Thursday, May 3, 2012

सहमतिको सरकारलाई सबै मन्त्री पद त्याग्न तयार

काठमाडौं, २१ वैसाख- सबै मन्त्रीहरु राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि पद त्याग्न तयार रहेको जानकारी अर्थमन्त्री वर्षमान पुनले जानकारी दिए । मन्त्रिपरिषदको बैठकपछि बोल्दै उनले संविधानसभाबाट निर्धारित समयमा नयाँ संविधान निर्माणका लागि सहमतिको सरकार निर्माण गर्नु अपरिहार्य भएकामा सबै मन्त्री एक मत रहेको र सहमति बनेपछि बैले पद त्याग्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेको जानकारीसमेत पुनले दिए ।
'मन्त्रिपरिषदमा सहमतिको सरकार निर्माणबारेमा छलफल भएको थियो । संविधान निर्माणका लागि सहमतिको सरकार बन्नु अपरिहार्य छ । सहमतिको सरकार निर्माणका लागि सबै मन्त्री तयार छन् । कोही पनि बाधक हुँदैनन् सहमति हुन्छ भने सबै जना पद त्याग्न तयार छन्' पुनले भने ।
मन्त्रिपरिषदमा प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारमा कांग्रेस एमालेलाई सहभागी गराई यसैलाई राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्नेबारेमा छलफल भएको जानकारी मधेसी जनअधिकार फोरम गणतान्त्रिक का नेता एवं संचारमन्त्री राजकिशोर यादवले दिए ।
ऊर्जामन्त्री पोष्टबहादुर बोगटीले पनि यही सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउन सकिने उल्लेख गर्दै यही सरकारमा कांग्रेस र एमालेलगायतलाई समावेश गर्नेबारेमा छलफल भएको बताए । प्रधानमन्त्री भट्टराईले राजिनामा दिएपछि अर्कै परिस्थिति सिर्जना भई सहमतिको सरकार गठन हुन नसक्ने स्थिति आयो भने कस्तो रणनीति अपनाउने भन्नेबारेमा समेत छलफल भएको र त्यसमा चनाखो हुनुपर्ने सुझाव मन्त्रीहरुले दिएको जानकारी बोगटीले दिए ।

No comments:

Post a Comment