Friday, May 4, 2012

देउवा पक्षले एक व्यक्ति एक पदको शर्त राख्ने

देउवा पक्षको शर्तले महामन्त्रीद्वय िसंह र सिटौला रोकिन सक्ने
काठमाडौं, २२ वैसाख- कांग्रेसको वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारमा मन्त्री पठाउँदा एक व्यक्ति एक पदको शर्त राख्ने भएको छ ।
देउवा पक्षले संस्थापन पक्षबाट महामन्त्रीद्वय प्रकाशमान िसंह र कृष्ण सिटौलामध्ये एक जनाको नेतृत्वमा सरकारमा पठाउने सम्भावना रहेकाले उनीहरु दुवै जनालाई रोक्न त्यस्तो शर्त राख्न लागेको जानकारी स्रोतले दिए ।
देउवा पक्षले सरकारमा पार्टीको नेतृत्व वरिष्ठ नेताबाट हुनुपर्ने अडानसमेत राख्ने भएको छ । संस्थापन पक्षबाट महामन्त्रीद्वय िसंह र सिटौलालाई रोक्न सकिए सरकारमा पार्टीको नेतृत्व वरिष्ठताका आधारमा पूर्वमहामन्त्री बिमलेन्द्र निधि या पूर्व उपसभापति गोपालमान श्रेष्ठबाट गराउन पाइने विश्वास देउवा पक्षको छ ।
सभापति सुशील कोइरालाले पार्टीमा एक व्यक्ति एक पदको प्रणाली अपनाउने र पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउने कुरा पटकपटक दोहोर् याउँदै आएको उल्लेख गर्दै आफूहरुले सरकारमा पठाउँदा सभापतिको पूर्व प्रतिबद्धताअनुसार नै एक व्यक्ति एक पदलाई शर्तका रुपमा राख्ने जानकारी देउवा पक्षका एक नेताले दिए ।
कांग्रेसबाट पार्टीका नेतात्रय सभापति कोइराला वरिष्ठ नेता देउवा र उपसभापति रामचन्द्र पौडेलले सरकारमा जाने मन्त्रीहरुको सूची तय गर्ने जानकारी पूर्व उपसभापति श्रेष्ठले जानकारी दिए । उनका अनुसार मन्त्रीहरुको सूची तय गर्दा आवश्यक परे तीन नेताले पार्टीका अरु वरिष्ठ नेतालाई समेत राखी निर्णय गर्नेछन् ।
कांग्रेसमा विधानअनुसार पार्टीबाट सरकारमा जाने मन्त्रीहरुको सूची संसदीय समितिले तय गर्ने र त्यसलाई केन्द्रीय समितिले अनुमोदन गर्ने व्यवस्था भए पनि हतारमा तय गर्नुपर्ने भएकाले तीन नेतालाई निर्णय गर्न जिम्मा दिइएको जानकारी एक केन्द्रीय सदस्यले दिए ।
कांग्रेसमा सरकारमा जाने मन्त्रीहरुको छनौट गर्न शुक्रबार अपराह्नबाट छलफल सुरु भएको जानकारी एक नेताले दिए तर निर्णय भने भइसकेको छैन । शनिबार कांग्रेसका नेतात्रय बसेर सरकारमा जाने मन्त्रीहरुको सूची तय गर्नेबारेमा छलफल गर्ने र आवश्यक परे अरु नेताहरु समेत राखेर निर्णय गर्ने सम्भावना रहेको जानकारी ती नेताले दिए ।

No comments:

Post a Comment