Friday, August 29, 2014

प्रधानमन्त्रीद्वारा बाढीपीडितलाई तत्काल राहत र पुनःस्थापना गर्न निर्देशन

वैकल्पिक मार्गमार्फत् अरनिको सडक तत्काल सुचारु गर्नसमेत निर्देशन
काठमाडौं, १३ भदौ– प्रधानमन्त्री सुशील कोइरालाले बाढी–पहिरो पीडितहरूको तत्कालीन बन्दोबस्तका लागि थालिएको राहत वितरण कार्यलाई तीव्र गति दिई पुनःस्थापना र पुनर्निर्माणको कामलाई समेत तीव्रता दिन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन् ।
साउन महिनाको मध्यपछि मुलुकका विभिन्न भागमा गएको बाढी–पहिरो र त्यसले धनजनको क्षति गरेपछि नेपाली सेनाले राहत र उद्वार कार्यमा गरेको कामको जानकारी लिने क्रममा बुधबार प्रधानमन्त्रीले सेनासहितका सरकारी अधिकारीहरूलाई त्यस्तो निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा सेनाका तर्फबाट हालैको पहिरो र बाढीपीडितलाई राहत वितरण, बिपद्मा परेकाको उद्धार, पीडित र प्रभावितहरूको पुनःस्थापना र क्षतिग्रस्त भौतिक संरचनाको पुननिर्माणका लागि भएका कामको यथार्थ जानकारी दिन कार्यक्रम आयोजना गरिएको हो ।

प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तिमा अनुसार कार्यक्रममा सेनाका युद्धकार्य महानिर्देशक भिक्टरसमसेर जबराले सिन्धुपाल्चोकको राम्चेमा गएको पहिरोले सिर्जित विनाशमा परेकाको उद्धारबाट सुरु भएको उद्वार र राहत कार्यक्रम बाढी, पहिरो र डुबानबाट प्रभावित मध्यपश्चिमको सुर्खेत, बा“के, बर्दियामा पुगेको र त्यहा“ भएको प्रगति र गर्नुपर्र्ने कामको विवरण प्रस्तुत गरेका थिए ।
उद्धार, राहत वितरण र पुनर्निर्माणको जानकारी लिंदै प्रधानमन्त्रीले प्राकृतिक प्रकोपबाट आमजनतालाई बचाउन, पीडितलाई राहत र पुनःस्थापनाका लागि तत्कालीन, अल्पकालीन र दीर्घकालीन उपाय र कार्यक्रम तयार गरी कार्यान्वयन गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिए । 
प्रधानमन्त्रीले आफ्नो संयोजकत्वमा रहेको प्रमुख प्रतिपक्षको समेत संलग्नता रहेको उच्चस्तरीय समितिले दैवीप्रकोप व्यवस्थापनमा नेपालको तयारी र क्षमता बढाउने विश्वाससमेत व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाली सेनाले सिन्धुपाल्चोकको राम्चेको पहिरोले रोकिएको सुनकोशी नदीको पानी घटाउन र पहिरोभन्दा पारीपट्टिबाट सुरक्षित रूपमा वैकल्पिक मार्ग खोल्ने कार्य सफल भएको जानकारी गराएको थियो । सेनाको स्थलगत रिपोर्टिङअनुसार वैकल्पिक मार्गको ट्रायक छिचोलिएको छ र यही १५ गतेसम्म एकतर्फी यातायात सञ्चालन गर्न सकिने अवस्था सिर्जना हुनेछ ।
प्रधानमन्त्री कोइरालाले दसैंको अवसरसम्म भत्केर बिग्रेका बाटो सबै पुननिर्माण गर्नुपर्ने र पीडितहरुको पुनस्थापना पनि भइसक्नुपर्नेप्रति सेनासहित सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराएका थिए ।
उनले विपद् पीडितको राहत र पुनस्थापनाका साथै दसैं सुरु हुनुअगावै आपूर्ति व्यवस्थालाई सहज बनाउन अरनिको राजमार्गको वैकल्पिक मार्ग छिटो सञ्चालन गर्न निर्देशन दिएका थिए । कार्यक्रममा प्रधान सेनापति गौरवसमसेर जबरासमेत उपस्थित थिए ।

No comments:

Post a Comment