Wednesday, May 16, 2012

राष्ट्रपतिले जेठ ९ मा २१९ जनालाई मानपदवी प्रदान गर्ने

काठमाडौं, ३ जेठ- सरकारले सार्वजनिक क्षेत्रमा विशिष्ट योगदान पुर् याएका व्यक्तिलाई ०६७ जेठ १५ मा घोषित विभूषण आगामी जेठ ९ मा सार्वजनिक कार्यक्रम आयोजना वितरण गर्ने भएको छ । सरकारद्वारा शीतल निवासमा आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामवरण यादवले सार्वजनिक क्षेत्रमा विशिष्ट योगदान पुर् याएका व्यक्तिहरुलाई विभूषण प्रदान गरी राष्ट्रका तर्फबाट सम्मान गर्ने जानकारी गृह मन्त्रालयका अधिकारीले दिए ।
सरकारको सिफारिसमा राष्ट्रपति यादवले ०६७ जेठ १५ मा सार्वजनिक क्षेत्रमा विशिष्ट योगदान पुर् याएका २ सय ७० जना व्यक्तिलाई मानपद्वी अलंकार र पदक प्रदान गर्ने घोषणा गरेका थिए । यही जेठ ९ मा आयोजना हुने कार्यक्रममा विभूषणबाट सम्मानित गर्ने भनी घोषित २ सय ७० जनामध्ये राष्ट्रपति यादवले २ सय १९ जनालाई मात्र मानपदवी प्रदान गर्ने कार्यक्रम रहेको छ ।
अलंकार र पदक बनाउन बाँकी रहेकाले जेठ ९ मा मानपदवीमात्र प्रदान गर्न लागिएको जानकारी स्रोतले दिएको छ । स्रोतका अनुसार ०६७ जेठमा ५१ जनालाई अलंकार र पदक प्रदान गर्ने घोषणा गरिएको थियो । अलंकार र पदक निर्माण नभ्याइएकाले यसपटक प्रदान गर्न सम्भव नभएको हो ।
विभूषित गर्ने भनी घोषित भए पनि सार्वजनिक रुपमा अस्वीकार गरेका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रती, प्रसिद्ध कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा पत्रकारद्वय कनकमणि दीक्षित र युवराज घिमिरेका निम्ति समेत मानपदवी बनाइको छ । गृह मन्त्रालयमा अस्वीकार गरेको भनी कुनै लिखत नआएकाले उनीहरुलाई समेत मानपदवी बनाइको हो । मानपदवीमा नाम नलेखिने भएकाले कसैले अस्वीकार गरी नलिएमा त्यो अर्को वर्ष अरु व्यक्तिलाई दिन सकिने जानकारीसमेत स्रोतले दिएको छ ।
मानपदवीबाट सम्मान गर्ने घोषित गरिएका तत्कालीन प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीलाई भने विशेष अदालतबाट सुडान घोटाला प्रकरणमा भ्रष्टाचार गरेको प्रमाणित गरेकाले प्रदान गरिने छैन । अन्तिम अदालतबाट सफाइ पाएमा भने पछि उनलाई मानपदवी प्रदान गरिनेछ । ०६७ मा घोषित व्यक्तिलाई विभूषण प्रदान गर्न बाँकी रहेकाले ०६८ मा भने कसैले पनि दिने घोषणा गरिएको थिएन । ०६७ मा घोषित व्यक्तिलाई विभूषण प्रदान गरेपछि यस वर्षको गणतन्त्र दिवसका दिनमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले सार्वजनिक क्षेत्रमा विशिष्ट योगदान पुर् याएका व्यक्तिहरुलाई मानपद्वी अलंकार र पदक प्रदान गर्ने घोषणा गर्नेछन् । सरकारले एक/दुई दिनभित्रै ०६९ मा विभूषण प्रदान गरिने व्यक्तिहरुको नाम घोषणा गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने गृहकार्य गरिरहेको जानकारीसमेत स्रोतले दिए ।

No comments:

Post a Comment