर्ने ?' कांग्रेसका सभापति कोइराला पक्षधर केन्द्रीय सदस्य चन्द्र भण्डारीले भने । संविधानसभाबाट नयाँ संविधान बनाएर मुलुक र आमजनताको भविष्य कोर्ने अन्तिम घडी आएको छ यस्तो अवस्थामा देउवाले ठूलो छाती गरेर एउटा असल राजनेताको भूमिका निर्वाह गर्नै पर्छ । 'सभापति कोइरालाले पनि देउवालाई पार्टीमा उचित भूमिका निर्वाह गर्ने वातावरण बनाउन आफ्ना कमीकमजोरी र गलत निर्णय सच्याउन ठूलो छाती बनाउनै पर्छ तबमात्र कांग्रेस पुनः सबल पार्टी बन्न सक्छ । होइन भने कांग्रेस भविष्यमा झन् कमजोर भएर जानेछ' पार्टीका अर्का नेताले भने ।




No comments:

Post a Comment